सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

घोराही उपमहानगरको एउटा बस्ती जहाँ पानीका लागि घण्टौँ लाइन लाग्नुपर्छ

आइतबार, २९ जेठ २०७९, १२ : २४
आइतबार, २९ जेठ २०७९

सामान्यतया, महानगरपालिका तथा उपमहानगरपालिकालाई सुगम क्षेत्र मानिन्छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११, जितपुर भने उपमहानगरकै एउटा यस्तो बस्ती हो जहाँ खानेपानीका लागि वर्षौंदेखि स्थानीयवासीले सास्ती झेल्दै आएका छन् ।

‘जरुवाबाट पानी बोक्दाबोक्दा कुमका छाला गइसके, बिहान भालेको डाँकोसँगै डोको बोकेर जरुवा अर्थात पँधेरो झर्ने हो । पालो आएपछि पानी भरेर घर आउने हो । यो दुःख सधैँको हो,’ घोराही उपमहानगरपालिका वडा नं. ११, जितपुरकी २५ वर्षीय मनीषा गिरीले दुखेसो पोखिन् ।

चुनावका बेलामा उम्मेदवारहरूले यो बस्तीमा भोट माग्दा पानीको बन्दोबस्त गर्ने आश्वासन दिने गरेको पनि वर्षौँ भइसक्यो । कयौँ चुनावमा यहाँ खानेपानीको एजेण्डा लिएर उम्मेदवारहरू आए । गिरी भन्छिन्, ‘सधैँ पानी ल्याउँछौँ भनेर आउँछन्, पुस्तौँ बित्यो तर खानेपानीको पाइप अझै गाउँमा आएको छैन ।’

जितपुर गाउँ घोराही उपमहानगरपालिकाकै सुगम वडाको एउटा गाउँ हो । यहाँ खानेपानीको चरम समस्या छ । गाउँमा खानेपानीका एउटा जरुवा (मुहान) छ । त्यही जरुवाबाट गाउँका एकसय ५० घरधुरीले पानी ल्याएर खान्छन् । अहिले जरुवा सुक्दै गइरहेको छ । गाउँले घण्टौँ पालो लागेर एक गाग्री थापेर खान बाध्य छन् । गिरीले भनिन्, ‘जितपुरवासीलाई बाह्रमास पानीकै दुःख छ ।’

वरिपरि जंगल, बीचमा समथर भूभागमा बस्ती छ, जहाँ एकसय ५० घरधुरीको बसोबास छ । तर गाउँमा कसैका घरमा खानेपानीको एउटा धारा छैन । उनीहरू जरुवा (पँधेरो)कै पानीले जीवन धान्दै आइरहेका छन् ।

गिरीले भनिन्, ‘खानेपानीका लागि झरी भन्न पाइँदैन, बिरामी भन्न पाइँदैन, चिसो भन्न पाइँदैन । खानेपानीको पीडाले सिङ्गो गाउँलेको मन वर्षाैदेखि बाह्रैमास पोलिरहन्छ ।’

बाजेबज्यै, आमाबुबाको पुस्ता हुँदै आफूले समेत पानीको समस्या खेप्नुपरिरहेको गिरीले बताइन् ।

‘खोलाको पानीले बाँचेका छौँ’

‘अन्त खडेरी लागे पानीको अभाव हुन्छ । हामीलाई बाह्रैमास पानीको अभाव छ । लालाबालालाई खोलाको पानी खुवाउँछौँ । हिउँद र जेठमास जरुवाको पानी पालोपालो एक गाग्री थापेर खाने हो । बर्खा लागे जरुवामा खोला पस्छ, त्यही खोलाको धमिलो पानीले असारदेखि असोजसम्म खाने हो,’ स्थानीय भिमकुमारी विकले भनिन् ।

स्थानीय ओमबहादुर बस्नेतले पानीको अभाव पूर्ति हुन्छ भन्ने विश्वासका साथ आफूहरूले विभिन्न निर्वाचनमा मत दिने गरे पनि आफ्नो अवस्थामा कहिल्यै सुधार आउन नसकेको बताए । जरुवा सुकेको अवस्थामा पानी खोज्दै खोला चहार्नुपर्ने बाध्यता निम्तिने उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप