आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक शून्य समय : कसले के भने ?

आइतबार, २९ जेठ २०७९, १३ : ५३
आइतबार, २९ जेठ २०७९

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य भट्टराईले सरकारलाई प्रकोप निराकरण र व्यवस्थित पुनर्निर्माणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले कास्की क्षेत्र नं. २ का विभिन्न स्थानहरु भूक्षय र पहिरोको जोखिममा रहेकाले ती क्षेत्रको संरक्षण गर्ने योजना ल्याउन सरकारसँग माग गरिन् ।

उनले भनिन्– ‘प्रकोप निराकरण र व्यवस्थित पुनर्निर्माणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछु । भू–क्षय र पहिरोबाट कास्की क्षेत्र नं. २ अन्तर्गत दोबिला, दम्सादी, छोरेपाटन, भलाङ, अर्मला क्षेत्रहरु अत्यन्तै जोखिममा छन् । यी क्षेत्रहरुको तत्काल संरक्षण र दिगो विकासका कार्यक्रम र योजना ल्याउन सरकारसँग जोडदार माग गर्दछु ।’

प्रतिनिधिसभा सदस्य बिनाकुमारी श्रेष्ठले बालश्रम उन्मुलन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताइन् । उनले उद्योगहरुलाई बालबालिकालाई श्रममा नलगाई अन्तर्राष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय कानून कार्यान्वयनमा सहयोग पुर्याउन अनुरोध गरिन् ।

प्रतिनिधिसभा सदस्य लक्ष्मी परियारले विद्यार्थीहरुलाई तत्काल पाठ्यपुस्तक दिलाउन शिक्षामन्त्रीलाई आग्रह गरिन् । उनले किसानहरुलाई मल र बिउ सहज रुपमा दिलाउन पनि सरकारसँग माग गरिन् । प्रतिनिधिसभा सदस्य विनादेवी बुढाथोकीले रासायनिक मलको अभावले किसानहरू चिन्तित हुनुपरेको बताइन् । उनले तराईका किसानले भारतबाट मल किनेर ल्याउँदा सिमानामा दुःख पाएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधिसभा सदस्य लालप्रसाद सावा लिम्बुले नागरिकता विधेयकलाई तत्काल संसदबाट पारित गरी जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता पाउने व्यवस्था गर्न माग गरे । प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले सडक दुर्घटनाहरुलाई न्युनिकरण गर्न सडकको मापदण्डलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले सबै सडकहरूको स्तरोन्नतिलाई प्राथमिकता राख्न सरकारलाई आग्रह गरे । उनले भने– ‘वर्षेनी हुने दुर्घटनाहरुलाई न्युन गर्न संघ, प्रदेश र स्थानीय तहबाट निर्माण गरिने सडकको मापदण्डको प्रभावकारी कार्यान्वयन र हरेक वडाको केन्द्र सम्ममा सबै मौसममा यातायात सुचारु हुनसक्ने गरी सडकहरूको स्तरोन्नतिलाई प्राथमिकतामा राख्न म विशेष आग्रह गर्दछु । साथै मनसुन सुरु हुँदैछ । विपतको रोकथाम, उद्धार र पुनर्स्थापनाको लागि पूर्व तयारीको कामहरु के कस्तो भइरहेको छ, यसबारेमा आवश्यक सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गर्दछु ।’

प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले सरकारले सिन्धुपाल्चोक जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर ६ अर्बभन्दा बढी रकम विश्व बैंकबाट प्राप्त गरेको भएपनि सिन्धुपाल्चोकमा खर्च नगरेको बताए । उनले सो रकम सिन्धुपाल्चोकमै खर्च गर्न माग गरे । उनले भने– ‘नेपाल सरकारले सिन्धुपाल्चोकलाई संकटग्रस्त जिल्ला घोषणा गर्यो । सबै संकटग्रस्त जिल्ला घोषणा गर्दा विश्व बैंकबाट करिब साढे ६ अर्बभन्दा बढी पैसा प्राप्त गरेको देखिन्छ । तर त्यो क्षेत्रमा अहिलेसम्म कुनै काम गरिएको छैन ।

अहिले पनि ३ वटा पालिकामा कनेक्टिभिटी नै टुटिसकेको छ । यो रकम अन्तै तलब, भत्तामा खर्च गर्यो कि ? जिल्लाका नाममा आएको पैसा त्यही खर्च गरियोस् ।’ प्रतिनिधिसभा सदस्य डा.सूर्यप्रसाद पाठकले दलितहरूको शैक्षिक प्रमाणपत्र र नागरिकताको थरमा एकरुपता ल्याइदिन सरकारसँग आग्रह गरे ।

उनले कामी, दमाई, सार्कीले आफ्नो थर राखि नागरिकता लिन पाउने व्यवस्था अविलम्ब गरिदिनका लागि सरकारको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप