शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

दुर्गा पौडेलको प्रश्न : दुर्गमका जनताले सय प्रकारका औषधी कसरी निःशुल्क पाउने ?

आइतबार, २९ जेठ २०७९, १३ : ००
आइतबार, २९ जेठ २०७९

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले दुर्गम क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा नपाएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले १ सय प्रकारका औषधी निःशुल्क दिएको बताउँदै दुर्गम क्षेत्रका सरकारी अस्पतालले नै औषधी नदिने बताइन् । 

जिल्ला अस्पतालमा औषधी र डाक्टरको अभावले अस्पताल नै अलपत्र अवस्थामा पुग्ने गरेको उनको भनाई छ । स्वास्थ्य बिमाको कार्यक्रम लापरवाही अवस्थामा रहेको, कसरी स्वास्थ्य बिमा हुन्छ त्यो जनताले थाहा नपाउने अवस्था रहेकोले त्यसका लागि सरकारले ठोस योजना नभएको सांसद पौडेलले बताइन् । देशका कुन क्षेत्रमा कति अस्पताल, कति डाक्टर चाहिन्छ भन्ने सरकारलाई थाहा नभएको र स्वास्थ्य क्षेत्रमा सरकारले ध्यान नदिएको उल्लेख गरिन् ।  

यस्तै शहरी विकास मन्त्रालयले बजेट तथा कार्यक्रममाथि बोल्दै उनले शहरी विकास मन्त्रालयले वैज्ञानिक खाका ल्याउन नसकेको बताइन् ।  काठमाडौं, भक्तपुर र ललितपुर जस्ता साँस्कृतिक शहरको संरक्षणका लागि, साँस्कृतिक शहर विकासका लागि खाका आउन नसकेको बताइन् । 

विगतदेखि नै नयाँ शहर विकासका लागि भनेर बजेट छुट्याउने गरेपनि कार्यान्वयनको अवस्था अस्तब्यस्तको अवस्था रहेको बताइन् । शहरी विकास मन्त्रालयको बजेट नयाँ काम गर्न भन्दापनि परम्परागत दृष्टिकोणले आउने गरेको उनले बताइन् । 

उनले भनिन्– ‘शहरी विकासको योजना एकीकृत ढंगले छनौट गरेर ल्याउने, बाटो, बिजुली, शिक्षा, खानेपानी, बिजुली, फोन जस्ता पूर्वाधारका कुराहरुलाई व्यवस्थित गर्नका लागि यो मन्त्रालयले ठोस योजना ल्याउन सकेको छैन । शहरमा जुन चाप बढेको छ त्यसलाई व्यवस्थित गर्न एउटा प्रणाली प्रयोग गरेर, नयाँ आवश्यकतामाथि विशेष ध्यान दिएर योजना कार्यान्वयनका लागि पनि यो मन्त्रालयले ध्यान दिएको पाउँदैनन् । त्यसकारण मैले एकसय रुपैयाँको खर्च कटौतीको प्रस्ताव गर्दछु ।’

सांसद पौडेलले संविधानको भावना र मर्मअनुसार बजेट विनियोजन नभएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप