के यौनमा महिलाको भूमिका केवल ‘मन गर्नु’ मात्र हो ?
सन्दर्भमा प्रवेश गर्नु अघि एउटा चलिरहेको सन्दर्भ हेरौं, “मन मिलुन्जेल प्रेम, मन नमिले पछि बलात्कार ।” यसले पुरुषहरूलाई ठुलो सास्ती दियो । याने कि कुनै महिलाले म माथि बलात्कार भयो भनी उजुरी गरिन् भने प्रहरीको पहिलो कर्तव्य बनोस् कि त्यहाँ मन मिलेर पो यौनसम्पर्क भयो कि ? यसले पुरा पितृसत्तामाथि प्रहार गर्यो भनेर पो बुझ्ने कि ? किनभने सदियौंदेखि यहाँ यौन पुरुषहरूको विषय मात्र हो, महिलाको विषय होइन । यसलाई पुरुषहरूद्वारा उपभोग गर्न प्रकृतिले रोकेको छैन । यौनमा महिलाको भूमिका केवल ‘मन गर्नु’ मात्र हो ? के महिलाको सहभागिता पुरुषलाई मन लाग्न दिनु हो ?
प्रकृतिले महिला र पुरुष दुवैलाई यौनांग दिएको छ । दुवैका यौनजन्य अंगले जैविक रसायन उत्पादन गर्न सक्छन् र ती रसायनहरू एक हुँदा अर्को एउटा सृष्टि जन्मन्छ । के पुरुषहरूको वीर्यले मात्र यो सृष्टि चलेको हो ? र उनीहरूमा यति धेरै यौनेच्छको वास छ ? प्रश्न हो ती समाजशास्त्रीहरूलाई, जसले बलात्कार एक सामाजिक घटना हो भनेर अर्थ्याउँछन् ।
इतिहासवेत्ताहरूका अनुसार प्राचीन कालमा यौनको सर्वसत्ता स्त्रीहरूमा थियो । पुरुषहरू महिलासँग यसकारण संगठित हुन आउँथे कि त्यहाँ गएपछि यौनसम्पर्क राख्न पाईन्छ । महिलाहरूबाट सुरक्षा प्राप्त हुन्छ । तर उनीहरूले नै महिलाहरूलाई यौन दासीका रुपमा परिभाषित गरिदिए । यसरी प्राचीन समयमा यौनसँग पराधीन पुरुषहरूले बिस्तारै महिलाहरूलाई यौनमा पराजित गर्दै गए ।
मनोवैज्ञानिकहरू बलात्कार मानसिक रोगको एक उपज हो भनेर आफ्ना मत राख्छन् । तर, यौन महिलाको मनोविज्ञानमा किन यति उग्र भएर पलाएन ? किन उनीहरू कुनै पुरुषलाई बलात्कार नै गर्न सक्दैनन् ? त्यसैले यो प्रश्न हो मनोवेत्ताहरूलाई ।
उसो त धर्मशास्त्रमा स्त्रीलाई पतिब्रता हुनु धर्म हो भनेर सिकाइयो तर पुरुषका बारेमा धर्मशास्त्र मौन रह्यो । एक नारी ब्रह्मचारी हुनु अनि देवब्रत रहनु उतिवेला क्षत्रीय धर्म हुँदैन थियो । अचेल त यी दुवै विषय नपुंसकहरूका विषय बन्दै गएका छन् ।
केही मानिसहरूले यौनलाई पशुतुल्य व्यवहार भनेको पनि सुनियो । तपाईंले कुनै पशुले मैथुन गर्दै गरेको देख्नु भएको छ ? के कुनै कुकुरले सानो भर्खर जन्मिएको छाउरीलाई यौनसम्पर्क गरेको कहिलै देख्नु भयो ? के आमाको दूध खाने बाच्छीलाई कुनै बयस्क गोरुले करणी गरेको देख्नु भएको छ ? तर मानिसले यो सबै गरेको हामीले देखिसक्यौँ । ६ महिनाको शिशुसमेत बलात्कृत भएका उदाहरण छन् । कतिसम्म भने आफैले जन्माएको नाबालक छोरीसमेतलाई आफ्नै वाबुले बलात्कार गरेका घटना अदालतमा बग्रेल्ती छन् । अनि यो कसरी पशुजन्य क्रियाकलाप भयो ?
अव प्रवेश गरौँ सन्दर्भतर्फ । हिजोआज नेपाली समाजमा मूलतः दुई विषयमा छलफल केन्द्रीत छ, एउटा हो बलात्कारमा लाग्दै आएको हदम्याद हटाउने वा त्यसलाई बढाएर असीमित पार्ने, ता कि बलात्कारी जुनसुकै समयमा सजायको भागीदार बनोस् ।
अर्को हो, यसले पुरुषहरूलाई अन्याय गर्यो, किनकि सहमतिमा यौन सम्पर्क गर्ने र पछि कुरा नमिलेपछि बलात्कार भन्दिने हो भने यहाँ पुरुषहरूको खैरियत छैन । मेरो प्रश्न हो, कुरा नमिलेपछि भन्नुको तात्पर्य माथि । मतलब, कुन ‘सिच्युसन’मा सम्पर्क भएको थियो ? त्यो कुरा रहुन्जेल सेक्स र कुरा विग्रिएपछि बलात्कार ? यी कुराहरू किन पुरुषले मात्र मिलाउन सक्नुपर्ने, किन महिलाहरूले ती कुराहरू पुरुषहरूवाट प्राप्त गर्नुपर्ने ? के ती कुराहरू यौन सम्पर्क राख्दाका बखतका शर्त तथा बन्देजहरू हुन् ? कस्ता हुन्छन् ती कुरा, जो बिग्रिएपछि सहमतिको यौन सम्बन्ध पनि बलात्कार हुन जान्छ । आउनुस्, केही उदाहरण हेरौंः
१. विद्यार्थी संगठनको एक नेताले, भर्खर विद्यार्थी राजनीतिमा आउँदै गरेकी किशोरीलाई भन्यो, ‘तिमीलाई म संगठनको केन्द्रीय सदस्य बनाईदिन्छु, बस् कहिलेकाहीँ मेरो मन राख्न मसंँग बसिदेऊ ।’ सँगै थप्यो, ‘यौन सम्पर्क केही ठुलो कुरा होइन । मन मिलेपछि जसका बिचमा पनि हुन सक्छ ।’ केटी राजी भई । ‘कुरा मिल्यो ।’
२. मानव अधिकारवादी संगठनको हाकिमले आफ्नो संस्थामा इन्टर्नसिप गर्न आएकी इन्टर्नलाई तिमी जागरुक छौ, पढिरहेकी छौ । तिम्रो भविष्य अव यही क्षेत्रमा हुनुपर्छ भनेर ढाडस दियो । अंगाल्यो र केटीलाई पगाल्यो । अनि सहमतिमा यौन सम्बन्ध राख्यो । कुरा यहाँ पनि मिल्यो ।
३. एउटा शिक्षकले आफ्नो विद्यार्थीलाई ट्युसन पढ्न सहयोग गर्यो । पढाउँदा पढाउँदै उसले संवेदनशील अंग छोयो । केटीले अप्ठ्यारो लाग्दा लाग्दै शिक्षकलाई आफूमाथि हावी हुन दिई । विवाह गर्छु भन्यो, पत्याई । राजी भई । ‘कुरा मिल्यो ।’
किन यौन पुरुषको अधिनमा छ, यसको जवाफ खोजिएकै छैन । महिला अधिकारकर्मीहरू पितृसत्ताले गर्दा यस्तो भएको हो भन्दै नारा लगाउँछन् । उनीहरू बलात्कारलाई पुरुषको शक्ति प्रदर्शन गर्ने माध्यम हो पनि भन्छन् तर महिलाहरू पनि त सत्तामा छन्, महिलाहरू पनि त शक्तिमा छन् । विद्यार्थी नेता पनि महिला छन्, शिक्षक पनि महिला छन् । अनि त्यो मानवअधिकारवादी संगठनमा पनि त महिला हाकिम छन् । कुनै पुरुषले आजसम्म मसँग ‘कुरा मिलाएर’ फलानीले बलात्कार गरी भन्दै कुनै उजुरी आउँदैन । ठुल्ठुला कलाकार, निर्माता पनि छन् महिला, कुनै जुनियर पुरुष कलाकारले मलाई त्यो नायिकाले बलात्कार गरी भन्न किन आउँदैन ?
केही दिन अघि मात्र भारतीय समाचारपत्र दैनिक भास्करमा एकजना भारतीय पत्रकारले श्रीलंकाको पछिल्लो आर्थिक संकटका बेला त्यहाँस्थित केही सहरहरूमा एउटा भ्रमणमा गएको समाचार लेखेकी छिन् । त्यहाँ उनले श्रीलंकामा अहिले यौन व्यावसाय फस्टाएको रिपोर्ट लेखेकी छन् । उनले लेखेकी छिन्, ‘मैले यौनधन्दा हुने ठाउँ खोजी गर्न जाँदै गर्दा एकजना जिगलोलाई भेटे, जिगलो अर्थात पुरुष वेश्या, जसले यौन व्यावसाय गरेर आफ्नो र परिवारको पेट पालिरहेका थिए । यद्यपि श्रीलंकामा वेश्यावृित्तलाई कानूनले बन्देज गरेको छ । तर त्यही व्यावसायका माध्यमबाट केही परिवारहरू दैनिक गुजारा गरिरहेका छन् ।”
हाम्रो देशमा पनि यदाकदा जिगलोहरू भनेर समाचार बनेको, पढेको जस्तो लाग्छ । उनीहरुलाई समाजले एक विवश पात्र भनेर उभ्याइदिन्छ भने महिला वेश्यालाई चरित्रहीन भनेर अर्थ लगाईदिन्छ ।
केही दिनयता बलात्कारको हदम्याद सम्बन्धमा अनेक हल्ला भएका छन् । यसपटक सदनमा नै उभिएर एक महिला सांसदले बलात्कारमा हदम्याद नलगाउने हो भने धेरै पुरुषहरूको जिन्दगी जेलमा नै सड्ने तर्क गरिन् । कुन पुरुषको जिन्दगी सड्छ, त्यही कुरा मिलाएर यौनसम्पर्क राख्ने हो र ? तिनले हदम्यादलाई पुरुषहरू विरुद्ध प्रयोग हो भनेर सार्वभौमसत्ता सम्पन्न सदनमा, १३ वर्षमा नै केटीहरू यौनले परिपक्व हुन्छन्, विहे गरी दिएदेखि टन्टै साफ हुन्छ भन्दै जनमतको अवज्ञा गरिरहेका त छैनन् ? यो बहसको अर्को पाटो हो ।
केही महिलाहरूलाई अहिले सञ्जालभरी हदम्यादबारे यथास्थिति पनि धेरै छ, अझै कम गरियोस् भन्न हिच्किचाउने रहेनछन् । जसलाई कुरा मिल्नाले अवसर जुटेको छ, उनीहरूलाई ‘रेप’ भएको छैन, केवल उनीहरूका कुरा मिलेसम्म । कुरा नमिलेका भए त पीडा कहाँसम्म हो अनुमान गर्न सायद हामी असमर्थ छौं ।
यौन केवल पुरुषको भावना हो, जो कसैगरे पनि प्राप्त हुनुपर्छ भन्ने जुन सभ्यताको विकास हुँदैछ, यसैमा जहाँ यौनसम्पर्क गर्न मन लाग्दा पनि महिलाको दोष र नलाग्दा पनि महिलाको दोष मानिन्छ ।
जबसम्म यौन महिलाको पनि विषय बन्दैन, अर्थात् यौन पुरुषको मात्र बिषय हुन्छ, तबसम्म महिलाहरू पुरुषबाट बलात्कृत भई नै रहन्छन् । किन संसारभरी महिलामात्र बलात्कृत हुन्छन् ? किन पुरुषमाथि बलात्कार हुँदैन ? या फेरि पुरुषहरू आफै बलात्कृत हुन चाहन्छन् ? एउटा लोग्नेमान्छे कुनैपनि महिलाबाट छोइन, वा उससँग यौन सम्पर्क राख्न चाहना राख्छ, कोसिस गर्छ । र, अन्त्यमा मन नमिले बलात्कार गर्न पनि तयार हुन्छ । ठ्याक्कै यही कुरा महिलामा किन विकसित भएन् त ?
म अधिवक्ता पनि हुँ । एकजना महिला मसँग आफ्नो किशोरी छोरीमाथि एक वयस्क पुरुषले गिद्धेनजर लगाएको भन्ने समस्या लिएर आउनु भयो । स्थिति कहाँसम्म थियो भने केही दिन अगाडि पत्रकार कञ्चन न्यौपानेले सेतोपाटीमा जुन ढंगले आफूमाथि कसैको पागलपनले गर्दा बेहोरेको हिंसाबारे लेखेकी थिइन्, हो त्यतिकै असहज प्रकृितको थियो उनको कुरा । ती महिला कुनै हालतमा समाचार नआई गोप्यमा नै मिलाउन चाहिरहेकी थिइन् । यौन सम्बन्धि हिंसा गोप्य नै हुन्छ, मुद्धा चुपचाप नै हुने भयो । आज तिनैलाई हदम्याद पुरुषहरूको न्यायको विरुद्ध छ, भन्दै बोलिरहेको देखेँ ।
तपाईं हामी यदि यो मान्न तयार छौं कि हदम्याद पुरुषहरूको न्यायको विरुद्ध छ । त्यसो हो भने हामी पुरुषलाई यत्रतत्र बलात्कार गर्न दिऊँ । किनकि मात्र कुरा मिलाइ रहन सकियो भने त्यो बलात्कार नै होइन । बलात्कार नहुने देशमा हामी एक नम्बरमा आउँछौ, किनकि हाम्रोमा कुरा मिल्छ । किनकि हाम्रा कानून निर्माताहरू सदनमा गएर कुरा मिलाएर यौनसम्पर्क गरेकाहरूलाई अन्याय हुन्छ भनेर चिन्तित छन् । यस्ता कुरा मिलाउने ठाउँ वेश्यालय हुनपर्ने हो । हामीले आवाज उठाउन नसकेको अति आवश्यक रेडलाइट एरियाहरू हुनुपर्ने हो । तर विडम्वना हाम्रो घर, कोठा, स्कुल, कार्यालय वा सार्वजनिक स्थलहरू कुरा मिलाउने ठाउँमा परिणत हुँदैछन् । किनकि यहाँ जो बलात्कारको सिंढी चढ्दै गर्दा यो विर्सिन्छन् कि म बलात्कृत थिएँ । किनकि त्यो मुकाममा पुग्दा उनीहरूका कुरा मिलिसकेका हुन्छन् ।
लेखक अधिवक्ता हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री विरुद्ध नक्कली कागजात तयार गरी भ्रम छर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : महासचिव पोखरेल
-
पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क
-
१० बजे, १० समाचार
-
जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्र स्तरीय सम्मेलन सुरु
-
सामूहिक निर्वासनका लागि सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
-
नक्कली फेसबुक आइडीको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ