सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘नयाँ परिवेशमा पुगेपछि आफू को हुँ भन्ने कुराले पिरोल्छ’

शनिबार, २८ जेठ २०७९, २० : ३५
शनिबार, २८ जेठ २०७९

नेपालमा मात्र होइन, अमेरिका पुगेर पनि नेपालीहरूलाई सङ्गठित गर्ने, नेपाली भाषा साहित्यको संरक्षण र संवर्द्धनमा निरन्तर लागिरहेका साहित्यकार हुन् कवि वसन्त श्रेष्ठ । तेह्रथुममा जन्मी हुर्की साहित्य साधनमा लागेका उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षसमेत रहेर जिम्मेवारी निभाएका छन् ।

उनका साहित्यिक कृतिमा ‘वसन्त श्रेष्ठका कविता’, ‘भावनाका लहरहरू’, ‘उज्यालो खोज्ने मान्छेहरू’ र ‘गोलार्द्ध​को मान्छे’ लगायत प्रकाशित छन् । पछिल्लो समय प्रकाशित कृति ‘अँगालोभरिको अनुभूति’ आत्मपरक निबन्ध सङ्ग्रह हो भने आफ्ना पिताका जीवनका कार्यहरूको सँगालो ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ कृति प्रकाशोन्मुख छ । हाल अमेरिका बस्दै आएका व्यवसायिक पृष्ठभूमिका कवि वसन्त श्रेष्ठसँग साहित्यमा केन्द्रित रही रातोपाटीका लागि शिखर मोहनले गरेको अन्तरङ्ग कुराकानी :  

–तपाईं एउटा सफल व्यवसायी, साहित्यमा प्रवेश गर्ने प्रेरणा केले दियो ? 

विद्यार्थी कालदेखि नै साहित्यमा रुचि थियो । हरेक शुक्रबार टिफिनपछि सिंहबाहिनी स्कुलमा ऋतुवर्ण तुम्बाहाङ्फेले अतिरिक्त क्रियाकलाप गराउँथे । त्यसमा म कविता लेख्थेँ, वाचन गर्थें । पहिलो कविता ‘तीनजुरे’मा प्रकाशन भएको हो । यसरी मलाई साहित्यतर्फ डोहाेर्याउने काम तेह्रथुमको सिंहबाहिनी स्कुलले गरेको हो ।  

विसं २००८ सालमा मेरो बुवाले सिंहबाहिनी स्कुलबाट ‘मगज’ हस्तलिखित पत्रिका प्रकाशन गर्नुभएको थियो । यसपछि डा. रामेश्वरमान श्रेष्ठ, विश्वेश्वरमान श्रेष्ठले ‘बिरुवा’ भन्ने हस्तलिखित पत्रिका प्रकाशन गर्नुभएको थियो । त्यो परिवेशमा विश्वविमोहन श्रेष्ठ र मैले पनि २०२५ सालमा ‘तीनजुरे’ हस्तलिखित पत्रिका प्रकाशन सुरु गरेका हौँ । १४ वर्षको हुँदा एसएलसी उत्तीर्ण गरेपछि २०२६ सालमा काठमाडौं आएँ । यहाँ २०२९ सालमा ‘पूर्वेली धुन’ भन्ने सामयिक साहित्यिक सङ्कलन प्रकाशित गरियो । ठ्याक्कै सम्झना त छैन तर भद्रपुरबाट प्रकाशन हुने पत्रिकामा मेरा केही सिर्जना प्रकाशित भएका थिए । यस हिसाबले पहिले म साहित्य सर्जक भएँ, अनि २०३९ सालपछि व्यावसायी भएको हुँ । 

–तपाईंका के कस्ता कृति प्रकाशित छन् ? व्यवसायीलाई साहित्य सिर्जना गर्न कति सहज रहेछ ?

मेरा चारवटा पुस्तक प्रकाशित छन् । वसन्त श्रेष्ठका कविता (२०६०), भावनाका लहरहरू (अङ्ग्रेजीमा अनूदित पनि छ), उज्यालो खोज्ने मान्छेहरू र गोलार्द्धको मान्छे हुन् । पहिलेका कृति पद्य हुन् भने अहिले प्रकाशित भएको कृति अँगालोभरिको अनुभूति चाहिँ गद्यमा छ । यसमा मेरा जीवनका कार्य र अनुभूति समेटिएका छन् । 

मेरो साहित्य लेखन र व्यवसाय सँगसँगै गएन । विसं २०३९ मा जब स्नातकोत्तर अध्ययन गर्दै गर्दा बुबा वित्नुभयो । त्योभन्दा अघि प्रगतिशील साहित्यमा लागेको थिएँ । पूर्वेली धुनहरू त्यसैको सङ्कलन हो । त्यो समय म विद्यार्थी राजनीतिमा लागेँ । त्यसपछि बुबाले १५ शय्याको अस्पताल बनाउँदै हुनुहुन्थ्यो, फिदिममा त्यसलाई पूर्णता दिन गएँ । अनि जीविकोपार्जनका लागि निर्माण व्यवसायमा लागेँ । 

–अमेरिकासम्म पुगेर पनि साहित्यमा निरन्तर समर्पित हुनुहुन्छ । स्वदेश र विदेशमा रहेर सिर्जना गर्दा कुन खालको फरकपन आयो ? 

कविता भनेको मनको सुन्दर अभिव्यक्ति हो, भावहरूको संवेगात्मक अभिव्यक्ति हो । नयाँ अविष्कार हो । हरेक सिर्जना न कसैले पहिले आविष्कार गरेका हुन्छन् न पछि नै । त्यसकारण हरेक सिर्जना नयाँ भाव, नयाँ विचार, नयाँ शैलीमा लेखिन्छन् । त्यस्ता साहित्यिक मनहरूलाई जहिले पनि परिवेश, वातावरण, हावापानी, भौगोलिक अवस्थिति प्रभाव पारेकै हुन्छ । 

बाल्यकालमा जब म साहित्यमा लागेँ, त्यो परिवेश भिन्दै थियो । प्रवासतिर लागेपछि त्यो परिवेश भिन्दै भयो । सुरक्षित भविष्यका लागि या उच्च शिक्षाका लागि प्रवास पुग्दा त्यहाँ जिजीविषा मात्र होइन,  अस्तित्वको लडाइँ पनि हुन्छ । नयाँ परिवेशमा पुगेपछि आफू को हो भन्ने कुराले पिरोल्छ । 

सबैभन्दा पहिले मान्छेलाई चिनाउने भनेको भाषा, साहित्य र संस्कृति हो । त्यसले मानिसलाई अरूभन्दा भिन्न देखाउँछ, नभए सबै उस्तै हुन्छन् । विदेशको हुलमा कसैले नेपाली बोल्यो भने छुट्टिन्छ, ‘ए नेपाली पो रहेछ’ भन्छन् । त्यहाँ पनि हाम्रा रीतिरिवाज, परम्परालाई आदिको प्रयोग गर्छौं, त्यसले पनि फरक पार्छ । 

म सन् १९९४ मा अमेरिका गएँ । त्यहाँ सबैभन्दा पहिले मलाई आफ्नो अस्तित्व कसरी कायम गर्ने भन्ने कुराले चिमोट्यो । आफू यसै विलाएर जाने कि, आफूलाई कसरी अलग राख्ने ? भनेर मैले भाषा साहित्यलाई नै जोड दिएँ । नेपाली भाषा र साहित्यलाई जगेर्ना गर्न सकियो भने त्यहाँ हाम्रो अस्तित्व रहने भयो । नेपाली हुनुको गौरव भनेको यही हो । त्यहीअनुसार हाम्रा संस्कृति, परम्पराहरू, चाडपर्व मनाउँदै गयौँ । त्यस परिवेशले हामीलाई आफ्नो भाषा संस्कृति जगेर्ना गर्नुपर्छ भनेर थप सचेत बनायो । यही सचेतना मेरो लेखनमा झल्कियो ।

–तपाईं नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको अध्यक्ष पनि हुनुहुन्छ । त्यहाँ नेपाली साहित्यको अवस्था कस्तो छ ? 

पहिले त्यहाँ थोरै मात्र नेपालीहरू थिए । साहित्यकार, कलाकारहरूको उपस्थिति नै थिएन । सबै विद्यार्थी थिए । पढ्न अथवा तालिमका लागि मात्र जान्थे । कामको सिलसिलामा म सन् १९९४ देखि २००० सम्म बोस्टन बसेँ । त्यतिबेलासम्म काम गर्नका लागि त्यहाँ मान्छे आउँदैनथे । नेपाली जाने भनेको २००५ देखि बिस्तारै बढ्यो । त्यो बेला साहित्यिक वातावरण केही पनि थिएन । त्यतिबेला १९९१ मा स्थापना भएको अमेरिका–नेपाल सोसाइटी जस्ता एकाध संस्था थिए । सो सोसाइटीमा कूटनीतिक सल्लाहकार र नेपालबाट गएका कर्मचारीहरू सदस्य थिए । 

सोसाइटीमा धेरै वर्षसम्म नेपाली अध्यक्ष हुन सकेका थिएनन्, अमेरिकन नै अध्यक्ष हुन्थे । त्यस संस्थामा प्रद्युम्न शमशेर राणा पहिलो पटक अध्यक्ष भए । त्यसले चाहिँ अमेरिकनहरूलाई नेपाल चिनाउने, अनि नेपालीहरूलाई अमेरिकामा कसरी गर्न सकिन्छ भनेर वातावरण तयार गर्ने काम गथ्र्यो । उनीहरूलाई नेपाल चिनाउनेदेखि नेपाली खाना खुवाउने जस्ता काम गथ्र्यो । त्यसपछि एएनए भन्ने संस्था खोलेपछि हरेक वर्ष हुने अधिवेशनमा सबै नेपालीहरूले भाग लिने, भेटघाट गर्ने, अनि भर्खर आएका नेपालीहरूलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने प्रयास हुन्थ्यो । 

एएनए संस्थामा १९९६ देखि म कार्यकारी सदस्य भएँ । २०१० मा त्यो संस्थामा नेपाली साहित्य विभाग स्थापना गरियो । यही वर्ष नै एएनएकै मातहतमा राखेर नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका हामीले गठन गर्यौँ ।  यसको म संस्थापक अध्यक्षा भएँ । यसको अन्तर्राष्ट्रिय स्तरमा एउटा साहित्यिक पुरस्कार स्थापना गर्नेदेखि साहित्यकारलाई व्यावसायिक कसरी बनाउने,  नेपाली भाषा साहित्यको स्तरोन्नति कसरी गर्ने ? भन्ने उद्देश्य थियो । त्यतिबेला जसले जे लेखे पनि कविता हुने, गीत हुने जस्तो अवस्था थियो । त्यसलाई स्तरीय कसरी बनाउने भन्नेमा केन्द्रित भयौँ । त्यसले हरेक वर्ष अधिवेशन गर्थ्याे ।

त्यही क्रममा उत्कृष्ट कवितालाई पुरस्कृत गर्न एक लाख रुपियाँको पुरस्कार स्थापना गर्यौँ । २०१० मा स्थापना गरेको यो पुरस्कारबाट पहिलो पटक भोजपुरका अकिञ्चन राई पुरस्कृत भए । पुरस्कारले लेखकलाई सिर्जनामा लाग्न थप उत्साह बढाउनुका साथै जीवन निर्वाहमा थोरै भए पनि सहयोग गरोस् भन्ने हो । 

पाँच, छ वर्ष हामीले निरन्तर कार्यक्रमहरु ग¥यौँ । मेरा बुबामुमाकै नामबाट सुभद्रा–नारायण–भानुभक्त काव्य पुरस्कार स्थापना गर्यौँ । दाताकाे नाम– मोतीराम काव्य पुरस्कार, दाताकाे नाम– देवकोटा काव्य पुरस्कार गरेर पुरस्कार दाताका नामबाट स्थापना गरेका थियौँ । तर एएनएमा आएको विवादले सन् २०१५ देखि निरन्तरता दिन सकेका छैनौँ ।   

अन्तर्राष्ट्रिय साहित्य समाजमा म १९९५ मा सदस्य, १९९७ सचिव भएँ । अन्तर्दृष्टि यस समाजको मुखपत्र हो, त्यसको सम्पादन गरेँ । १९९८ देखि २००० सम्म समाजको अध्यक्ष भई काम गरेँ । त्यतिबेला च्याप्टर थिएन । केन्द्रीय कार्यालय एउटै थियो । त्यतिबेला अन्तर्दृष्टिलाई अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिका र साहित्यिक पत्रकार सङ्घ नेपाल भएर संयुक्त रूपमा प्रकाशन भयो । त्यसको सम्पादकमा राधेश्याम लेकाली थिए । अन्तर्राष्ट्रिय साहित्य समाजले गर्ने भनेको नेपाली भाषा, साहित्यको, कलाको, संस्कृति संरक्षण र संवद्र्धन गर्ने हो । सन् २००० देखि म सल्लाहकारका रूपमा पनि काम गरेँ ।

–साहित्य सिर्जनामा लाग्दा तपाईंका गर्व गर्नलायक क्षणहरू कसरी सम्झिनु हुन्छ ?

अन्तर्राष्ट्रिय साहित्य समाजको अध्यक्ष भएको बेला अमेरिकाको एटलान्टामा आन्मा, नासिया र एएनएको संयुक्त वाईटूके सम्मेलन भयो । त्यो संयुक्त सम्मेलनमा अन्तर्राष्ट्रिय साहित्य समाजलाई अध्यक्षको नाताले वासिङ्टन डिसीबाट बाहिर लैजाने श्रेय पाएको थिएँ । त्यतिबेला नेपालबाट प्रतिनिधित्व गर्नुहुने डा. तारानाथ शर्मा, डा. अरुण सायमी, रमेश खकुरेल, विश्वविमोहन श्रेष्ठ,  गोविन्द गिरी प्रेरणालगायतलाई निम्त्याउन सकेँ । त्यस ठाउँमा त्यत्रो विशाल संस्थाको पक्षमा मैले गर्न सकेको सबैभन्दा ठूलो काम हो । यो कार्यप्रति गौरव लाग्छ ।  

–नेपालमै सफल एक व्यवसायीलाई अमेरिका जना केले बाध्य बनायो ? 

बाध्य भएर गएको होइन । मेरी साहिली बहिनीले २०५१ सालमा पिसकोर भोलेन्टियरसँग विवाह भएर अमेरिका गएकी थिइन् । आमाकाे विशेषा जिद्धिले एक हप्ताका लागि बहिनीको परिवार कस्ताे छ भनेर हेर्न केही समयका लागि अमेरिका गएँ । त्यहाँ पुगेपछि पढ्न मन लाग्यो र उच्च शिक्षा अध्ययनका लागि बोस्टनमा बसेँ । १९९५ देखि अध्ययन गर्न थालेँ । मलाई त्यस्तो बाध्यता र रहर भन्ने केही थिएन ।  

–अमेरिकामा रहेको नेपाली समाज चाहिँ कस्तो छ ?

आजभन्दा करिब २८ वर्ष पहिले म त्यहाँ पुगेको हुँ । त्यतिबेला नेपालीहरूको उपस्थिति सीमित थियो । बोस्टनमा अध्ययन गर्दाको समयमा दसैँतिहारका कार्यक्रमा विद्यार्थी, विद्यार्थी मात्र हुन्थ्यौँ । एउटा सानो कोठामा करिब ३०÷४० जना मिलेर चाडपर्व मनाउँथ्यौँ । त्यतिबेला अमेरिकाभरिमा २÷३ सय थिए होला नेपालीहरू । तर अहिले ५ लाख बढी पुगिसके । अहिले नेपाली समाज ज्यादै ठूलो भइसकेको छ । नेपालीहरूले राम्रै प्रगति गरेका छन् । सरसहयोग पनि राम्रै गरेका छन् । 

त्यहाँ अहिले हरेक संस्थाको, हरेक व्यक्तिले सङ्गठन कसरी गर्ने, सहयोग कसरी गर्ने भन्ने उद्देश्यले व्यापक रूपमा सङ्घसंस्था खुलेका छन् । सन् २००५ पछि नेपाली समाज बढ्दै गयो । पहिले पहिले अमेरिकाभरि बस्ने नेपाली साहित्यको एउटै संस्था थियो ।  पछि आएर जातीयता, वर्गीय, पेसागत हिसाबमा नेपाली सङ्गठनहरू बढ्दै गए । इन्जिनियर एसोसिएसन, तामाङ सोसाइटी, नेवाको संस्था पनि छ । नेपालमा भएका हरेक जातिका सङ्घ संस्था त्यहाँ खुलेका छन् । तिनले आफ्ना जातिअनुसारका रीतिरिवाज, परम्परा मनाउँदै आएका छन् । आफ्नो भाषा, कला संस्कृति, परम्पराका लागि काम गर्दै आएका छन् । 

 – तपाईं कस्ता साहित्यिक रचना बढी मनपराउनुहुन्छ ?

जीवन जगत्, प्रकृति र प्रेमका कुराभन्दा जीवनी बढी मन पर्छ । जीवन र जगत्लाई हेर्ने कुरा जसरी तपाईं मनबाट, दिलबाट प्रतिपादन गर्नुहुन्छ, त्यसलाई बढी रुचाउँछु । म त्यसैमा लेख्छु पनि । मान्छेको बाँच्न पाउने कुरा, बोल्न पाउने कुरा, शिक्षा पाउने, खेल्ने जस्ता नैसर्गिक कुरा उसले पाउनु पर्यो । त्यो नपाएको कुरामा जब बोल्नुहुन्छ, त्यसले मलाई खुसी पार्छ । 

–तपाईंलाई मनपर्ने लेखकहरू ? 

अहिलेका युवा जमातहरूले लेखेका कविता धेरै मन पर्छ । तर पनि यात्रा संस्मरण, अनुभूतिहरू र आत्मवृत्तान्तहरू धेरै धेरै पढ्छु । पुरानामा भूपि शेरचन, हरिभक्त कटुवाल, विष्णु नवीन लगायतका कविता धेरै मन पर्छन् । 

–अन्त्यमा नवसाहित्यकारहरूलाई के भन्नु हुन्छ ?

वास्तवमा जेसुकै लेखे पनि साहित्य बन्छ भन्ने धेरैको धारणा छ । त्यो सत्य नहुन सक्छ । सङ्ख्यात्मक भन्दा पनि गुणात्मक खालका साहित्य सिर्जना हुनुपर्छ । त्यो सबैलाई मान्य हुन्छ । त्यसले दीर्घकालीन जीवन दिन्छ । अहिलेका धेरै सर्जकका रचनाले पाठकको मन तान्न सकिरहेको अवस्था छैन । यसको मूल कारण त्यसमा गुणात्मकता नभएर नै हो । अहिले आएका नवसर्जकहरूलाई हेर्दा उत्साहप्रद छ, उहाँहरूले गुणात्मकतातर्फ बढी जोड दिँदा अझ राम्रो हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप