सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

ट्रफी लिएर स्वदेश फर्कन्छौँ : रुविना क्षेत्री

शनिबार, २८ जेठ २०७९, १५ : ३५
शनिबार, २८ जेठ २०७९

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोली मलेसियामा आयोजना हुने एसीसीमहिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ । कप्तान रुबिना क्षेत्रीले च्याम्पियनसिप नेपाली टोलीका लागि चुनौती पूर्ण भएको बताएकी छन् । रुबिनाले नेपाली महिला टोली ट्रफी नेपाल ल्याउन नसकेकोमा आफूमा चोट भएको भन्दै ट्रफी लिएर स्वदेश फर्किने प्रतिबद्धता जनाएकी हुन् । त्यसका लागि खेलाडीले गरेको र कमी कमजोरी सुधार गरेको पनि बताइन् ।

उनले भनिन्, ‘चुनौती अवश्य छ । वुमन्स क्रिकेटमा हामीले कुनै पनि ट्रफी ल्याउन सकेका छैनौँ । भन्नेले भन्दै गर्छ, सोध्नेले सोधिरहन्छ । तर हामी क्रिकेट खेलिरहेका खेलाडीमा यसको पिडा छ । कुनै समय धेरै मिहिनेत गर्दा के नमिलेको के नमिलेको हुन्छ । तर यसपालि सबै खेलाडीको मिहिनेत देख्दा हामीले राम्रो गर्छौँ भन्ने विश्वास लागेको छ । टिम खाली हात नफर्किने गरी प्रतिस्पर्धा गर्नुपर्नेछ ।

पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गरेको भन्दै प्रशिक्षक जगत टमाटाले टोली च्याम्पियन भएर स्वदेश फर्किने बताए । मलेसियामा आयोजना हुने एसीसीमहिला टी–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले नेपाली वर्षा यामलाई छल्दै अभ्यास गरिरहेको छ । मौसम प्रतिकुल भए पनि टोलीले अनुकूल अनुसार अभ्यासलाई तीव्रता दिइरहेको छ । पछिल्ला पटक सम्पन्न युगाण्डासँगको शृङ्खलामा भएका कमी कमजोरी सुधार गर्न टोली तल्लीन छ । सोही शृङ्खलापछि टोलीले मुख्यतया फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेको छ । मुख्य प्रशिक्षक जगत टमाटाले मौसम चुनौती भए पनि अभ्यासलाई निरन्तरता दिइरहेको बताए । फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहिनेत गरिरहेको बताए ।

उनले भने, ‘युगाण्डासँगको शृङ्खलापछि एक दिन बिराएर हामीले अभ्यासलाई निरन्तरता दिइरहेका छौँ । फिटनेस र फिल्डिङमा भएको समस्यामा केन्द्रित रहेर हामीले अभ्यासलाई जोड दिइरहेका छौँ । मौसम चुनौती भए पनि पानी नपर्दा मैदान उत्रिएर अभ्यास गरेका छौँ भने बर्षा हुँदा हामीले इन्डोरमा अभ्यास गरेका छौ । यति धेरै मिहिनेत हामीले नतिजाका लागि गरिरहेका छौँ ।  पाँच–पाँच घण्टा सधैँ अभ्यास गरिरहेका छौँ । जतिसक्दो राम्रो क्रिकेट खेलेर छनोट हुने लक्ष्य टिममा रहेको छ । यो बीचको अवधिमा हामीले ब्याटिङमा सुधार गर्नसकेका छौँ ।’

एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजना हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियामा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । आयोजकले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत नेपाल समूह बीमा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह एमा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन् । सहभागी टोलीमध्ये नेपाललाई चुनौती दिने हङकङ भएको प्रशिक्षक टमाटाको बुझाई छ । सन्तुुलित टोली नेपाली टोली बलियो पक्ष भएकाले प्रशिक्षक टमाटाले च्याम्पियन हुने विश्वास व्यक्त गरे ।

समूहको प्रतिस्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको प्रतिस्पर्धापछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एशियाकपमा छनोट हुनेछन् । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एशियाकप खेल्नेछन् । प्रतिस्पर्धामा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामना गर्दा तेस्रो खेल जुन २० मा बहराइनविरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङबिरुद्ध खेल्ने तालिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप