बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘मनुस्मृति संशोधन हुनुपर्छ’

आइतबार, २९ जेठ २०७९, १२ : ३४
आइतबार, २९ जेठ २०७९

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता मानार्थ प्राज्ञ सदस्य प्राडा सूर्यप्रसाद सुवेदीले मनुस्मृति संशोधन हुनुपर्ने धारणा राखेका छन् । “नेपालको शासन पद्धति मनुस्मृतिमा आधारित छ,” उनले भने “मनुस्मृति संशोधन हुनुपर्छ, त्यस निम्ति विद्वत मण्डली खडा गर्न जरुरी छ ।” 

नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा  ‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’ विषयमा बिहीबार आयोजना गरिएको विचार–गोष्ठीमा विशेष प्रवचन दिँदै सुवेदीले उक्त भनाइ राखेका हुन् । हिन्दू धर्म जात व्यवस्थाकै कारण सबैभन्दा धेरै आलोचित रहेको धारणा राख्दै उनले भने, “हिन्दू धर्ममा जात व्यवस्था छ र त्यो व्यवस्था नै मानव अधिकारको बर्खिलापमा छ । हिन्दू धर्ममा मनुस्मृति र कौटिल्यले जात व्यवस्थालाई बढी जोड दिए । र, आफ्नो शासन व्यवस्थालाई बलियो पार्ने काम गरे । जात व्यवस्थालाई बढी सङ्गठित गरे । त्यसैले अब मनुस्मृतिको संशोधन हुनुपर्छ ।”

बेलायतले नयाँ आधुनिक विकास क्रममा लिखित रूपमा १२१५ मा म्याग्नाकार्टा जारी गरेपछि मानव अधिकारको चर्चा सुरु भएको मानिने सुवेदीले बताए । संयुक्त राष्ट्र संघ स्थापना भएर १९६५ मा मानव अधिकार घोषणापत्र जारी भएपछि यो मुद्दा थप पेचिलो बनेको उनको धारणा थियो । विभिन्न मुलुकमा रङ्गभेद र जाति भेदविरुद्ध सशक्त आवाज उठेको र त्यसमा पूर्वीय दर्शनको प्रभाव रहेको प्राडा सुवेदीको दाबी थियो ।

सो अवसरमा कुलपति गङ्गाप्रसाद उप्रेतीले हामीमा रहेको ज्ञानको तागत, शक्ति र ऊर्जा उत्खनन् गर्न हाम्रै मान्छे लाग्नुपर्नेमा त्यसो हुन नसकेको विचार राख्दै भने, “२०–३० वर्षयता हामी को हौँ भन्ने खोजी भइरहेको छ । आफ्नो जग खोज्ने क्रम सुरु भएको छ । नयाँ विमर्श संसारमा सुरु भएको छ । साँच्चै ज्ञानको नयाँ सोचको प्रादुर्भाव भएको छ ।’

कार्यक्रमका सभाध्यक्ष एवम् सामाजिक शास्त्र विभागका प्रमुख इतिहासविद् प्राज्ञ प्रा. दिनेशराज पन्तले नेपालका विभिन्न कालखण्डमा राजनीतिक क्रान्ति भएता पनि बौद्धिक क्रान्ति हुन नसकेको विचार व्यक्त गरे । उनले भने, “यसअघि नेपालमा राजनीतिक क्रान्तिमात्र भएको छ । विद्यामा क्रान्ति भएको छैन । साँच्चै भन्नुपर्दा सोह्रौँ र सत्रौँ शताब्दीदेखि पूर्वीय सभ्यताको अध्ययन भएको छैन ।”

कार्यक्रममा प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव, मानार्थ प्राज्ञ सदस्य प्रा.डा. वीरेन्द्रकुमार मिश्र, पूर्व न्यायाधीश शिवराज अधिकारी, पूर्व राजदूतद्वय हिरण्यलाल श्रेष्ठ, मोहनप्रसाद लोहनी, प्रा.डा. देवीप्रसाद सुवेदी, प्राज्ञ सभा सदस्य रमा शर्मा, आजीवन सदस्य मञ्जु काँचुली, दीपेन्द्र अधिकारी र रामबहादुर पहाडीले प्रवचनमाथिको छलफलमा आ–आफ्ना विचार राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप