बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

पानी मात्रै बिक्री गरे जनताले मासुभात खानपुग्छ : खेलकुदमन्त्री

शनिबार, २८ जेठ २०७९, १९ : ०२
शनिबार, २८ जेठ २०७९

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरूले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन् । शनिवार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरूको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यो भन्दा अगाडिको युवा पुस्ताले सङ्घर्ष गरेर नयाँ व्यवस्था ल्याएको उल्लेख गर्दै अबका युवाले देश विकासको बारेमा सङ्घर्ष गर्नुपर्ने बताएका हुन् । 

उनले पानीलाई मात्रै व्यवस्थित गरेर बिक्री गरेमा मात्रै पनि देशका जनताले मासुभात वा दूधभात खान सक्ने अवस्था रहेको र यसको सफल व्यवस्थापनको जरुरी रहेको बताए । मन्त्री गहतराजले नेपाल विश्वको १७ औँ प्राकृतिक श्रोतको धनी देश भएको उल्लेख गर्दै प्राकृतिक श्रोत र साधनको हिसाबले नेपाल समृद्ध रहेको उल्लेख गरे । मन्त्री गहतराजले युवाहरूले सपना देख्दा र नयाँ सोच राख्दा देशलाई अघि बढाउन सकिने उल्लेख गर्दै युवाहरूले देशभित्रै केही गर्न सकिन्छ भनेर सङ्कल्प गर्नुपर्ने बताए ।

मन्त्री गहतराजले नेपालमा युवा बौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नु ठुलो चुनौती रहेको बताए । उनले युवा जनशक्तिलाई रोक्नकै लागि सरकारले देशमा केही ठुला दीर्घकालीन रणनीतिक महत्त्वका परियोजना ल्याउन लागेको उद्घोष गरे । मन्त्री गहतराजले जनशक्तिलाई देशभित्रै रोक्नको लागि उद्योगधन्दा, कलकारखानाको विकास गर्ने, कृषिको आधुनिकीकरण गर्ने, पर्यटन र शिक्षाको आधुनिकीकरण गर्ने र खेललाई  व्यवसायतिर प्रयोग गर्ने ढङ्गले अघि बढ्नुपर्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप