उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री नियुक्त
उत्तर कोरियामा पहिलोपटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कुटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेश मन्त्री बन्ने मौका पाएकी हुन् । यसअघि उपविदेश मन्त्रीको रुपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गरेकी हुन् ।
कूटनीतिक सेवाबाट आएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेकी थिइन् । उनलाई अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान छ । अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
उनले भनिन्, “मलाई लाग्छ, हाम्रो प्रस्तावलाई अस्वीकार गरेर अमेरिकाले सुनौलो अवसर गुमाएको छ ।” अन्य देशहरूसँगको विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएको र विदेशी कतिपय कुटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले विदेश मन्त्रालयको जिम्मेवारी उनले प्रभावकारी रुपमा निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ । –एएफपी