सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत तारमा हिँड्ने व्यक्तिको उद्धार गर्न सेनालाई भनेका छौं : मन्त्री भुसाल

शनिबार, २८ जेठ २०७९, १० : ००
शनिबार, २८ जेठ २०७९

ऊर्जामन्त्री पम्फा भुसालले नुवाकोटमा त्रिशुली थ्री ए को प्रशारण लाइनमा हिँड्ने ब्यक्तिको उद्धारमा सहयोग गर्न नेपाली सेनालाई आग्रह गरेकी छन् । मन्त्री भुसालले विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गर्न आग्रह गरेकी हुन् ।

प्रसारण लाइनमा हिँड्ने व्यक्तिको उद्धारका लागि सेनालाई आग्रह गरिएको जानकारी दिँदै मन्त्री भुसालले सामाजिक सञ्जालमा लेखेकी छन् : ‘नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रशारण लाइनमा रहेका ब्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु । विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ । उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’

शनिबार बिहान ९ बजेदेखि बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक त्रिशुली थ्री ए प्रशारण लाइनमा हिँडिरहेका छन् ।  उनको उद्धारमा कठिनाई भएको छ ।  उनी मानसिक रोगी रहेको बुझिएको छ । भौगोलिक अवस्थाका कारण क्रेन प्रयोग गरेर उद्धार गर्न पनि कठिनाई रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले रातोपाटीलाई बताए ।  

उनले भने– ‘बिहानैदेखि प्रयास गरेका छौँ । मान्छे उद्धारकर्मीबाट भाग्ने, तर्किने गरिरहेको छ । मानसिक समस्यामा भएकाले पनि कठिनाई भयो । उ उद्धारको प्रतिक्षामा नभएर प्रतिकारमा रहेको छ । जिल्लाबाट थप जनपद र सशस्त्र प्रहरी टोली त्यसतर्फ पठाउँदैछौँ ।’ उनले स्थानीय प्रहरी तथा स्थानीय बासिन्दाले उद्धारको प्रयत्न गर्दा पनि सफल नभएको बताए ।

प्रमुख जिल्ला अधिकारी रिसालले भने– ‘त्यो ठाँउमा बाटो नभएकोले क्रेन लगेर उद्धार गर्न सम्भव छैन, हामी पोलमा गएर बोलायौं भने पनि तारैतार दगुर्छ । कुन विधिबाट कसरी उसलाई तल झार्न सकिन्छ त्यसबारेमा छलफल गरिरहेका छौँ ।’ झन्डै ८ घण्टादेखि विक विद्युत तारमा बस्ने तथा हिँड्ने गरिरहेका छन् । २ सय २० केभीको सो प्रशारण लाइनमा विद्युत आपूर्ति बन्द छ भने विद्युत प्राधिकरणले विद्युत उत्पादन समेत बन्द गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप