रातोपाटी फलोअप

जब विवाह गरेकी प्रेमिकाले बलात्कारको बात लगाइन्…

जेलबाट छुटेपछि प्रेमीले भने, ‘छोराको फोटो हेरेर प्रत्येक दिन रुन्थेँ’

person explore access_timeजेठ २९, २०७९ chat_bubble_outline0

पोखराको मालेपाटनको अलिकति भित्री बाटोमा टिनको जस्ताले छाएको एउटा सानो घर छ । त्यो घरमा जेठ २७ गते शुक्रबार केही फरक माहोल थियो । करिब २ वर्षदेखि सराङकोटस्थित बाल सुधार गृहमा थुनिएका एक किशोर घर फर्किँदै थिए । भागी विवाह गरेर केही महिना भारत बसी गर्भवती भएपछि नेपाल आएकी आफ्नी प्रेमिकाले नै बलात्कारको बात लगाएपछि ती किशोर बलात्कारजस्तो संगीन अपराधमा दोषी करार भई जेलमा पुगेका थिए । र, शुक्रबार उच्च अदालत पोखराले उनको कसुरलाई बलात्कार नभइ बाल विवाह ठहर गर्दै जिल्ला अदालतको फैसलामा केही परिवर्तन गरेपछि उनी घर फर्किन पाएका थिए । ती किशोर थिए, १९ वर्षीय (हाल) परिवर्तित नाम विनोद नेपाली ।


शुक्रबार मात्रै उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जबरजस्ती करणी ठहर गर्ने कास्की जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै बालविवाह मात्रै भएको भन्दै एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएका थिए । करिब २३ महिना सुधारगृहमा बसिसकेको कारण उनको १० हजार जरिवाना पनि असुल भइसकेको कारण उनी पत्र प्राप्त हुनासाथ थुनामुक्त हुन्थेँ । जेठ २८ गते शनिवार भएको कारण नेपालीको परिवार सोही दिन नै रिहाइको पूर्जी बनाएर सुधार गृहबाट आफ्नो छोरालाई छुटाउन चाहन्थे । परिवारको त्यही चाहना अनुसार न्यायाधीशद्वयले समयमै संक्षिप्त आदेश दिए, उच्च अदालतका कर्मचारीले तत्कालै पत्र बनाइदिए र हतारहतार परिवारले बाल सुधारगृहमा पत्र बुझाएर छोरालाई थुनामुक्त गराए । 





त्यसपछि विनोद परिवारसँगै सरासर घर आए । २१ महिने आफ्नो छोरालाई सुमसुमाए । अनि आफूलाई निःशुल्क कानुनी सहायता गरेर थुनाबाट बाहिर निकालिदिने अधिवक्ता बिबी विष्टलाई (वेद बहादुर बिष्ट) धन्यवाद भन्दै फोन गरे । त्यसपछि रातोपाटी संवाददातालाई सम्पर्क गरेर कानुनी उपचारका लागि माहोल बनाइदिएकामा धन्यवाद दिए ।

सानै उमेरमा प्रेम सम्बन्धमा रही विवाह गरेका एक जोडीलाई अदालतले कसरी छुटाइदियो र एब नाबालक कसरी अनाथालयमा पुगे भनेर रातोपाटीले खोजपूर्ण रिपोर्ट प्रकाशन गरेको थियो । त्यसपछि अधिवक्ता विष्टले किशोरको परिवारसँग भेटेर निशुल्क कानुनी सहायता गरिदिने भन्दै उच्च अदालतमा पुनरावेदनको रिट दायर गरेका थिए । 

भएको के थियो ?

६ वर्ष अगाडिदेखि सँगै पढेका र ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका एक किशोर जोडीको मुद्दा कास्की जिल्ला अदालतमा पुग्यो । २०७७ मंसिर १३ गते किशोरी (पीडित)को उमेर १७ वर्ष १० महिना थियो । किशोरको उमेर १७ वर्ष ६ महिना मात्र थियो । उनीहरुबीच प्रेम सम्बन्ध भएको र विवाह गर्ने उमेर नपुगी भागेको परिस्थिति थियो । प्रेममै रहेका कारण उनीहरुबीच भागी विवाह गर्नेभन्दा अगाडि नै राजीखुशीमा शारीरिक सम्बन्ध भएको कुरा किशोर र किशोरीले स्वीकार गरेका थिए । कास्की जिल्ला अदालतमा मुद्दा चल्दै गर्दा किशोरी गर्भवती थिइन् ।

किशोरी जनजाति र किशोर दलित समुदायका थिए । उनीहरुबीच प्रेम सम्बन्ध भएको कुरा किशोरीका परिवारले थाहा पाएर किशोरीलाई गालीगलौज गरी छुटाउन चाहेका थिए । छुटाउन खोजेपछि २०७७ मंसिर ६ गतेतिर किशोरी कलेजको ड्रेसमै घर छाडेर किशोरको घरमा पुगिन् । किशोरीका आफन्त खोज्दै आएपछि किशोरका आमाबुवाले २० वर्ष पूरा भएपछि विवाह गरिदिने सहमति गरी किशोरीलाई किशोरीको परिवारले जिम्मा लिए । उक्त समयमा किशोरी घर जान नमानेपनि किशोरीका आफन्तले किशोरीलाई किशोरको घरबाट जबरजस्ती ट्याक्सीमा हाली लगेको स्थानीयले समेत देखेका थिए ।

पहिलोपटक किशोरीका परिवारले फिर्ता लगेपछि किशोरीलाई मोबाइल चलाउन नदिएको, कलेज पनि परिवर्तन गरी अर्कै कलेजमा पढ्न पठाएको, किशोरीले आमाको मोबाइलबाट किशोरलाई म्यासेज पठाई आफूलाई भगाएर लैजान भनेको, सोही अनुसार मंसिर १३ गते साँझ किशोर किशोरी त्यहाँबाट भारततिर भगाएर लगेको मिसिलमा देखिन्छ । यता किशोरीकी आमाले छोरी हराएको भन्दै प्रहरीमा खोजतलासका लागि निवेदन दिइन् ।

८ महिनाको गर्भ बोकेर दुवैजना भारतबाट नेपाल फर्किएपछि उनीहरु पक्राउ परे । किशोरीकी आमाले जबरजस्ती करणीमा किशोरविरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरीमा जबरजस्ती करणी उद्योगमा सजाय गरिपाउँ भन्दै विवाह भएको भए विवाह बदर गराइपाउँ भन्ने व्यहोरा उल्लेख थियोे । तर, अभियोजक (सरकारी वकिल)ले अभियोजन गर्दा विवाहको कुरा कहीँ कतै उल्लेख गरेन ।

जबरजस्ती करणी नभएर बालविवाहको कसुरमा अभियोजन गर्नुपर्नेमा अभियोजकले जबरजस्ती करणीकै मुद्दा लगेपछि प्रेम विवाहबाट छोरा जन्मिसकेको अवस्थामा अदालतले जबरजस्ती करणी कसुर ठहर गरिदियो । कास्कीका एक नम्बर न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले १८ वर्षभन्दा कम उमेरकी महिलासँग सहमतिमै यौनसम्बन्ध भए पनि त्यसलाई जबरजस्ती करणी मानिने कानुनी व्यवस्था रहेको भन्दै statutory rape मा दोषी ठहर गर्दै १० वर्ष जेल सजाय तोक्यो । तर, किशोरको उमेर १८ वर्षभन्दा कम भएकाले कुल सजायको दुईतिहाई मात्र सजाय भयो । चार महिने बच्चालाई अनाथालयको जिम्मा लगाइयो ।

त्यसपछि ‘न्याय मरेको’ भन्दै परिवार पुनरावेदनसमेत नगरी बसेको थियो । रातोपाटीमा यसबारेमा समाचार प्रकाशन भएपछि पोखराका अधिवक्ता वेद बहादुर बिष्टले निःशुल्क कानुनी सहायता दिने घोषणा गरेपछि परिवारले उच्च अदालत पोखरामा पुनरावेदनको निवेदन दिएका थिए ।

विनोद भन्छन्, छोराको फोटो हेरेर प्रत्येक दिन रुन्थेँ

शुक्रबार सराङकोटस्थित बाल सुधार गृहबाट रिहा भएर आफ्नो घर आएलगत्तै विनोदले रातोपाटीलाई फोन गरे । तर ‘आज आराम चाहिएको’ भन्दै उनले भोलि (शनिवार) फोन गर्ने बताए । 

अनि शनिवार बिहानै फोन गरेर रातोपाटीसँग आफ्नो बाल सुधार गृहको दैनिकी, त्यहाँ रहँदा मनमा खेलेका भावना, पीडा, आशा र भविष्यको चिन्ताबारे कुराकानी गरे । 

विनोदले कुराकानीको सुरुवातमै आफू छोरोको फोटो हेरेर प्रत्येक दिन रुने गरेको बताए । विनोदले भने, ‘म मेरो छोरालाई सम्झेर प्रत्येक दिन रुन्थेँ । यति सानो छोरा छाडेर अनाथालयमा पुग्दा म सँग रुनुबाहेकको कुनै विकल्प बाँकी थिएन । माया लाग्थ्यो, अंगलो हालेर रुन पाए नि हुन्थ्यो जस्तो लाग्थ्यो । अहिले घर आएको छु, छोरासँग खेलेको छु, एकदमै खुसी लागेको छ ।’

जब प्रेमिकाले बलात्कारीको संज्ञा दिइन् ...

विनोदलाई पक्राउ पर्दासम्म पनि लागेको थिएन कि आठ महिनाको गर्भ बोकेकी आफ्नी श्रीमतीले आफूलाई बलात्कारीको संज्ञा दिन्छिन् भनेर । विनोदले भने, ‘उनी त मेरो श्रीमती हो नि । सुरुमा पक्राउ पर्दा पनि यो सामान्य प्रक्रिया हो र छोडिहाल्छ भनिएको थियो । उनी गर्भवती थिइन्, त्यसकारण मलाई मेरो भन्दा उनको चिन्ता बढी थियो । प्रहरीले जे लेखिदिए पनि उनले अदालतमा हामीले विवाह नै गरेको हो भन्छिन् भन्ने लागेको थियो । तर उनले मलाई बलात्कारीजस्तो बनाएर कारवाही होस् भन्ने मनसायले बयान दिइन् । अझ सुरुमा परिवारले दबाब दिएर होला भन्ने लाग्यो । मसँग फोनमा कुरा हुँदा पनि तपाईँ छुट्नुहुन्छ, अनि हामी सँगै बस्ने हो भन्थिन् । मैले कहिलेकाहीँ सुधारगृहबाटै उनीसँग कुराकानी गर्ने गरेको थिएँ । त्यतिबेला पनि छुटेपछि सँगै बस्ने कुरा गर्थिन् । किन त्यस्तो बयान दिएको अदालतमा भन्दा परिवारले दबाव एिर भन्थिन् । तर जब पछि जिल्ला अदालतबाट फैसला भयो, त्यसपछि छोरा लगेर पाल भनिन् । सुरुमा मेरो ममीले पनि छोरा नलगे उनी आउँछिन् कि भनेर हामी लाँदैनौँ भन्नुभएको रहेछ । तर उनले त यति सानो बच्चालाई अनाथालयको जिम्मा लगाइदिइछन् । त्यसपछि भने उनको व्यवहार देखेर झन बढी दुख लाग्यो ।’

‘उनले नै भगाएकी थिइन् मलाई’

रातोपाटीसँग कुराकानी गर्दै विनोदले प्रेमिकालाई आफूले नभएर प्रेमिकाले आफूलाई भगाएको बताए । उनले भने, ‘म त होटलमा कुकिङ हेल्परमा काम गर्दै थिएँ । उनले नै फोन गरेर मलाई तिमीसँग छुटाउन लागे, मलाई छिटो लिएर जाउ भनिन् । आफूले प्रेम गरेको मान्छेले त्यसो भनेपछि म उनलाई लिन रामबजार गएँ र त्यसपछि भागी विवाह गरेर भारत गयौँ । मैले अपहरण गरेर लगेको होइन, विवाह गरेर लिएर गएको हो । तर नेपाल फर्केपछि म बलात्कारी ठहरिएँ, तर उनलाई कुनै वास्ता भएन । किन त्यस्ते भयो भनेर अचेल त्यही सम्झिरहन्छु । एक प्रेमी कसरी बलात्कारी हुन सक्छ र सर ?’

माया त अझै लाग्छ नि

‘अब त उनको माया लाग्न छाड्यो होला है ?’ रातोपाटीको प्रश्नमा उनले हठात् जवाफ दिए, ‘उनको माया त अझै लाग्छ नि सर ।’

‘त्यति धोका दिएकी प्रेमिकालाई अझै माया ?’ जवाफमा विनोदले भने, ‘उनले पनि बाध्यतामा त्यसो गरेकी होलिन् । उनलाई लागेको होला कि म १० वर्ष जेलमै हुन्छु भनेर त्यही भएर त्यसो गरेकी होलिन् । अब त म पनि आइसके । छोरा सानो छ । उनी कहाँ के गर्दैछिन् थाहा छैन, तर यो छोराको लागि भएपनि उनी आउँछिन् भन्ने लाग्छ मलाई । छोराको लागि भएपनि आइदिए हुन्थ्यो जस्तो लाग्छ ।’

बिएचएम पढ्ने इच्छा

कक्षा ११ मा पढ्दै गर्दा भागी विवाह गरेर भारत गएपछि उनको पढाई बिग्रिएको थियो । तर बाल सुधार गृहमा पुगेपछि उनले फेरि अध्ययन गरे । उनले भर्खरै १२ कक्षाको परीक्षा दिएका छन् । सुधारगृहमा गणित र अङ्ग्रेजी पढाएको कारण अङ्ग्रेजी पनि केही राम्रो भएको उनले बताए । 

अब कक्षा १२ को नतिजा आएपछि बिएचएम पढ्ने वा बाहिर जानेबारे सोचिरहेको उनले बताए । विनोदले भने, ‘अब आइएलटिएस गरेर बाहिर जाने कि भन्ने सोच छ । हामीले बिहे गर्नुभन्दा पहिले पनि १२ पछि आइएलटिएस गरेर बाहिर जाने भनेका थियौँ । परिस्थिति केही फरक भएपनि म आइएलटिएस गरेर अष्ट्रेलिया जाने सोचमा छु । छोरा सानै भएको कारण उसको जिम्मेवारी पनि मेरो काँधमा छ । त्यसकारण बाहिर जाने वा यहीँ काम गर्दै बीएचएम गर्ने कि भन्ने सोचिरहेको छु । होटल म्यानेजमेन्ट पढेँ भने जागिर र काममा पनि सहयोग पुग्छ । अहिले सल्लाह गर्दै छु, अब आइएलटिएस पनि गरौँ कि भन्ने लागेको छ ।

जसले निःशुल्क कानुनी सहायता गरे ...

विनोदको मुद्दामा निशुल्क कानुनी सहायताको व्यवस्था अधिवक्ता वेद बहादुर विष्टले गरे । जिल्ला अदालतमै मुद्दा लड्दा अधिवक्ताहरूले पाँच लाख मागेको र उच्च अदालतमा मुद्दा गर्न ५ लाखभन्दा बढी मागेपछि दलित परिवार पुनरावेदन नै नगर्ने भनी बसेको थियो । तर रातोपाटीमा समाचार प्रकाशन भएलगत्तै अधिवक्ता विष्ट आँफैले किशोरको परिवारलाई भेटेर निःशुल्क कानुनी सहायताको आश्वासन दिए र पुनरावेदन गरिदिए । त्यसपछि निरन्तर बहस पैरवी गरेका विष्टले अन्ततः दलित किशोरलाई न्याय दिलाए । 

करोडौंको आत्मसन्तुष्टि पाएँ : अधिवक्ता विष्ट

किशोरको मुद्दामा आफूले पैसा कमाउन नसकेको तर करोडौंको आत्मसन्तुष्टि र खुसी कमाएको विष्टले बताए । उनले भने, ‘त्यो बालकलाई न्याय दिलाएको छु भनेर सन्तुष्टि मिलेको छ । अन्तिम सुनुवाइको दिन उच्च अदालत बाहिर त्यो अबोध बालक हिँड्दा न्याय दिलाउन सकिन भने आफैलाई न्याय गर्न सक्दिन जस्तो लागेको थियो । साँझ न्याय पाउँदा र उसको बुवा छुट्दै गर्दा मलाई एकदमै खुसी मिलेको छ । सबै कुरा पैसासँग मात्रै सम्बन्धित हुँदैन, कोही साँच्चैको अन्यायमा छ भने आज, भोलि र सँधै अनि सबैका लागि मेरो कानुनी लडाइँ जारी राख्नेछु ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।