बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुवाको किरिया गरेर पिण्ड दिँदै गर्दा पूर्वसांसद थापाको निधन

शनिबार, २८ जेठ २०७९, १९ : ५८
शनिबार, २८ जेठ २०७९

पूर्वसांसद भद्रबहादुर थापाको आज निधन भएको छ । रामपुर नगरपालिका–१० बर्दले बस्ने थापाको ७३ वर्षको उमेरमा आज निधन भएको हो । पूर्वसांसद थापा करिब दश वर्षअघिदेखि मुटुरोगको बिरामी थिए। स्व थापाको कालीगण्डकी नदीको बर्दलेघाटमा वैदिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

उनी विसं २०४९ मा तत्कालीन गेझा गाविसको पहिलो अध्यक्षका रूपमा निर्वाचित भएका थिए । नेकपा (एमाले)बाट निर्वाचित भई विसं २०४९ देखि २०५४ सम्म गेझा गाविसको अध्यक्षका रूपमा सेवा गरेका थापा २०५४ मा जिल्ला विकास समिति पाल्पाको उपसभापति, २०५६ मा पाल्पा क्षेत्र नं १ को प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए । स्व थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

विसं २००६ मा रामपुर–१० को गेझामा स्व बुबा कुवेरसिं थापा र आमा मनीमाया थापाका जेठो सन्तानका रूपमा जन्मिएका उनले विसं २०३६ देखि १४ वर्षसम्म भानुभक्त मावि गेझामा अङ्ग्रेजी विषय अध्यापन गराएका थिए ।

आफ्ना बुवाको किरिया गरेर पिण्ड दिँदै गर्दा किरियाकर्म सम्पन्न नहुँदै उनको बिहान ९ बजेतिर निधन भएको हो । बुवा ६२ वर्ष अगाडिदेखि बेपत्ता भएकामा अब जीवितै नरहेको निष्कर्षका साथ उनले १२ दिन अगाडिदेखि बुबाको किरियाकर्म गरिरहेको स्थानीय दामोदर तिमिल्सिनाले जानकारी दिए ।

पाल्पाका नेकपा (एमाले) र नेपाली कांग्रेसका नेता, जनप्रतिनिधि, कार्यकर्ता, समाजसेवी, बुद्धिजीवीलगायत कालीगण्डकी नदीमा पुगेर थापाको पार्थिक शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप