बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आन्दोलनको औचित्यमाथि स्वतन्त्र पुँजीबजार संघले उठायो प्रश्न, भन्यो – सडक नाटकको औचित्य छैन

शनिबार, २८ जेठ २०७९, २० : ४३
शनिबार, २८ जेठ २०७९

अहिले सेयर लगानीकर्ताले गरिरहेको आन्दोलनमाथि स्वतन्त्र पुँजीबजार संघले प्रश्न उठाएको छ । संघले विज्ञप्ति निकाल्दै बजारमा भइरहेको आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाएको हो ।

‘पुँजी बजारको सुधारका निम्ति विभिन्न समयमा विभिन्न माग राखेर लगानीकर्ताहरू आन्दोलनमा होमिएको कुरा आदरणीय लगानीकर्ता साथीहरूलाई अवगत नै छ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘त्यसै गरी विगतको ५८ बुँदे, त्यस पश्चात्को १७ बुँदे र अहिलेको १९ बुँदे आन्दोलनले समग्र पुँजी बजारलाई नयाँ सरगर्मीमा धकेलिरहेको देखिन्छ ।’

तर अहिले लगानीकर्ताहरूले नेतृत्व गरिरहेको आन्दोलनको आधार र मर्मलाई तोडेर आफ्ना÷आफ्ना स्वार्थ बमोजिम आ–आफ्नै शैलीमा आन्दोलनलाई तोडमोड गर्न खोज्ने प्रवृत्ति देखिएको संघको भनाइ छ । यस्तै, अर्कोतर्फ पुँजीबजार र लगानीकर्ताको नेताको मुहार लिएर राजनैतिक चुनावी माहौलमा आफ्नो भोट सुरक्षित गर्ने दौडमा देखिएको संघको बुझाई छ । यो आन्दोलनले संसद् बन्ने आफ्नो सपना साकार पार्ने गतिविधि र लगानीकर्ताहरूलाई कार्यकर्तालाई बनाउन खोजिएको आरोप संघले लगाएको छ ।

लगानीकर्ताहरूले आफ्नो स्वार्थ बमोजिम सेयर बेचेको बेला आन्दोलनमा सहभागी नहुने र सेयर किन्न थालेपछि आन्दोलनमा उत्रेर बजारलाई प्रभावित पार्न खोज्ने प्रवृत्ति देखिएको आरोप संघको छ । ‘सडक नाटक देखाउने प्रवृत्ति अहिलेको आन्दोलनमा प्रष्टसँग देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बजार ४ र १२ को नीतिले गर्दा ३१०० को बिन्दुबाट अप्राकृतिक ओरालो लाग्न थालेपछि हामी दबाब समूहको रूपमा ‘स्वतन्त्र पुँजीबजार सुधार संघर्ष समिति’ र त्यस पछि संगठनको रूपमा ‘स्वतन्त्र पुँजी बजार सुधार संघ’ को भूमिकामा १७ बुँदे माग सहित बृहत् आन्दोलनको स्वरूप तयार गरेको यहाँहरूलाई अवगत नै छ ।’

संगठनले त्यतिबेला अहिले सडक नाटकमा आएका हरेक स्वघोषित व्यक्तिहरूलाई भेटेको र आन्दोलनमा समर्थन एवं सहभागिताको निम्ति गुहारे पनि साथ नदिएको अध्यक्ष सुशील कुमार बानियाँले बताएका छन् । ‘दुखद रूपमा भन्नू पर्दा त्यति बेलाको अभियानलाई बिथोल्ने र लगानीकर्तालाई अनैतिक प्रभाव पारी आन्दोलनलाई बिथोल्नेहरु आफ्नो नैतिकतालाई आफ्नै पाइला मुनि च्यापेर माइक समातिरहेका तस्बिर र भिडियोहरू अहिले सामाजिक सञ्जालमा समग्र लगानीकर्तालाई गिज्याई रहेका देख्न सकिन्छ,’ अध्यक्ष बानियाँले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप