मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

‘कुमारी आमा’को अनशनमा दुधे बालकको बिचल्ली

आइतबार, २९ जेठ २०७९, २१ : ०२
आइतबार, २९ जेठ २०७९

‘कुमारी आमा’ निहारिका राजपुत तीन दिनदेखि काठमाडौंमा आमरण अनशनमा छिन् । आफू १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनको आरोप छ । बलात्कारपश्चात् रहेको गर्भबाट उनको छोरा जन्मियो । निहारिका ३ वर्षदेखि न्यायको लडाइमा छिन् ।

उनको छोरा विआन राजपुत अहिले २१ महिनाको भए । दुई वर्ष पनि पूरा नभएका विआन अहिले आमरण अनशनमा बसेकी आमासँगै छन् । तीन दिनदेखि निहारिका आमरण अनशन बसेका कारण विआन पनि अघोषित अनशनकै अवस्थामा छन् किनकि भोकैप्यासै रहेकी निहारिकाले छोराका लागि पर्याप्त दुध खुवाउन सकेकी छैनन् । आमाको दुध बन्द भएपछि विआनले ल्याक्टोजिन तथा अन्य खानासमेत खान मानेका छैनन् ।

चार दिदीबहिनीमध्येकी कान्छी छोरी निहारिकाले आफ्नो संघर्षमा परिवारको समेत साथ पाएकी छैनन् । आमाबुवा र तीन जना दिदीले तिरष्कार गरेपछि संघर्षको मैदानमा एक्लै होमिनु परेको उनको भनाइ छ । आमरण अनशन कतिन्जेल बस्नुपर्ने हो भन्ने उनलाई पत्तो छैन तर आफूजस्ता अन्य कयौं निहारिका रहेको भन्दै उनी आफू मरेर भए पनि अरुका लागि न्याय प्राप्त होस् भन्ने उद्देश्यले संघर्षमा होमिएको बताउँछिन् ।

बालक विआनका लागि निहारिका नै सर्वस्व हुन् । उनलाई आफ्नी आमाले गरेको संघर्ष, आमाले खोजेको न्यायको पत्तो छैन । आमाको दुध आउन छाडेकाले पेट भरिँदैन, भोक लाग्दा रोइदिन्छन् । संविधान, कानुनले बाल अधिकार सुनिश्चित गरे पनि विआनका लागि ती अधिकारले छुन सकेका छैनन् ।

संविधानको धारा ३९ को उपधारा १ मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुने उल्लेख छ । सोही धाराको उपधारा ८ मा प्रत्येक बालबालिकालाई बालअनुकूल न्यायको हक हुने उल्लेख छ ।

बालबालिका सम्बन्धी ऐन–२०७५ मा बाल अधिकारकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्ति गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्न प्रचलित कानुन वाञ्छनीय हुने उल्लेख छ । परिच्छेद–३ मा प्रत्येक निकाय तथा संस्थाका अधिकारीले हरेक काम कारवाही गर्दा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिई आवश्यक बालमैत्री प्रक्रिया अपनाउनु पर्ने उल्लेख छ ।

निहारिकाले जेठ २७ गते माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेकी थिइन् । न्याय खोज्दै अनशन बसेकी उनलाई प्रहरीले त्यो रात करिब ४ घण्टा थुनेर राख्यो । त्यो बेला प्रहरीले बच्चालाई आफूबाट अलग गरेको उनको अरोप छ ।

त्यतिबेला प्रहरीले बच्चालाई थप्पड हानेको आरोपसमेत उनले लगाइन् । उनले भनिन्, ‘बच्चा रोयो भनेर प्रहरीले थप्पड हानेछन् ।’ त्यो दिन बच्चालाई १०२ डिग्री ज्वरो आएको उनले सुनाइन् । माइतीघरमा बस्न नदिएपछि उनी अहिले बसन्तुपुर डबलीमा अनशनमा छिन् ।

न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको निहारिकाको गुनासो छ । प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै आफ्नो मुद्दालाई कमजोर बनाएको आरोप लगाउँदै उनले न्यायलय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोग लगायतका विभिन्न निकायमा न्यायका लागि गुहार माग्दासमेत आफूले न्याय पाउन नसकेको बताइन् ।

धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते आरोपितको पक्षमा फैसला गरेपछि उनले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् । गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म उच्च अदालतले पेसी नतोकेको उनको भनाइ छ ।

उनी भन्छिन्, यो लडाइँ म एक्ली निहारिका राजपूतको मात्रै होइन, हजारौं निहारिकाहरुको हो,’ उनले भनिन्, ‘म मर्न तयार छु, तर मेरो मृत्युले हजारौं निहारिकाहरुको जीवन बचाउनेछ भन्ने विश्वास छ ।’

आफ्ना माग पूरा नहुँदासम्म तथा न्यायको प्रत्याभूति नहुन्जेल अनशन नतोड्ने उनको अडान छ । आमरण अनशनका क्रममा उनलाई अनशनस्थलमा साथ दिन महिला अधिकारकर्मी ज्यासमिन ओझा र स्वतन्त्र नागरिक बताउने देव शर्मा छन् ।

यस्ता छन् निहारिकाका माग

१ बच्चाको डिएनए टेस्ट ।

२ कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने न्यायाधीशको निष्पक्ष छानबिन ।

३ उच्च अदालतमा ४ महिनाअघि दर्ता भएको मुद्दाको यथाशीघ्र पेसी तोकियोस् ।

४ बलात्कारी खुलेआम हिँडिरहेको छ, प्रहरी प्रशासनले उसलाई तुरुन्त पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्ने ।

५ घटनाको सुरुवातदेखि अनुसन्धान ।

६, फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरु र काखको बच्चालाई बेवास्ता गरी गरी फैसला गर्ने न्यायाधीशको अनुसन्धान र छानबिन ।

७ एक्काइस महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गर्नुपर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप