दर्ता बिना नै राइड सेयरिङ : दुर्घटनामा परेकी यात्रु छाडेर चालक भागेपछि ...
बिहीबार दिउँसो राजधानीको जडीबुडीमा तीव्र गतिमा हुइँकिरहेको मोटरसाइकल अकस्मात एउटा ट्याक्सीमा ठोक्किन पुग्छ । मोटरसाइकलमा सवार चालकसहित यात्रु सडकमा बजारिन्छन् । तीव्र गतिकै कारण ठोक्किएको ट्याक्सीको ‘बम्पर’ समेत उछिट्टिन पुग्छ । मोटरसाइकलमा सवार यात्रु मेनुका गुरुङको खुट्टामा गम्भीर चोट लाग्छ तर, मोटरसाइकल चालक तत्काल दुर्घटनामा परेकी यात्रुलाई त्यहीँ छाडेर भाग्छन् ।
उक्त मोटरसाइकल ‘इनड्राइभर’ नामक राइड सेयरिङद्वारा सञ्चालित रहेछ । नेपालमा सञ्चालित केही राइड सेयरिङ कम्पनीहरु कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पनि ‘इनड्राइभर’ भने त्यसरी दर्ता नभएको पाइएको छ ।
दुर्घटनामा घाइते भएकी यात्रु मेनुका गुरुङले ‘इनड्राइभर’ ग्रुपलाई सामाजिक सञ्जालमा मेन्सन गर्दै लेखेकी छन्, ‘‘तीव्र गतिमा रहेको मोटरसाइकलले ट्याक्सीलाई ठक्कर दियो । मेरो खुट्टामा गम्भीर चोट लाग्यो । ठोक्किएको ट्याक्सीको पनि अगाडिपट्टीको पार्ट उप्कियो । तर उक्त मोटरसाइकल चालक ट्याक्सीको क्षति हेर्छु भनेर भागे ।’
पछि ‘इनड्राइभर’ एप्समा उपलब्ध सोही चालकको फोन नम्बरमा सम्पर्क गर्दा पनि फोन ‘अफ’ भएको उनले गुनासो गरेकी छन् । उक्त गुनासो रातोपाटीसम्म आएपछि हामीले सो बारे बुझ्ने कोसिस गर्यौँ । दुर्घटना पीडित भनिएकी गुरुङले सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गरेको उक्त मोटरसाइकल चालकको नम्बरमा सम्पर्क गर्दा उनको फोन ‘स्वीचअफ’ रहेछ । यसपछि हामीले ‘इनड्राइभर’ भन्ने एप्स बारेमा खोज्यौं ।
सन् २०१३ बाट सञ्चालनमा आएको इनड्राइभर अन्तर्राष्ट्रिय राइड सेयरिङ वा राइड हेलिङ प्लेटफर्म रहेछ । विश्वका करिब ४२ वटा देशमा सञ्चालनमा रहेको यस एप्स नेपालमा भने कहिलेदेखि सञ्चालनमा आयो र यसको आधिकारिक व्यक्ति वा कम्पनी को हो भन्ने कुनै जानकारी रहेनछ । एप्सको कुनै आधिकारिक निकाय वा सम्पर्क कम्पनीसमेत रहेनछ ।
यातायात व्यवस्था ऐन, २०४९ र सो ऐनलाई व्यवस्थित गर्न बनेको संशोधित ऐन, २०७४ ले कुनै पनि सवारी साधन ऐन बमोजिम सम्बन्धित प्रदेश यातायात कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था छ । हाल मुलुकमा सञ्चालित राइड सेरिङ कम्पनीको नाममा सञ्चालित निजी मोटरसाइकलहरुलाई अर्को व्यवस्था नभएसम्म निजी (रातो नम्बर प्लेटमै) सञ्चालन गर्न दिनेगरी सर्वोच्चले आदेश गरेको छ । तर, अहिलेसम्म सरकारले राइड सेयरिङ सम्बन्धमा उचित ऐन, तथा कानुनी व्यवस्था गर्न सकेको छैन ।
अहिले नेपालमा सञ्चालित राइड सेयरिङ कम्पनीमध्ये अधिकांश यातायात कार्यालयमा नभएर कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता छन् । केही राइड सेयरिङ कम्पनीहरु कम्पनीको नाममा सञ्चालन भए पनि केही भने राज्यको कुनै निकायमा दर्ता नभइ एप्समार्फत सञ्चालनमा आउँदा एकातिर राजस्व चुहावट भएको छ भने अर्कोतिर यातायात सुरक्षामाथि नै चुनौती थपिएको छ ।
यातायात व्यवस्था विभागले भने कुनै पनि राइड सेयरिङ कम्पनीलाई आफूले नचिन्ने जनाएको छ । ‘पहिलो त यातायात व्यवस्था कार्यालयले राइड सेयरिङजस्ता कुनै पनि यातायातको सेवालाई चिन्दैन । यो हाम्रो क्षेत्राधिकार भित्रको कुरा पनि होइन,’ यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुले रातोपाटीसँग भने ।
उनका अनुसार यातायात व्यवस्था ऐनले कुनै पनि रातो नम्बर प्लेटका सवारीले सार्वजनिक सवारीको रुपमा मान्छे बोक्न नपाउने भए पनि यस्तो सेवालाई व्यवस्थित गर्नुपर्छ भन्नेबारे विभागले आवश्यक कानुनी व्यवस्थाका लागि मस्यौदाको ड्राफ्ट मन्त्रालयमा पठाएको छ ।
अहिले सो मस्यौदा कानुन मन्त्रालयमा गएर अड्किएको भन्दै उनले यसलाई मूर्तरुप दिन नसक्दा केही समस्या आउने गरेको बताए । उसो त बिना दर्ताका, बिना सम्पर्क कार्यालय भएका यस्ता कम्पनीहरुबाट यात्रुहरुको सुरक्षा उसै जोखिमपूर्ण हुनेगर्छ । जुन हालैमात्र घटेको मेनुका गुरुङको दुर्घटनालाई लिन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सले माथिल्लो भाडादरको टिकट नबेच्ने
-
उपनिर्वाचनमा अनुमतिविना सवारी साधन सञ्चालन गरेमा २५ हजार रुपैयाँ जरिवाना
-
महाराष्ट्रमा ईभीएम ह्याक भएर हामीले हारेका हौँ : कंग्रेस नेता
-
आजपाले बोलायो स्थायी कमिटी बैठक
-
धनुषाका निजी विद्यालय एक सातादेखि बन्द
-
सायरा बानोले भनिन्- एआर रहमान संसारकै राम्रो पुरुष