सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

सेनिटरी प्याड आयातमा अन्तशुल्क घटाउँदा ६ हजार मजदुरको रोजगारी खोसिने चिन्ता

१७ वर्षदेखिको रोजीरोटी गुम्ने चिन्तामा मजदुर
आइतबार, २९ जेठ २०७९, ०६ : ३५
आइतबार, २९ जेठ २०७९

विराटनगर ढाट, सुकुमबासी टोलकी ५८ वर्षीय मालसरी राईको आफ्नै घर छेउमै छ, सेनिटरी प्याड उत्पादन गर्ने उद्योग । उक्त उद्योगमा काम गर्न थालेको उनको १७ वर्ष भयो । जस्मिन हाइजिङ प्रोडक्ट प्रालिमा कार्यरत उनी यहींको कमाइले ४ जनाको परिवार पालिरहेकी छिन् । 

बूढीगंगा–१ मोरङकी अनिता खड्काले पनि सो उद्योगमा काम गरेको १७ वर्ष नै भयो । उनको कमाइबाट दुई छोरा पढिरहेका छन् । सासु ससुरा वृद्धवृद्धा भए । तर, अब उनलाई पनि सेनिटरी प्याड उद्योग बन्द भयो भने आफ्नो दुःख सुरु हुने भन्ने लाग्छ । ‘अहिले भएको यो जागिर पनि गयो भने मलाई धेरै समस्या हुन्छ,’ उनी भन्छिन् ।

राई र खड्का जस्तै सो उद्योगमा काम गर्ने झण्डै एक सय बढी महिला छन् । बिहान बेलुका आफ्नो घरको काम गरेर दिउँसो रोजगारी गरिरहेका उनीहरु सबैलाई उद्योग बन्द हुने डर छ । ‘जसरी हुन्छ, उद्योग चल्ने वातावरण बनाउनु पर्यो । नभए बिहान बेलुका छाक टार्न हामीलाई समस्या हुन्छ,’ सोही उद्योगमा मजदुरी गरिरहेकी बूढीगंगा–१ कै उमाकुमारी खड्काको भनाइ छ । 

अहिले सरकारले ल्याएको कर नीतिले उद्योग बन्द हुन सक्ने हल्ला ती मजदुरहरुको कानमा पनि परेको छ । ‘उद्योगमा काम गरेर घरखर्च चलाउन पाएका छौं । उद्योग बन्द भयो भने हाम्रो त विचल्ली हुन्छ । हाम्रो जग्गा जमिन पनि छैन, ऐलानीमा बसेका छौं,’ मालसरी राई भन्छिन्, ‘उद्योग बन्द भयो भने सडकमा आउँछौं, हामीलाई धेरै चिन्ता छ ।’

हजारौं मजदुरहरु बेरोजगार हुने अवस्था

जस्मिन हाइजिङ प्रोडक्ट प्रालिका व्यवस्थापक राजकुमार सुवेदीका अनुसार उद्योगले गत वर्ष मात्रै १ करोड पिसभन्दा बढी सेनिटरी प्याड भारत निर्यात गरेको थियो । भर्खरै सरकारले ल्याएको बजेटमा उल्लेखित कर नीतिले सेनिटरी प्याड उद्योगको उत्पादन भन्दा आयातित तयारी प्याड सस्तो पर्ने हुँदा अब भने उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको छ । 

‘आयातकर्ताले १०० को सामानमा १५ रुपैयाँ कर तिरेर आउँथ्यो । हामीले कच्चा पदार्थ ल्याउँदा १०० को कच्चा पदार्थमा ५ रुपैयाँ छुट पाउँथ्यौं । अहिले ९० प्रतिशत छुटमा हाम्रो ५ प्रतिशतबाट घटेर १ प्रतिशतमा आयो । आयातकर्तालाई भने १५ प्रतिशत करमा ९० प्रतिशत छुट हुँदा १.५ प्रतिशतमा आइपुग्यो । त्यसो हुँदा साढे ९ रुपैयाँको ग्याप भयो,’ सुवेदीले भने, ‘यसअघि नै आयातित सेनिटरी प्याडसँग बजारमा प्रतिस्पर्धा गर्न समस्या भइरहेको थियो । तर, अब उनीहरुलाई दिएको भारी छुटले त हामी प्रतिस्पर्धा गर्नै नसक्ने अवस्थामा आइपुग्यौं ।’

सुवेदीका अनुसार अब नेपालमा आयात हुने सेनिटरी प्याड बजारमा ९० रुपैयाँमा पाउँदा यहाँका उद्योगबाट उत्पादित वस्तु भने १ सय रुपैयाँभन्दा बढी हुने देखिन्छ । ‘यही कारण हाम्रो देशका ४० भन्दा बढी उद्योगको ६ अर्बभन्दा बढी लगानी डुब्ने अवस्थामा छ । अनि, ६ हजार बढी मजदुरको रोजीरोटी गुम्ने अवस्था आएको छ,’ सुवेदी भन्छन् । आफ्नो उद्योगमा मात्रै ६० करोडभन्दा बढीको लगानी रहेको उनको भनाइ छ । 

‘यही नीतिगत अवस्था रह्यो भने उद्योगको ढोका लाग्न धेरै दिन लाग्दैन । लाखौंको सामान स्टोरमा छ । अब बजारमा जान सक्ने अवस्था देखिएको छैन । सरकारको कारण पहिले पनि उद्योग धन्दाहरू मासिए भनिन्थ्यो । अहिले हाम्रै अगाडि बन्द हुनेजस्तो देखियो,’ सुवेदी पीडा पोख्छन् । 

जस्मिन हाइजिङ प्रोडक्ट प्रालिले मात्रै वार्षिक २० करोड प्याड उत्पादन गर्ने क्षमता राख्छ । उद्योगले डाइफर मात्रै ४ करोडभन्दा बढी उत्पादन गर्न सक्छ । देशलाई चाहिएको वार्षिक ३० करोड प्याड हो । नेपालमा भएका लगभग ४० वटा उद्योगले ९० करोडभन्दा बढी सेनिटरी प्याड उत्पादन गर्न सक्ने क्षमता राख्ने सुवेदीको दाबी छ । त्यसबाहेक सरकारले लिएको निर्यात प्रबद्र्धनमा पनि आफूहरुले योगदान दिन सक्ने उनको भनाइ छ । ‘तर अब निर्यात होइन, स्वदेशमै विक्री गर्न सक्ने अवस्था पनि नरहने भयो,’ उनी भन्छन् । 

जस्मिन हाइजिङ उद्योगमा ४३ जना नियमित कर्मचारी छन् । यस्तै दैनिक ज्यालादारीको रुपमा १३० जना पुरुष र १ सय जनाभन्दा बढी महिला काम गर्छन् । उद्योगको क्षमता दैनिक दैनिक ४ लाखदेखि साढे ७ लाखसम्म सेनिटरी प्याड उत्पादन गर्छ ।

विराटनगरका उद्योगी व्यवसायीका संगठनहरु मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ समितिले सरकारले पछिल्लो पटक ल्याएको यस खालका नीति सच्याउन दबाब दिँदै आएको छ । 

‘स्वदेशी उद्योगलाई प्रबद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने नीति सरकारको रहेको बताउने गरिएको छ । तर, यो नीतिले उद्योगहरु बन्द हुने भए, हजारौं मजदुरहरु बेरोजगार हुने भए,’ अखिल नेपाल टे«ड युनियन प्रदेश १ का सहइन्चार्ज उपेन्द्र रायले भने, ‘यहाँ ठूलो कमिसनको खेल भएको हामीले सुनेका छौं । मजदुरहरु बेरोजगार भए भने हामी रोजगारी माग्दै सडकमा आउनु नपरोस् । मजदुरको पेटमा लात हान्ने काम बन्द होस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप