आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को नाम टुंगो लगाउन एमाले र काँग्रेस सहमत

आइतबार, २९ जेठ २०७९, १७ : २४
आइतबार, २९ जेठ २०७९

प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले नेपाली काँग्रेस संसदीय दलसँग छलफल गरेको छ । 

उक्त छलफलमा दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएका छन् । एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक हिक्मत कार्कीले काँग्रेस संसदीय दलका नेता राजीव कोइरालालगायतसँग छलफल गरेका हुन् । आजको संसद बैठक सम्पन्न भएपछि प्रदेश १ संसद सचिवालयमै बसेको बैठकले नामकरणको टुंगो लगाउन दुवै पक्ष सहमत भएको कार्कीले जानकारी दिए । 

‘काँग्रेस र एमालेबीच यही अधिवेशनबाट प्रदेशको नामाकरण टुंग्याउन सहमत भएका छौं,’ कार्कीले भने, ‘हामीबीचमा सबै संसदभित्रका राजनीतिक दलसँग र सरकारसँग पछि छलफल गर्न पनि सहमत भएका छौं ।’ यसअघि प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न भन्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले कार्यदल गठन गरेको थियो । कार्यदलमा पूर्वमन्त्री कार्की सहित पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई रहेका छन् ।

केही दिनयता प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रदेश १ को नामाकरणको विषय टुंग्याउनका लागि एमाले कै नेतृत्वमा संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका थिए । प्रदेशसभाका सांसदहरुले प्रदेशको यही अधिवेशनबाट नामाकरणको टुंगो लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामाकरणको टुंगो लागिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप