बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौंको फोहोर र सहरवासीको सहकार्य

सोमबार, ३० जेठ २०७९, ११ : ०५
सोमबार, ३० जेठ २०७९

काठमाडौं महानगरका मेयर बालेन साह निर्वाचित भएपछि फोहोर ब्यवस्थापनलाई पहिलो प्राथमिकता दिएका छन् । काठमाडौं संघीय राजधानी भएकोले यहाँको फोहोर ब्यबस्थापनमा सर्वत्र चासो देखिएको हो । सात प्रदेशको अलग अलग राजधानी भएपनि देश अझै केन्द्रीकृत शासनमै रहेकाले काठमाडौंको भीडभाड कम हुने संभावना देखिन्न । मेयर बालेनको टाउकोमा फोहोरको बोझ थुपारेर समस्या समाधान कदापी हुन सक्तैन । फोहोर ब्यबस्थापनमा सहकार्य सहरवासी सबै नागरिकको दायित्व र जिम्मेवारी हो । नगरवासी सचेत नभए सधैँ दुर्गन्धको चपेटमा बस्नुपर्ने हुन्छ, यो शास्वत सत्य हो ।

एक अर्थमा धनाढ्यहरूको नगर हो पनि हो काठमाडौं । यी संभ्रान्तहरू चिल्ला गाडीमा हिँड्छन्, स्टार होटलमा खान्छन् । एसीजडित गाडीमा सिसामा बन्द यिनलाई धुलोधुँवा दुर्गन्ध र फोहोरसँग सरोकार नै रहँदैन, देखे पनि नदेखेझैं हिँडछन् । विदेशमा बस्ने नेपालीहरू केही दिन नेपाल आए काठमाडौंलाई गाली गरेर जान्छन् । फोहोरले बिरामी बनाउँछ । धनीमानीहरू बिरामी परे उपचार सुलभ तरिकाले पाउँछन् । समस्या त मध्यम र निम्न वर्गलाई हुन्छ, जो पैदल हिँडछन् ।

मोटरसाइकल र स्कुटीमा गुड्छन् । सानो अँध्यारो कोठामा गुजारा चलाएर बसेका हुन्छन् । बिरामी परे भगवान भरोसामा बाँच्छन् । यिनीहरूको पीडासँग सुकिला मुकिलाको के सरोकार छ र ?
रह्यो काठमाडौको फोहोर ब्यवस्थापन गर्ने । सरकारले २०३० सालदेखि स्यानिटरी डम्पिङ साइड टेकुमा बनायो र केही बर्ष सफल पनि भयो । सबै सुविधा यही हुनाले बसाइँ सराईले काठमाडौंमा जनसंख्याको चाप ह्वात्तै बढ्यो । तर, साँघुरा सडक, खानेपानीको समस्या, ढलको ब्यवस्थापन, फोहोरको ब्यवस्थापनमा त्यही अनुरुप बढ्न सकेन । काकाकुल काठमाडौले रोजगार, शिक्षा, अवसर, सुविधाले तानिएका नागरिकहरूलाई फोहोर ब्यवस्थापनको उचित जनचेतना र चाँजोपाँजो मिलाउन सकेन । सिसडोल र बन्चरेमा स्यानिटरी ल्याडफिल्डको अस्थाई समाधान निकाल्यो र त्यहाँको नागरिकसँग गरेका वाचालाई नेताहरूले दाम कुमल्याउने उपाय मात्र निकाले । आमनागरिक दुर्गन्ध र समस्याले पीडित भए ।

१७ बर्षसम्म बन्चरे र सिसडोलबासीले बारम्वार आवाज उठाइरहे तर फोहोरको दीर्घकालीन समस्या समाधान भएन । त्यहाँ थन्क्याइएको फोहोरले के कस्तो समस्या आए, फोहोरको प्रभाव र असरबारे कहिले स्वास्थ्य तथा वातावरणीय वैज्ञानिक अनुसन्धान गरेनन् । नेता र कर्मचारीहरू फोहोर ब्यवस्थापनको नाममा अवलोकन भ्रमणमा संसारै डुलेर सके तर त्यहाँ केही लागु गरेनन् । बिचरा सिसडोल र बन्चरेबासीको पीडा यथावत नै रह्यो ।
काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह जितेपछि सिसडोल र बन्चरेबासीको मनमा फोहोरमैलाबाट भोगेका पीडाबाट मुक्ति पाइन्छ कि आशा पलाएर आउनु स्वभाविक हो । शपथलगत्तै मेयर, उपमेयर त्यहाँ गएर समस्या बुझेर आए । समस्याको त चाङ छ तर समाधान तुरुन्तै हुन सक्ने अवस्था छैन । बृहत्तर योजनाबाट मात्र समाधान निकाल्न सकिन्छ । 

राजनीतिक ध्रुवीकरण र बालेनको लोकप्रियताले भयभित दलहरू असफल बनाउने उद्देश्यले फाल्न लगिएको फोहोरको ट्रक पुनः फर्केको सहजै अनुमान गर्न सकिन्छ । अपुष्ट समाचारले समाधानको लागि कुनै नेताले अरबौं रकम माग गरेको बुझिएको छ । संसदमा गगन थापाले फोहोर ब्यबस्थापनमा सरकारको जिम्मेवारी हो भनेकाले बालेनलाई केही राहत भएको होला । अहिले फोहोर फाल्ने अवस्था त बनेको छ तर क्षणिक समयका लागि मात्र । हाल सम्झौता गरिएको सिसडोल र बन्चरे डाँडाबासीको माग काठमाडौं महानगर एक्लैले पुरा गर्न सक्तैन । यसका लागि संघीय सरकारको उत्तिकै जिम्मेवारी छ । 

अस्पतालजन्य फोहोर अस्पतालले नै इनसिनरेटर राखेर ब्यवस्थापन गर्नुपर्छ । घरेलु फोहोरलाई कुहिने र नकुहिने भनेर छुट्याएर राख्न लगाउनु पर्छ । यसमा आमनगरवासीको अहम भूमिका हुन्छ । रिसाइकल गर्न सकिने फोहोरलाई सोही अनुसारको रिसाइकल गर्नु पर्छ । सड्ने गल्ने सागपात फलफुल, अन्न आदिलाई कम्पोष्ट मल बनाउनेतिर लाग्नु पर्छ । प्लास्टिकजन्य सामानहरू सबैभन्दा बढी समस्या भएकोले यसको वैज्ञानिक रिसाइकल गर्ने ब्यवस्था गर्नुपर्छ । महानगरपालिकाकाबासीले सभ्यताको परिचय दिनुपर्छ । सफासुग्घर र फोहोरको वर्गीकरण घरबाटै सुरु गरिनुपर्छ । दीर्घकालीन समाधानमा लागेमा बालेनको कार्यकाल ५ बर्षभित्र केही हदसम्म फोहोरको समाधान हुन सक्छ ।

बन्चरे र सिसडोलबासीहरूमा फोहोरले ल्याएको असर, समस्यालाई वैज्ञानिक, सामाजिक अनुसन्धान गरी यसको प्रभावबारे अध्ययन अनुसन्धान गरेर हल खोजिनु पर्छ । उपत्यका बाहिर इटहरीमा बसे पनि मैले बुझेसम्म त्यहाँका बासीहरूको समस्या निम्न बमोजिम देखिएको छ । 

फोहोरका कारण झाडापखालालगायत विभिन्न रोगबाट पीडित, दुर्गन्ध र वातावरण प्रदुषण, दूषित पानी खानुपर्ने बाध्यता, पसुपंक्षीमा रोग, उब्जनीमा ह्रास, उपचारमा खर्चले मानसिक तनाव हुन्छ ।  दुइ हप्ता मात्र फोहोर नउठ्दा उपत्यकावासीलाई तनाव हुन्छ भने सम्झौता अनुसार सुविधा नपाएको र रोजगारी नदिएको, वैज्ञानिक तरिकाले फोहोर नथन्क्याई बाह्रैमास दुर्गन्ध सहन विवश बन्चरे र सिसडोलबासीहरूको अवस्था झन् कस्तो होला ? महानगरवासीले पटक पटक बन्चरे र सिसडोलबासी भई चिन्तन मनन गरौं । काठमाडौंको फोहोर व्यवस्थापनमा असल सहरवासीको कर्तव्य नभुलौं । 

पहिलो कुरा बन्चरे र सिसडोलबासीको लागि सम्झौतामा उल्लिखित तुरुन्तै अवलम्बन गर्नुपर्ने कामहरू यथाशक्य सुरु गरेर विश्वासमा लिन सकनु पर्छ । र, त्यहाँका बासिन्दाले पनि काम गर्ने मौका दिनु पर्छ । दोश्रो कुरा दीर्घकालीन योजनाहरूको होमवर्क गरेर विश्वास दिलाउनु जरुरी छ । 

नेपाल खाल्डोमा सबै विद्वान र बुद्धिजीवीहरू छन् । त्यहाँ साधन र सुविधा छ । आर्थिक रुपले सम्पन्न नागरिकहरू छन् । तर सहरवासी किन फोहोरी छन् ? सबैको सहकार्य, सहमति, सहयोग भए काठमाडौं उपत्यका साँच्चिकै आदिकवि भानुभक्त आचार्यले बयान गरे जस्तो कान्तिपुरी नगरी बन्ने छ । हामी बाहिरबाट देखेको, बुझेको यति नै हो । बाँकी त काठमाडौँबासीहरूको जो मर्जी ।

लेखक पूर्व स्वास्थ्यकर्मी हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप