जी बबले भने, ‘मलाई बन्धक बनाएको छैन, आमालाई पैसा चाहिया छ’
पछिल्लो समय चर्चित र्‍यापर जी बब (सुदीप भण्डारी) फेरि एकपटक चर्चामा छन् । जी बब र उनका आमाबुवाले एक–अर्काविरुद्ध उजुरी दिएको विषय यतिबेला ‘हट केक’ बनेको छ । विवादको केन्द्रमा र्‍याप गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) रहेको छ । एएनटीएफले आफ्नो छोरालाई बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा शुक्रबार जी बबका आमाबुबाले उजुरी दिएका छन् ।
यता बुवा–आमाको उजुरीपछि आफ्नो मानहानि भएको र पूर्ण रूपमा स्वतन्त्रता चाहिएको भन्दै जी बबले पनि उजुरी दिएका छन् । उनका आमाबुवाले शुक्रबार पत्रकार सम्मेलन गर्दै एएनटीएफले आफ्नो छोरालाई बन्धक पारेको, डर त्रासमा राखेको आरोप लगाएका छन् । उता आमाबुवाको आरोप खण्डन गर्दै एक टेलिभिजन अन्तरवार्तामा एएनटीएफले आफूलाई बन्धक नबनाएको र आफ्नो राजीखुसीमा त्यहाँ बसिरहेको स्पष्टीकरण जी बबले दिए ।
एएनटीएफका संस्थापक निम्साङले यो सबै विवाद पैसाका कारण निम्तिएको आङ्कलन गरेका छन् । उनको कुरामा जी बबले पनि पूर्ण समर्थन गरेका छन् । तर आमाबुवा भने आफूहरूलाई छोराले गरेको शोको पैसा, छोरा र छोराको स्वास्थ्य सबै चाहिएको बताउने गर्छन् ।
‘ऊ सुध्रिन चाहन्छ भने एएनटीएफसँगै बसोस्’
जी बबकी आमाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा छोरा सुध्रिन चाहेको भए एएनटीएफसँगै बसेपनि आफूलाई कुनै आपत्ति नभएको बताएकी छिन् । तर उनलाई एएनटीएफमाथि विश्वास नभएको पनि बताएकी छिन् । उनी भन्छिन्, ‘उसको ड्याडी आएको चार पाँच दिन हुँदा, उसलाई सम्पर्क गर्न खोज्नुभयो । ‘मेरो छोरा कहाँ छ ?’ भनेर फोन गरेर सोध्दा, उनीहरुले ‘तपाईंको छोरो कतै छ ।’ भनेर जवाफ दिएका थिए ।
आमा भन्छिन्, ‘कहाँ छ त नि ? न बढी खुवाएर मार्दिसक्यो कि ? मर्यो भन्दिने पो हो कि । यस्ता मान्छेहरूले जे पनि भन्छन्, उनीहरूको विश्वास हुँदैन । खोज्छौँ हामी, छोरा कहाँ छ भनेर, हामी रातभरि सुतेका छैनौँ । तिनीहरूले प्रयोग गरेका होइनन् त ?’
छोरालाई कति पैसा दिने हामीलाई थाहा छ
एएनटीएफको टिमले जी बबको घरमा गएर उनकी आमासँग पनि कुरा गरेको थियो । यसबारे जी बबकी आमा आफैँले जानकारी दिएकी हुन् । त्यतिबेला एएनटीएफले जी बबले शो गरेबापत् पाउने रकमबारे छलफल भएको उनले बताइन् । यसबारे उनी भन्छिन्, ‘उनीहरू हाम्रो घरमा आएका थिए । त्यतिबेला २० प्रतिशत एएनटीएफलाई हुन्छ, ८० प्रतिशत जी बब वा उसको परिवारलाई हुन्छ भनेका थिए । जी बबलाई पकेट मनी कति दिने हो, हामीलाई थाहा छ । यत्तिकै छोडिदिन पनि उमेर नै भएको छैन । ऊ पारिवारिक मान्छे पनि होइन । त्ससैले हामीले सकेसम्म उसलाई आफ्नै घरमा ल्याउँछौँ, घर ल्याए पनि हामी उसलाई रिह्याबमा राख्छौँ । एएनटीएफबाट छुटाएर लैजाने भन्ने होइन कि उसले पाउने पारिश्रमिक पाओस् । जहाँ जानुपरे पनि हामी आमा–बुवा जीवित नै छौँ । आमाबुवाको सल्लाह बिना कहीँ जान पनि पाइँदैन । आफू खुसी डिल गर्ने भन्ने हुँदैन । उसले कमाएको रुपैयाँ पाउँदैन, स्वास्थ्य ठिक हुँदैन भने किन जानु पर्यो ? अन्डरग्राउन्ड बनाएर राखे भइहाल्यो नि ।’
उनले थपिन्, ‘‘तिमीहरूलाई पैसा चाहिन्छ कि छोरा चाहिन्छ’ भनेर सोध्छन् । हामीलाई सबै थोक चाहिन्छ । एक त उसको स्वास्थ्य ठिक हुनुपर्‍यो । उसलाई कन्ट्रोलमा ल्याउनुपर्‍यो ।’
‘मान्छेले नशामा जे पनि गर्छ , पागलले के गर्छ भन्नु न’
एएनटीएफसँग कुरा गर्दा जी बबसँग यति वर्षको कन्ट्र्याक्ट छ भन्ने जानकारी आउने उनकी आमा बताउँछिन् । यसबारे उनी भन्छिन्, ‘तेरो छोराको यति वर्षको कन्ट्र्याक्ट छ रे, उति वर्षको छ रे । मान्दैनौँ हामी त्यस्तो कन्ट्र्याक्ट । तिम्रो खुसीले सम्झौता गरेर हुन्छ ? एउटा खाने बच्चालाई ख्वायो, उमेर पुगेको नागरिकता बनेको छैन । मान्छेले नशामा जे पनि गर्छ । पागलले के गर्छ भन्नु न । त्यस्तै त हो नि नशा सेवन गरेपछि । ’
प्रहरीले यस विषयमा के भनेको छ त भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘प्रहरीले पहिलो प्राथमिकता बाउआमाको हो भन्नुभएको छ । बाउआमाले भनेपछि उहाँहरुको बच्चा उहाँहरुले लान पाउनुपर्छ भन्नुभएको छ । मेरो आर्टिस्ट हो, म लैजान्छु भनेर अँगालो हालेर राखेको छ, एएनटीएफले ।’
यसमा उनका बुवाले थप्छन्, ‘हाम्रो उद्देश्य उसलाई घर लाने, उनको एडिक्सन कम गर्ने, करेक्सन गर्ने हो । तर त्यहाँबाट निस्कन उसलाई गाह्रो छ । पहिलो कुरा ऊ डराउँछ । त्यहाँबाट उसलाई ‘तँ नजा’ भनेको छ । उसले मागेको जति खानेकुरा पाएको छ, तेरो लाइफ यहाँ नै छ भनिरहेका छन् । त्यसैले ऊ उतै खुसी छ ।’
छोरालाई हामीले घर लैजान पाउनुपर्छ, सुधार्ने काम हामी गर्छौँ
छोराछोरीको सङ्गत कस्तो छ, कुलतमा त फसेका छैनन् भनेर हेरफेर गर्ने मुख्य जिम्मेवारी त आमाबुवाको होइन र भनेर पत्रकाले सोधेको प्रश्नमा उनकी आमा भन्छिन्, ‘उहाँ (श्रीमानलाई देखाउँदै) घरमा हुनुहुन्थेन । ४–५ वर्षमा आउनुभएको हो । त्यतिबेला बच्चा राम्रो थियो । बच्चा जब कलेज जान थाल्यो, विभिन्न साथीहरूसँग सङ्गत भयो । अब अहिलेको पुस्ता त्यही हो । सबै साथीहरू खाने, रमाइलो गर्ने हुन्छ । ऊ पनि खाइदिने, कति खाएँ, के खाने, उसलाई केही पनि थाहै नहुने । खाएर आएपछि घरमा धम्की दिने, लफडा गर्ने खालको होइन । उसले खाए नखाएको थाहै नहुने, गन्हाउने रहनेछ केही कुरै । बच्चा त्यतिखेर मसँगै सुत्थ्यो र पनि मलाई उसले खान्छ भन्ने केही शङ्का पनि लागेन । ’
खाएको थाहा पाएपछि के गर्नुभयो भनेर सोधिएको अर्को प्रश्नमा उनले भनिन्, ‘खाएको थाहा पाएपछि रिह्याब राख्यौँ । हाम्रो गोदावरीमा नै एउटा बाबुको रिह्याब थियो । त्यहाँ हामी दुईले सल्लाह गरेर ६ महिना राख्यौँ । बच्चा राम्रो थियो । त्यसपछि पढ्न पनि आइरहेको थियो । उसले मोलिसमा साइन्स पास गरेको हो । अनि डिएभीमा आइटीमा जोइन गराइदिएको हो । उसको फर्स्ट इयरमा राम्रै नतिजा आएको छ । उसले सेकेन्ड इयर जोइन गर्नुपर्ने छ, उसलाई अहिले पढाइको बाल छैन । ’
उनले आफ्नो एउटै उद्देश्य भएको बताएकी छिन् । यसबारे उनले भनिन् , ‘छोरालाई हामीले घर लैजान पाउनुपर्छ, सुधार्ने काम हामी गर्छौँ ।’
‘तर एएनटीएफले भने शो गर्ने ठाउँमा डिस्टर्ब हुन्छ भनिरहेको छ । उनीहरूको कुरा के हो भने, जी बब मेरो हो, जी बब मेरो अन्डरमा मात्रै रहनुपर्छ, जी बबले कमाएको हामीसँग नै हुन्छ, जी बबलाई हामी नै सेटल गर्छौँ,’ उनले भनिन् ।
यता जी बबले भने टेलिभिजन अन्तरवार्तामा आमाले पैसाका लागि मात्रै यी सबै कुरा गरिरहेको आरोप लगाएका छन् । आमाले ¥याक गरेका कारण आफू आमा–बुवाविरुद्ध नै मुद्दा हाल्न बाध्य भएको पनि उनले बताए । उनले भने, ‘मैले मुद्दा किन हालेँ भने, मलाई र्‍याक भयो दाइ । म बच्चा त होइन नि । म २१ वर्षको भइसकेँ । आमाले चाहिँ र्‍याक हान्ने । पहिला मलाई र्‍याप धरी नहान भन्नुहुन्थ्यो । हाम्रो ममीलाई चाहिँ मेन कुरा पैसा चाहिया । ममीको हाम्रो परिवारसँग राम्रो सम्बन्ध छैन क्या । मैले चाहिँ मलाई स्वतन्त्रता चाहियो भनेर मैले मुद्दा हाल्या । ’
उनले आफूलाई आमाले रिह्याब सेन्टरमा लगेर राखेकोमा पनि आपत्ति जताएका छन् । उनले भने, ‘आमाले मलाई रिह्याब लगेर हालिदिने । त्यो एकचोटी मात्रै जाने ठाउँ हो, दोहोराई दोहोराई एउटै ठाउँमा जाने होइन नि । त्यो साइको ठाउँ हो जस्तो लाग्छ । ’
एएनटीएफले बन्धक बनाएर राखेको भन्ने हल्ला छ नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने, ‘एनएनटीएफले मलाई बन्धक बनाएर राखेको भन्ने आरोप झुटो हो । हामी स्टुडियोमा बसिरहेका छौँ । हामी साथीहरूसँग एउटै स्टुडियो भएको घरमा बस्छौँ । हामीसँग एकजना निर्माता पनि हुनुहुन्छ, उहाँ हेटौँडादेखि काम गर्न आउनुभएको हो । ’
उनले आमालाई पैसा मात्रै चाहिएको कुरा बारम्बार दोहोराएका छन् । उनी भन्छन्, ‘आमालाई जसरी पनि पैसा चाहिया, एकचोटी छोरालाई एडिक्ट भनेपछि जसरी पनि रिह्याब लगेर हालिदिने सोच उहाँको । गोदावरीको घर नजिकै रिह्याब छ । एएनटीएफका दाइहरूलाई भेट्न नदिने भन्ने आमाको प्लान के । शो भएको दिनमा मात्रै मलाई रिह्याबबाट बाहिर ल्याउने रे के । अनि पैसा चाहिँ आमाले लिने रे ।’
उनले आफ्नो एउटै मात्र चाहना भएको पनि बताए । यसबारे उनले भने, ‘म यो चाहन्छु कि मेरो आमा बाउले मलाई र मसँग काम गर्ने समूहका सदस्यलाई फोन गरेर र्‍याक गर्नु भएन । ’
एनएनटीएफले जी बबलाई बिगारिरहेको छ भन्ने आरोपमा बोल्दै उनले भने, ‘यो सरासर गलत हो । म गोदावरीमा हुँदा कसैले १० वटा ट्याबलेट खायो भने मैले १२ वटा खान सक्छु, तँभन्दा म के कम, भन्ने हुन्थ्यो । तर यहाँ कसैले तैँले दुईवटा गीत लेख्न सक्छन् भने मैले किन सक्दिनँ त भन्ने हुन्छ ।’
‘बन्धक बनाएर राखेको होइन, हामी आर्टिस्टहरु आफ्नै खुसीले बसेको हो । अब पनि यस्तै भयो भने, म काम चाहिँ एएनटीएफसँगै गर्छु, आमाले अझै पनि र्‍याक गरिरह्यो भने म त्यहाँबाट पनि सरेर एउटा फ्ल्याट लिएर बस्छु, म बच्चा होइन के, म नाबालक होइन । मेरो नागरिकता छ, म बोल्न सक्छु, म के लेखेका छ भनेर पढ्न सक्छु, मैले साइन हान्न सक्छु । अनि मेरो कुरामा आमालाई पैसा चाहिएर आमा आएको हो के । बाउ आएको जम्मा तीन–चार दिन मात्रै भयो, ’ उनले थपे ।
आमाले यत्तिको सेन्टिमेन्ट राख्नु त जायज हो नि भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले धेरै सहेँ । पढाइमा दोस्रो हुँदा पनि पहिलो किन भइनस् भनेर मलाई टोक्ने गर्नुहुन्थ्यो ।’
‘यो सबै खेल पैसा हो । म चर्चित नहुँदा पनि हामीबीच खासै बोलचाल हुँदैनथ्यो । ममी उठ्नुहुन्थ्यो ११ बजेतिर अफिस जानुहुन्थ्यो । हाम्रो छुट्टा छुट्टै किचन हो । म मुनीपट्टीको कोठामा बस्ने, आमा माथिपट्टीको कोठामा बस्ने । बेलुका ६–७ बजेतिर आमाको मुख देखिन्थ्यो । कहिल्यै पनि राम्रोसँग बोल्नुहुँदैनथ्यो,’ आमासँगको सम्बन्धबारे जानकारी दिँदै उनले भने ।
‘पहिलो चर्चित नहुनुभन्दा अघि म गोटी सोटी खाएर हिँड्थेँ केही भन्नु हुँदैनथ्यो । जुनबेलादेखि चर्चित भएँ, अब आमालाई पैसा चाहियो । रिह्याबमा गएर मलाई ‘तैँले जे जति कमाउँछस्, त्यो सबै आमाको अकाउन्टमा हालिदिन्छस्’ भनेर साइन गर्न लगायो,’ उनले भने ।
यता एएनटीएफका संस्थापक निम्साङले पनि पूरा विवाद पैसा नै भएको ठोकुवा गरेका छन् । आफूहरूले जी–बबको लाइफ बनाउन प्रयास गरिरहेको उनले जिकिर गरे । उनले भने, ‘यो विवाद सबै पैसा हो । जी बबलाई सबैले प्रशंसा गरिरहेका छौँ । हामीले घर पनि लगिदिएको हो । तर घरको मान्छेले हामीलाई नै ब्याक पठाइदिनुभयो । हामीसँग कुराकानीको रेकर्डिङ पनि छ । राम्रो कुरा गर्यो भने मान्छेहरूले खुट्टा तान्छ भनेको यही होला । हामी जी बबको लाइफ बन्छ भनेर हिँडिरहेका छौँ । राम्रो काम गर्यो अनि अहिले कुरा काट्यो के । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार