बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पाल्पाका किसानलाई बीउ वितरण

सोमबार, ३० जेठ २०७९, ०७ : ०६
सोमबार, ३० जेठ २०७९

उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो । 

नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए । सो बीउले यहाँका करिब आठ हजार ५०० रोपनी क्षेत्रफलमा पुग्ने उनले बताए ।
   
सरकारले तोकेको मूल्यका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिकिलो रु ७८ पर्ने सावित्री र साँवा मन्सुली धानलाई रु ३९, बहुगुडी २ जातको ४१ र सुनौलो सुगन्ध जातको रु ५२ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समूह र कृषकलाई उपलब्ध गराएको कृषि प्राविधिक प्रज्वल केसीले बताए । 
  
रामपुर–६ को सातबिसे सेरामा करिब २०० रोपनी क्षेत्रफलमा धान बालीमा कृषि ज्ञानकेन्द्र पाल्पामार्फत बीजवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ । गत वर्ष वितरण गरिएको उन्नत जातको बीउ यस वर्ष किसानले प्रयोग गरेको पाइएको छ । अनुदानमा उन्नत जातको धानको बीउ पाउँदा किसान खुसी छन् । एग्रोभेटमा प्रतिकिलो रु १०० भन्दा बढी मूल्यमा बिक्री भइरहेको धान नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएपछि किसानलाई आर्थिक भार कम परेको तुलसी रेग्मीको भनाइ छ । 
 
गत वर्ष करिब २० टन धानको बीउ वितरण गरिएको थियो । धान उत्पादनको पकेट क्षेत्र मानिएको रामपुरमा करिब एक हजार ८०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । उन्नत जातको बीउ पाउन थालेपछि पानी कम हुने सुक्खा क्षेत्रमा पनि किसानले खेती गर्न थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप