सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मधेशमा समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री राउत

आइतबार, २९ जेठ २०७९, ०६ : ४५
आइतबार, २९ जेठ २०७९

मधेस प्रदेशका मुख्यमन्त्री  लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कृषिलाई मुख्य प्राथमिकतामा राखी समृद्धिको बाटो फराकिलो बन्नसक्ने बताए ।

प्रदेशको आर्थिक अग्रगतिको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरण र सुविधा वृद्धि पहिलो आवश्यकता बनेको राउतको भनाइ छ । समयमा मलखाद, बीउबिजन र सिँचाइको सुविधा पु¥याउन सके किसानको जीवनस्तरमा सुधार र मुलुकको आर्थिक उन्नतिमा टेवा पुग्ने उनले बताए । तर मलखाद समयमा नपाएर किसानले खेतीका बेला बर्सेनि रुने अवस्था दुःखदायी रहेको उनको भनाइ छ ।

“कृषि समृद्धिको मुख्य आधार भन्ने कुरामा सबै सहमत छौँ, तर मलखाद, बीउबिजन समयमा किसानलाई दिनसकेका छैनौँ”, मुख्यमन्त्री राउतले भन्नुभयो, “सङ्घीय सरकारले समयमा कृषि सामग्री उपलब्ध गराउन नसकेपछि अब यसको आपूर्तिको जिम्मा प्रदेश सरकारलाई दिनपर्छ ।” आपूm कहिल्यै समयमा मलखादको प्रबन्ध गर्न नसक्ने र त्यो अभिभारा विकेन्द्रित पनि नगर्ने सङ्घीय सरकारको अड्डीले कृृषि सामग्रीको आवश्यकता समयमा परिपूर्ति हुन नसकेको राउतको भनाइ छ ।

मुख्यमन्त्री राउतले मुलुकमै कृषि उद्योग स्थापनाका लागि लगानी बढाउने वातावरण सरकारले बनाउनुपर्ने उल्लेख गरे । “मधेस सरकारले प्रदेशभित्र यस्ता उद्योग खोल्न चाहनेलाई २० वर्षसम्म कर नलिने र जग्गा लिजमा उपलब्ध गराउने कानुन नै बनाएको छ”, राउतले भने, “तर सङ्घ र प्रदेश सरकारबीच यसको समन्वय नहुँदा उद्यमी उत्साही हुनसकेका छैनन् ।” लगानी गर्न चाहने उद्यमीलाई तदारुकतापूर्वक सहयोग पु¥याउनुपर्नेमा कानुनी उल्झनमा रिङ्ग्याउने हर्कत  नरोकिँदा समस्या ज्यूँका त्यूँ रहेको राउतको ठम्याइ छ ।

“मुलुकको समृद्धिका लागि युवापङ्क्तिलाई स्वदेशमै रोजगार दिने वातावरण बनाउनु मुख्य आवश्यकता रहेको प्रदेश सरकारको ठम्याइ छ”, राउत भन्छन्। यसका लागि युवा जनशक्तिलाई सीप र साधनयुक्त बनाउने कुरामा चेम्बर अफ कमर्स र उद्योग वाणिज्य सङ्घजस्ता संस्थासँग हातेमालो गर्न तयार रहेको राउतको भनाइ छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सीप अभिवृद्धि र उद्यम स्थापनामा आफ्नो संस्था सहयोगी रहने प्रतिबद्धता जनाए । सीप सिकाउने र युवालाई साना उद्यम सञ्चालन गर्न प्रेरित गर्ने कुरामा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने उनले बताए ।

कार्यक्रममा जिल्लामा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिँदै प्रत्येक स्थानीय तहमा स्थानीय सीप बढाउने नीति बनाउन कमर्सले अपिल गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधीर अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप