बालेन साहलाई खुल्ला पत्र : काठमाडौँबासी हुनुका गर्व र ग्लानीहरू
साधारणतया आलोचनाको लागि खुल्ला पत्र लेख्ने चलन छ । तर, यो आलोचनाको उद्देश्यले लेखिएको होइन, न प्रशंसाकै लागि । अनि शीर्षकमा ‘बालेन साह’ लेखिएको भए पनि यो सबै जनप्रतिनिधिको लागि हो, काठमाडौंका मात्र होइन, नेपालभरिकै । साथै, सर्वसाधारणको लागि पनि उत्तिकै हो । त्यसैले सम्बोधनको औपचारिकतामा गइनँ । बरु, आलेखको ढाँचामा सीधै विषयप्रवेश गर्छु । आलेखले सुरुमा सामान्य देखिने कुरा उठान गर्दै बिस्तारै विषयवस्तुलाई फराकिलो र गहिरो बनाउँदै अघि बढ्ने छ ।
यो आलेख लेख्न मलाई प्रेरित गरेको घटना हो, तपाईंको सिसडोल र बञ्चरे डाँडाको पहिलो भ्रमण । ती ठाउँको तस्बिर हेर्दा नमज्जा त लाग्यो, आफैंलाई अपराधबोध पनि भयो । तपाईंले पनि आफूलाई त्यस्तै महसूस भएको बताउनु भएको छ । महसूस भनेको हृदयमा हुने हो । हृदय हुनेले महसूस गर्ने हो । हामीलाई हृदय भएको नेताको आवश्यकता छ । किनभने, हृदय छ भने संवेदना हुन्छ । संवेदना हुनु प्रमुख कुरा हो । सफलता र असफलता भनेको दोश्रो कुरा हो । संवेदना छ भने सम्भावना रहन्छ । त्यसैले मैले तपाईंमा सम्भावना देखेको छु, र नै त आफ्ना कुरा राख्दैछु ।
म पापको भागीदार
वास्तवमै हो, काठमाडौंको फोहर किन अरुले बोक्नुपर्ने ? काठमाडौंको दुर्गन्ध अरुले किन सुँघ्न बाध्य हुनुपर्ने ? त्यति मात्र नभएर फोहरबाट निस्केको लिच्चड बगेर नदी नै प्रदूषित बनाएको छ रे ! यसले त प्रदूषणलाई सबैतिर प्रसार गर्ने भयो । जलचर, थलचर, नभचर सबैलाई प्रभाव पार्ने भयो । यो त अघोर पाप हो, महापाप ! म बुद्धमार्गी । पहिलो शील नै हिंसा गर्दिन भनेर लिन्छु । तर हिंसा गर्न सीधै काट्नुपर्ने मात्र पनि होइन रहेछ ! म दैनिक रूपमै पापको भागीदार भइरहेको रहेछु !
तीन दशक अघिको काठमाडौं
म काठमाडौंमा जन्मेको, हुर्केको व्यक्ति । हनुमानढोका सँगैको वसन्तपुरको नेवार । झोछेँ, वसन्तपुर र हनुमानमा खेल्दै, डुल्दै हुर्केको मान्छे । अहिले उमेरले पचपन्न पुगेँ । आजभन्दा तीस वर्षअघि अर्थात् म पच्चीस वर्षको हुँदासम्म पनि हाम्रो ‘चुक’ मा ‘साःगाः’ थियो । नेपाल भाषामा ‘चुक’ भनेको साझा आँगन हो, चोक होइन । ‘साःगाः’को अर्थ मल खाडल । काठमाडौंका बस्तीमा हरेक चार–पाँच घरबीच साझा साःगाः हुन्थ्यो । वरिपरिका सबैले त्यहीँ फोहर फाल्थे । प्लास्टिकको प्रयोग खासै भइसकेको जमाना थिएन । कुहिने फोहर भएकोले अलि गन्हाउने पनि हुन्थ्यो । तर, हरेक दुइ–चार दिनमा स्थानीय सफाइकर्मीले फोहर सोहरेर लग्थ्यो । हामीले नै उसलाई पैसा तिथ्र्यौं । त्यो फोहर काठमाडौंकै खेतमा मलको रुपमा प्रयोग हुन्थ्यो, सकिन्थ्यो । अझ, दिसा समेतै पनि खेतकै लागि मल हुन्थ्यो ।
तीन दशक अघिसम्म काठमाडौंमा प्रशस्त खेत थियो । त्यसैले आफ्नो फोहरको भारी कसैलाई बोकाउनु पर्दैनथ्यो । पाप कमाउनु पर्दैनथ्यो । हनुमान ढोकाबाट दश मिनेटको हिँडाइमा फराकिला खेत देख्न सकिन्छ भन्दा अहिलेको पुस्ताले कसरी पत्याउने ? हामीले तीव्र गतिमा खेत सक्यायौं । घरले भर्यौं । मान्छे खाँड्यौं । र, अहिलेको समस्या आएको हो । वास्तवमा यो मानिसले सिर्जना गरेको कृत्रिम समस्या हो । बिना योजना अव्यवस्थित र बेढंगले गरेको विकासको परिणाम हो । विज्ञहरू अहिले फोहरलाई मल बनाउने कुरा गर्दै छन्, तर त्यो त त्यस बेलाका अनपढ ज्यापूहरूले उहिल्यै जानेका रहेछन्, गरिआएका रहेछन् !
अहिले काठमाडौंले सिसडोल र बञ्चरे डाँडालाई फोहर बोकाइएको छ । माननीय गगन थापाको अनुसार उनीहरूको माग पूरा गर्न अरबौं रुपैंया लाग्छ । हामी कृत्रिम रुपमा समस्या जन्माउँछौं, अनि त्यसको समाधानको लागि फेरि अरबौं रुपैँया खर्च गर्छौैं । त्यो अरबौं रुपैँयाले जिल्ला जिल्ला र गाउँ गाउँको विकास हुन सक्थ्यो । त्यो गर्न सकेको भए काठमाडौंमा मानिस थुप्रिन्थे नै किन ? हामीले देशको समग्र विकास सोचेनौं । काठमाडौंमा समस्या खडा गर्यौं र काठमाडौंकै मात्र समाधान खोज्यौं । यसले न काठमाडौंको हित गरेको छ, न देशको बाँकी भूभागको !
बागमती सभ्यता कि मेलम्ची सभ्यता ?
त्यस्तै काठमाडौंवासी भएकोमा मलाई ग्लानी लाग्ने अर्को कुरा हो, मेलम्चीको पानी ल्याएर खानु । अरबौं लागतको यो परियोजनाको खर्च हजारौं गाउँलाई खानेपानीको व्यवस्था गर्न पुग्ने रकम हो । त्यति रकम खर्चेर अनि तीस वर्ष कुरेर पनि मुश्किलले वर्षको छ महीना मात्रै पानी उपलब्ध हुन सकेको छ । मर्मत गर्नै करोडौं लागेको छ ।
म युवा हुँदासम्म धारामा साँझ विहान गरी दुई पटक पानी आउँथ्यो । गाग्रीमा भरिन्थ्यो, सीधै खाइन्थ्यो । पानीकै कारण कोही बिरामी पर्यो भन्ने थाहा थिएन । धारा छ फिट जति अग्लो थियो । त्यसको मुनि बसेर नुहाउँथ्यौं ।
म युवा हुँदै थिएँ, हेर्दा हेर्दै धारा सुक्दै गयो । अनि धाराको उँचाइ कम गर्दै लग्यौं । पछि मेसिन चलाएर तान्नुपर्ने भयो । पानीमा मलमूत्र पनि मिसिएर आउन थाल्यो । कुनै बेला पानीको अत्यन्त अभाव हुन्थ्यो, तर ढुंगेधारा पनि सुिकसकेका थिए ।
अनि मेलम्चीको नाम सुन्यौं । त्यतिबेला काठमाडौंको सडक पखाल्न पुग्ने भनिएको पानी अहिले काठमाडौंसम्म आइपुग्दा घर घरलाई पनि पुग्दैन रे । यसको एउटै कारण थियो, काठमाडौंमा अचाक्ली जनसंख्या वृद्धि । यही रफ्तारमा काठमाडौंमा जनसंख्या थुप्रिंदै जाने हो भने काठमाडौंमा फोहर व्यवस्थापन, खानेपानी, सडकको चौडाइ कहिल्यै पनि पुग्ने छैन । जति समाधान गरे पनि फेरि समस्या उस्ताको उस्तै रहने छ । बरु नयाँ नयाँ समस्या थपिँदै जाने छन् ।
वास्तवमा वातावरणको मुख्य सम्बन्ध नै जनसंख्यासित छ । यो सबैले बुझेको कुरा हो । हाम्रै विद्यालयहरूमा ‘जनसंख्या तथा वातावरण शिक्षा’ विषय छ । तर जे पढाइन्छ, त्यो लागु हुँदैन । पढ्नको लागि पढाइन्छ, लागु गर्नको लागि होइन । साँच्चै भनूँ भने जनसंख्या त्यति नै हुनु राम्रो जति स्थानीय पानीको श्रोतले धान्न सक्छ । वास्तवमा सभ्यताहरू पानीकै आधारमा बसेका हुन् । काठमाडौंको सभ्यता बागमती सभ्यता हो । अब मेलम्चीको पानी खाने हो भने यो बागमती सभ्यता रहेन, मेलम्ची सभ्यता भन्नुपर्ने हुन्छ । अर्थात्, बागमती सभ्यता समाप्त भयो ।
काठमाडौं सहरको चरित्र
बालेनजी, यहाँले काठमाडौंलाई भक्तपुरजस्तो बनाउँछु भन्नुभएको छ । सुनीता डंगोलजीले काठमाडौंलाई काठमाडौंजस्तै बनाउँछु भन्नुभएको छ । यो अत्यन्त राम्रो कुरा हो । हामी यही चाहिरहेका थियौं । पहिलेका नेताहरूले जस्तो काठमाडौंलाई सिंगापुरजस्तो, स्विट्जरल्याण्डजस्तो बनाउँछु नभनेको धेरै राम्रो कुरा हो । किनभने काठमाडौंको आफ्नै विशेषता छ । विश्वमै अन्यत्र कतै नभएको अद्वितीय विशेषता ! यसैमा मलाई गर्व लाग्छ ।
मेरो सहर विश्व सम्पदाले भरिपूर्ण सहर हो । एउटै सहरमा यति धेरै मानवनिर्मित विश्वसम्पदा संसारकै अन्य कुनै सहरमा छैन । योभन्दा गर्विलो विषय अरु के होला ? नेपालमा जम्मा आठ सांस्कृतिक विश्वसम्पदा छन् । तीमध्ये सात सम्पदा काठमाडौं उपत्यकाभित्रै छन् । “रोम एक दिनमा बनेको हैन” (रोम वाज नट बिल्ट इन ए डे) भनेजस्तै काठमाडौं सहर, यसका सम्पदा, संस्कृति, कला हजारौं वर्षको परिणाम हो । यी सबै काठमाडौं वा नेवारको मात्र नभई नेपालकै सम्पदा हो । यसमा काठमाडौंको रैथानेको चिन्ता र गर्व दुवै रहनु स्वाभाविक हो ।
बाहिरबाट काठमाडौं बसाइँ सरेकाको लागि बाटोघाटो, बिजुलीपानी, सरसफाइको सुविधा प्राथमिकतामा पर्ला । निश्चय पनि सहर सफा र सुविधायुक्त हुनुपर्छ । तर रैथानेलाई सुविधा सँगसँगै मासिँदै गइरहेको भौतिक अभौतिक सम्पदाको पनि चिन्ता हुन्छ । यी कुरा कतै अभिव्यक्त गर्दा ‘साम्प्रदायिक’ भएको आरोप लगाइन्छ । कति पनि नसोची संकुचित र संकीर्ण ठहर्याइन्छ । तर यो चिन्ता त राष्ट्रकै लागि हो भनेर कसरी बुझाउने ? यदि कसैलाई यो चिन्ता लाग्दैन भने उसले काठमाडौं बुझेकै छैन, नेपाल बुझेकै छैन ।
बालेनजी, यो बुझाउने जिम्मा अब तपाईंकै थाप्लोमा आएको छ । तपाईंले बुझाउँदा सायद त्यस्तो समस्या आउँदैन । मैले देखेको नेपालको मुख्य समस्या आ–आफ्नै सामाजिक घेरा हो । हामीबीच सामाजिक पर्खाल छ । हामी एक अर्कालाई बुझ्दैनौं र बुझ्न खोज्दैनौं । बुझ्नै पनि चाहँदैनौं । काठमाडौंका रैथानेले बाहिरका मानिसको समस्या बुझ्दैनन् । तिनका वाध्यता बुझ्दैनन् । कोही पनि खुशीले आफ्नो जन्मभूमि छोड्दैनन् होला । म आफैं बीस वर्ष ग्रामीण विकासको कामले देशका गाउँ–गाउँ नडुलेको भए मैले पनि बुझ्ने थिइनँ होला ।
फेरि बाहिरकाले काठमाडौंका रैथानेको चिन्ता बुझ्दैनन् । ती आफ्नै भूमिमा होच्याइन्छन् । हामीले ‘साम्प्रदायिक’ भन्ने लाञ्छनायुक्त शब्द पञ्चायतको विरासतमा जस्ताको तस्तै ग्रहण गर्यौं । एक अर्को समुदायलाई मानसिक रुपमै विखण्डित र सशंकित बनाइराख्ने पञ्चायतको प्रपञ्च अहिले पनि उस्तै छ । तपाईं र तपाईंको टीमको लक्ष्य हेर्दा एउटा काठमाडौंको मेयर बन्ने मात्र नभई दीर्घकालमा देशकै कायापलट गर्ने बुझिन्छ । यसको लागि सर्वप्रथम तपाईंले नेपालका विविध समुदायका मानिसलाई भावनात्मक रुपमा नजिक ल्याउने र बुझ्ने बनाउनु पर्छ । योभन्दा ठूलो सत्कार्य देशको लागि अरु हुने छैन । एकताको प्रवद्र्धन यसबाट हुने हो । अहिलेको मुख्य समस्या भनेकै नेपालका विविध समुदाय एक अर्कासित भौतिक रुपमा त नजिकिँदै छन्, तर भावनात्मक रुपमा टाढा छन् । यसको लागि धेरै काम गर्न बाँकी छ ।
काठमाडौंका कथाहरू
बालेनजी, काठमाडौंको मेयरकै हैसियतले पनि काठमाडौंलाई नेपालीमाझ चिनाउनु तपाईंको कर्तव्य हो । यो यस्तो सहर हो, जुन सानो भएर पनि हरेक कुरामा आफ्नै विशेषता छ । काठमाडौंको आफ्नै किसिमको काष्ठकला छ, मूर्तिकला, वास्तुकला छ । आफ्नै किसिमको संस्कृति छ, संगीत र नृत्यकला छ । आफ्नै भाषा, लिपि, संवत् र साहित्य छ । शैव, बौद्ध र वैष्णव मत मिश्रित आफ्नै किसिमको धर्म परम्परा छ ।
मुख्य कुरा यहाँका प्रत्येक मन्दिर, बहाल, हिटी, पोखरी र ठाउँ विशेषका आफ्नै कथाहरू छन् । प्रत्येक जात्रा, पर्वको उत्पत्तिका अद्भुत कथाहरू छन् । ती कथाहरू रोचक छन्, रमाइला छन्, जीवनोपयोगी छन् । तिनै कथाहरूमा काठमाडौंको इतिहास छ । यी कथालाई संकलन गरेर, प्रकाशनमा ल्याएर, भिजुअल बनाएर काठमाडौंलाई चिनाउन सकिन्छ । काठमाडौंको अन्तर वास्तविकतासित परिचित भएमा स्वतः मानिसहरू काठमाडौंसित जोडिन पुग्छन्, मोहित हुन पुग्छन् । काठमाडौंप्रति आत्मीयता जागृत हुन्छ । नहुने कुरै छैन । काठमाडौंको मान्छे बन्न काठमाडौंमा बसेर मात्र पुग्दैन । काठमाडौंको गौरब पनि बुझ्नुपर्छ, त्यसमा गर्व गर्ने पनि हुनुपर्छ । काठमाडौं आत्मासहितको सहर हो । यसको आत्मा बुझ्नु पर्छ । त्यो आत्मासित आफ्नो आत्मा जोडिएको महसूस हुनुपर्छ ।
काठमाडौंले हरेक कालमा अन्यत्रबाट आएका समुदायहरूलाई स्वागत गरेको छ । आफूमा समाविष्ट गरेको छ । तिब्बतदेखि, आसामसम्म, उत्तर र दक्षिण भारत लगायतका स्थानबाट आएका मानिस काठमाडौंका बनेका छन्, सामूहिक रुपमा नेवार बनेका छन् । यो आफैंमा अद्भूत परिघटना हो । मेरै थरी ‘मानन्धर’ पनि ग्रीसबाट आएको भन्ने भनाइ छ । यिनैले जानेको गणित र प्रविधिबाट तलेजुजस्ता अग्ला अग्ला मन्दिर र दरबारहरू बनाए भनिन्छ ।
यसरी अनेकौं स्थानबाट आएका आगन्तुकहरू पनि काठमाडौंकै संस्कृतिमा रमाएका छन्, सम्मिलित भएका छन् । सँगै तिनले आफ्नै ज्ञान, कला र सीपले काठमाडौंको संस्कृतिमा योगदान गरेका छन् । तिनले काठमाडौंका कथाहरू आफ्नै मानेर सुने, सुनाए । तिनैमा रमाए । आफ्नै तवरबाट केही कथा थपिदिए । तिनैको समग्र हो, आजको काठमाडौं । काठमाडौंको सांस्कृतिक विशेषता र विशिष्टता यही अन्तर सामुदायिक घुलनशीलताको नतिजा हो । यसरी काठमाडौं उहिले नै विश्ववादी (कस्मोपोलिटन) सहर बन्यो । एउटा अद्भूत ‘मेल्टिङ पट’ ! यसैबाट काठमाडौंले इतिहासमा आर्थिक, सांस्कृतिक उत्कृष्टता हासिल गरेको हो ।
काठमाडौंको स्खलन
समय जति जति आधुनिक बन्दै गयो, त्यति त्यति यो अन्तरघुलन अवरुद्ध भयो । प्रजातन्त्रपछि बाहिरबाट आउनेको लर्को लाग्यो । द्वन्द्वकालमा यो क्रम झनै तीव्र बन्यो । व्यवस्थापन र योजनासँगै जनसंख्या बढेको भए खासै समस्या नहुँदो हो । अव्यवस्थित र अराजक रुपमा जनसंख्या र संरचना बढ्दा भौतिकदेखि मानवीय समस्या बढ्यो । अनि, भानुभक्तले देखेको ‘अमरावति कान्तिपुरी नगरी’ नारकीय नगरीमा बदल्न पुग्यो ।
आज काठमाडौंकै रैथाने युवाहरूले पनि काठमाडौंका कथा बिर्सिसके । काठमाडौंको गर्विलो इतिहाससित अपरिचित भइसके । अंग्रेजी शिक्षाले गर्दा रैथाने युवाले पनि आफ्नो ठाउँको कथा सुन्न पाएनन् । विद्यालय र होमवर्कले सबै समय खायो । नाति–नातिनालाई हजुरआमाको कथा सुन्ने फुर्सद भएन । मोबाइल र कम्प्यूटर त्योभन्दा रमाइलो भयो । बालेनजी, तपाईंले फेरि काठमाडौंका कथाहरू ब्युँताउनु पर्छ । नेवार समुदायभित्र र नेवार समुदायबाहिर पनि । काठमाडौंका कथा सुनाउनुपर्छ, काठमाडौंभित्र र काठमाडौं बाहिरकालाई पनि ।
बालेनजी, तपाईंले काठमाडौं महानगरपालिका मात्र नसोची उपत्यकाका अन्य पालिकाहरूसित समन्वय र सहकार्यका काम गर्ने बताउनु भएको छ । यो गहकिलो कुरा हो, गर्नैपर्ने कुरा हो । यो संस्कृति र विकासको लागि नभई पर्यावरणीय सन्तुलनको लागि पनि महत्त्वपूर्ण छ । आज काठमाडौंको खेत सकिसकेको छ । अब काँठमा खोँच र डाँडा पनि कोपरिँदै छ । यसले समग्रमा कस्तो नतिजा दिने हो ? काठमाडौंको स्वरुप कस्तो बन्ने हो ? जताततै डोजर लगाएर विकास हुने हो वा विनाश ? वास्तवमा, उपत्यकाको माटोमा हलो त जोत्न हुँदैन भन्ने विश्वास छ, देउता रिसाउँछ भन्ने धारणा छ । त्यसैले उपत्यकाका नेवार, गैरनेवार किसानहरूले अहिलेसम्म कोदालोले माटो पल्टाउँदै आएका छन् । हुन पनि काठमाडौंको माटो यति मलिलो छ कि कुटो, कोदालो नै काफी छ । तर यही माटोमा डोजर चलाइन्छ । यसबाट विकास हुने हो वा विनाश ?
काठमाडौं आफ्नै ठाउँमा गरिएको अनियोजित अव्यवस्थित विकासबाट पीडित छ । अनि देशको बाँकी भाग काठमाडौं केन्द्रीत विकासबाट पीडित छ । विवेकहीन जीवन बाँचेर हामीले जीवन र पृथ्वीलाई नै विद्रुप बनाउँदै छौं । कृत्रिम रुपमा समस्या खडा गर्दैछौं । अनि तिनै कृत्रिम समस्या समाधान गर्न अरबौं अरब रुपैँया पानी ल्याउन र फोहर व्यवस्थापनको लागि बेफ्वाँकमा खर्च गर्दैछौं । आफैंलाई र अरुलाई दुःख पुर्याउँदै छौं, हानी गर्दैछौं । ‘अलकापुरी’लाई यमपुरी बनाउँदै छौं ।
भविष्यको बाटो
मैले नेतृत्व–विकासको प्रशिक्षण दिने गर्छु । सरल भाषामा नेताको परिभाषा हुन्छ, जसले अन्यले भन्दा परसम्म देख्छ । यसको अर्थ हो, नेताले लामो भविष्य हेरेर दीर्घकालीन योजना बनाउँछ । हामीले प्रजातन्त्र ल्यायौं, तर देश विकासको दीर्घकालीन योजना बनाएनौं । गणतन्त्र ल्यायौं, नयाँ नेपाल भन्यौं, तर देश बनाउने नयाँ खाका आएन ।
बालेनजी, यदि तपाईं युवाहरूको टीमसहित संसदीय चुनावमा पनि आउँदै हुनुहुन्छ र राजनीतिमा लामो जीवन बिताउन खोज्दै हुनुहुन्छ भने गाउँ–गाउँको, नगर–नगरको र समग्र देश विकासको लागि २५ वर्षे योजना प्रस्तुत गर्नु उत्तम होला । कुन सहर कस्तो बन्ने ? त्यहाँ कति मानिस हुने ? त्यसको लागि पूर्वाधार के हुने ? आफ्नो गाउँ ठाउँमै मानिसलाई टिकाइ राख्न के गर्ने ? विकासले पर्यावरण र संस्कृति नमासियोस् । यी तीनैलाई सन्तुलित रुपमा कसरी अघि बढाउने ? कतैको खेत जंगलमा परिवर्तन हुने र कतैको खेत घरघडेरी बन्दै सकिने अवस्था नहोस् । खेत, खोला र मानिसलाई सन्तुलित राख्न के गर्ने ? हरियाली जोगाउन के गर्ने ?
काठमाडौंलाई कस्तो बनाउने ? सुन्दर सांस्कृतिक र पर्यटनको सहर बनाउने वा एउटा अराजक कुरुप र विद्रुप नगर बनाउने ? मौलिक चरित्र सहितको नगर बनाउने वा चरित्रविहीन, सुरक्षित बनाउने कि अस्तव्यस्त आपराधिक सहर बनाउने ?
अन्तमा, लामो लेखले व्यक्त गर्न नसकेका कति भावना छोटो कविताले भन्न भ्याएको हुन्छ । त्यसैले नयाँ पत्रिका दैनिकमा एक वर्षअघि (२०७८ जेठ १) प्रकाशित काठमाडौं सम्बन्धि एउटा कविता प्रस्तुत गर्दै यो लेखनीको अन्त्य गर्छु ।
धरहराबाट देखिने जति मात्र होइन, काठमाडौं !
यो सहरलाई नठान तिमीहरूले
मात्र मान्छेहरूको एउटा बस्ती हो
नठान यसलाई एक टुक्रा घडेरी
नठान एउटा सुविधायुक्त घर
नठान केही पैसा आर्जन गर्ने थलो ।
बुझ,
यो सहर जति मान्छेहरूको हो
उत्तिकै देवी–देवताहरूको पनि हो
आजु–अजिमाहरूको पनि हो
लाखे र लसिंहरूको पनि हो
ख्याक र कवंचाको पनि हो
यो सहर बुद्ध र बोधिसत्वहरूको पनि हो
यो त मात्र यान्त्रिक सहर होइन
बरु तान्त्रिक सहर हो, त्यसैले यो
केवल भात खाने मान्छेहरूको मात्र सहर होइन
जामनः गुभाजुको देश पनि हो ।
बुझ,
यो सहर अन्य सहरहरूजस्तो
मात्र गाडी गुड्ने सहर होइन
यो सहरमा देउताका खट पनि गुड्छन्
खटमा देउताहरू घुम्छन् ।
यो ढुंगाका देउताको मात्र सहर होइन
यो त जिउँदा देवी–देवताहरूको सहर हो ।
शायद तिमीहरू यहाँ
मात्र घरजग्गा देख्छौ
अवसर देख्छौ
रोजगार देख्छौ
बजार देख्छौ
शायद तिमीहरू धरहरा चढेर यो सहर हेर्छौ
तर यो सहर त्यति मात्र होइन
जति धरहराबाट देखिन्छ ।
यो सहर माथिबाट हेरेर होइन
बाहिर–बाहिर घुमेर होइन
यसको भित्र हिँडेर हेर्नुपर्छ
यसको अझ भित्री भागसम्म
यस भित्रको भित्री कुरा बुझ्नुपर्छ ।
किनभने, यो त
मूर्त र अमूर्त कलाहरूको सहर हो
मौलिक संगीतहरूको सहर हो
रैथाने कथाहरूको सहर हो
वास्तवमा यो कथैकथाको सहर हो
यहाँका कथाहरू नसुनी/नबुझी
यो सहर बुझिँदैन ।
यो केवल घरैघरको मात्र सहर होइन
मन्दिरै मन्दिरैको सहर पनि हो
विहार र बहीहरूको सहर पनि हो
यो केवल प्लटिङ र बाटोको सहर होइन
खेत, खोला र ज्यापूको सहर पनि हो ।
यो सम्पत्तिको मात्र सहर होइन
बरु, अमूल्य सम्पदाहरूको सहर हो ।
यो आधुनिक सहर मात्र होइन
पौराणिक सहर पनि हो
परापूर्व कालदेखि
मान्छे, देउता, आजु र लाखेहरू
सँगसँगै मिलेर बसेको थलो हो
तिनीहरू सँगसँगै नाच्छन्
सँगसँगै घुम्छन्
एकै लहरमा बसी भोज खान्छन् ।
यहाँका दृश्य–अदृश्य आस्थाहरूसित
घुलमिल भई बाँच्न नजानुञ्जेल नबुझिने
विश्वमा अन्यत्र कतै नभएको
एउटा विशिष्ट मौलिक सहर हो यो !
(आर. मानन्धर मूलतः नेपालभाषाका साहित्यकार हुन् । अँग्रेजी र नेपालीमा पनि उनका पुस्तक प्रकाशित छन् । उनका पुस्तक ‘कन्सियस लीडरशिप’ अंग्रेजीमा छ भने नेपालीमा ‘क्षितिजको स्पर्श’ र ‘कवितामा आकाश’ प्रकाशित छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा