बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के हो ‘बलात्कारी होस् तँ’ अभियान ?

चिलीबाट सुरु भएको अभियान छरियो विश्वभर
शनिबार, २८ जेठ २०७९, १८ : ३०
शनिबार, २८ जेठ २०७९

मेरो हत्या र बेपत्ताको लागि एकता
यो हो बलात्कार
गल्ती मेरो होइन
न त लुगाको, न त ठाउँको
बलात्कारी होस् तँ 

बलात्कार र यौन हिंसाविरुद्ध चिलीबाट सुरु भएको महिला आन्दोलनमा प्रयोग भएको ‘द रेपिस्ट इज यु’ गीतको पङ्क्ति हो यो । अहिले विश्वभर बलात्कारविरुद्ध भइरहेका प्रदर्शनमा प्रयोग भइरहेको छ यो गीत । हिंसा विरुद्धका महिला आन्दोलनमा कालो लुगा लगाएर महिलाहरूले ‘बलात्कारी होस् तँ’ भनेर गीत गाएर प्रदर्शन गर्ने क्रम नेपालमा पनि सुरु भएको छ । यो गीत पहिलोपटक चिलीका महिलाहरूले प्रदर्शनको क्रममा प्रयोग गरेका हुन् । ‘द रेपिस्ट इज यु’ को भर्सन अहिले विश्वभरका महिला आन्दोलनमा आ–आफ्नो भाषाअनुसार प्रयोग गरेको पाइन्छ । 

विश्वव्यापी महिलावादी अभियान अन्तर्गत न्याय माग्न हिँडिरहेका र अभियानमा लागेका महिलाहरूले यो गीतलाई मुख्य धार बनाएका छन् । विश्वभर प्रख्यात भएको ‘बलात्कारी होस तँ’ भन्ने बोलको गीतले अहिले न्यायको लागि लड्न र न्यायालयको ध्यानाकर्षण गराउन सहयोग गरेको छ । यसले महिला सशक्तीकरणमा एउटा नयाँ अध्याय थपेको छ । हजारौँ महिलाहरू यस अभियानमा आँखामा कालो पट्टी बाँधेर भाग लिएका छन् । उनीहरूले हिंसाविरुद्ध शक्तिशाली लिरिक्ससँगै म्याचिङ डान्स स्टेप गर्दै एउटै आवाजमा महिला हिंसा विरुद्धको गीत गाएर पुरै विश्व हल्लाउँदै छन् । 

यो सत्य हो कि महिलाहरू वर्षौदेखि घरेलु हिंसामा पर्दै आएका छन् । कतिपय महिलाहरू आफ्नै जीवन साथीदेखि पनि पीडित छन् । बलात्कारबाट पीडितमध्ये जम्मा ८ प्रतिशतले मात्र न्याय पाउने गरेका छन् । चिलीमा १६ देखि ६५ वर्ष सम्मका ४० प्रतिशत महिलाहरूले घरेलु हिंसा भोगेका छन् । अब न्यायको लागि चिलीका महिलाहरू एक्लो छैनन्, उनीहरूलाई विश्व भरकै महिलाहरूले अभियान चलाएर साथ दिइरहेका छन् । ब्राजिल, अर्जेन्टिना, मेक्सिको लगायतका विभिन्न देशमा स्टेप डान्स गर्दै ‘बलात्कारी होस तँ’ गीत गाउँदै महिला हिंसा र अधिकारका लागि लडिरहेका छन् ।

बङ्लादेशी लेखिका तसलिमा नसरिनले ‘आइमाईको कुनै देश छैन’ उपन्यासकी मुख्य महिला पात्रलाई आफ्नो घरबाहिर स्वतन्त्रता होला भन्ने लाग्छ र उनले घर त्याग्छिन् । तर महिलाको लागि घरबाहिर पनि स्वतन्त्रता छैन । उनलाई लाग्छ, दक्षिण एसियाको सामाजिक संरचना पुरुषमैत्री छ । अनि उनले देशै त्याग्छिन् । उनी विकसित देशमा पुग्छिन् तर महिलाको अवस्था उस्तै पाउँछिन् । तब उनलाई लाग्छ, आइमाई जुनसुकै देश पुगोस्, उसलाई आइमाई हुनुको अवरोध झेल्नै पर्छ । आइमाई जहाँसुकै जाओस,् उ आइमाईबाहेक नागरिक नहुने रहेछ भन्ने ती पात्रले बुझेकी छन् । सरसर्ती हेर्दा देश फरक–फरक भएपनि विश्वभरका महिलाको पीडा एकै छ । त्यसैले त यो गीतले विश्वभरका महिला आन्दोलनलाई थप सिर्जनशील बनाएको छ । 

नेपालमा पनि पछिल्लो समय बलात्कारको घटना बढी सुनिन थालेको छ । दोषीलाई कारबाही गर्नुपर्छ भनेर विभिन्न माध्यमबाट आवाज उठिरहेका छन् । यस्तै बलात्कारका घटनाबाट पीडितहरूले न्याय पाउनुपर्ने लगायतका नारासहित प्रदर्शन गरिएको छ । प्रदर्शनमा  कालो कपडा र आँखामा कालोपट्टी बाँधेर यही गीत गाएका छन् । अझै कति सहने भन्ने मूल नाराका साथ ‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारा गुन्जाइ रहेका छन् । प्लेकार्ड सहित युवतीहरूले धिमे बाजाको आवाजमा ‘राज्य बलात्कारी होस् तँ’ भन्दै प्रदर्शन गरेका छन् ।

गीतमार्फत् पनि विरोध गर्न सकिने यो गीतले आन्दोलनमा सिर्जनशीतला थपेको अधिकारकर्मी रिता साहको बुझाइ छ । सबैले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भनेर वकालत गरिरहेका छन् तर यो समस्याको समाधान हो त ? उनी प्रतिप्रश्न गर्छिन् । मृत्युदण्ड दिने देशहरूमा पनि यस्ता घटना हुन छोडेको छैन । यस अभियानमा जोडिएकी प्रकृति भन्छिन्, ‘चिलीबाट सुरु भएको यो अभियानमा हामीले पनि ऐक्यबद्धता जनाएको हौं । यसलाई देशव्यापी बनाएर लाने सोच रहेको उनले जनाइन् । 

तल्लो तहबाट नै यौन शिक्षा दिने तथा प्रहरी र नागरिक समाजबाट बलात्कारविरुद्ध जनचेतना जगाउन आवश्यक छ । बलात्कारका घटनाको राम्ररी छानबिन हुनुपर्ने र बलात्कारीलाई केही समयपछि रिहा होइन कडा भन्दा कडा कारबाही हुनुपर्ने प्रकृतिको भनाइ छ । देशमा महिला राष्ट्रपति हुनुहुन्छ तर बलात्कारका घट्ना दिनानुदिन बढ्ेको छ । राष्ट्रपतिले यससम्बन्धि सम्बोधनलाई प्राथमितामा राख्न सक्नु भएको छैन । देशका महिलाले महिला राष्ट्रपति भएको वा उहाँको उपस्थिति महसुस गर्न नपाएको पनि उनको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप