सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

गोताखोर तालिममा महिला प्रशिक्षार्थीलाई पनि सहभागी गराउन गृहमन्त्रीको निर्देशन

आइतबार, २९ जेठ २०७९, ०६ : ३३
आइतबार, २९ जेठ २०७९

गत बैशाख २५ गतेदेखि जारी गोताखोर तालिम  सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा समापन गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो । 

दश जना प्रशिक्षक र २० जना प्रशिक्षार्थी सहभागी पाँच हप्ता लामो तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई कोशी नदी, फेवाताल, कुलेखानीमा तालिम दिइएको थियो । समापन कार्यक्रममा माननीय गृहमन्त्री खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारीहरु, प्रमुख जिल्ला अधिकारीहरु लगायतलाई पनि आवश्यक भएको धारणा व्यक्त गरे। 

तालिम समापन गरेका प्रशिक्षार्थीहरूलाई बधाई दिदै मन्त्री खाँणले अर्को पटकको तालिममा महिला प्रशिक्षार्थी पनि सहभागी गराउन सुझाव दिए ।  उनले सडक, भवन लगायतका संरचना निर्माण गर्दा संभावित विपद्को जोखिमलाई पनि मध्यनजर गरेर निर्माण गर्नुपर्नेमा जोड दिए। 

गृह सचिव टेकनारायण पाण्डेले विपद्का बेला विदेशबाट गोताखोर बोलाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालमै गोताखोर उत्पादन हुनु विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेख्य उपलब्धी भएको चर्चा गर्दै सवैको समन्वय र सहकार्यमा मात्र विपद् व्यवस्थापनमा लक्ष्य प्राप्त गर्न सकिने बताए । 

सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले विभिन्न चुनौतीका बीच गोताखोर तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण टिमलाई बधाई दिँदै ज्यान बचाउने सेवाभावका साथ फिल्डमा खटिन निर्देशन दिए । उक्त अवसरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९७ लाख रुपैंया बराबरको उद्धार सामाग्री हस्तान्तरण गरेको थियो । 

उक्त अवसरमा गोताखोरहरुद्वारा पानीमा डुबेका व्यक्तिहरुको कसरी उद्धार गर्ने, माछा मार्न जाँदा बेपत्ता भएका व्यक्तिको कसरी खोजी गर्ने, घाइतेहरुको कसरी उद्धार गरी प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लगायतका विषयमा त्रिशुली नदीमा सिप प्रदर्शनी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप