आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्न माग

शनिबार, २८ जेठ २०७९, १५ : ०४
शनिबार, २८ जेठ २०७९

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् । शनिवार नेपाल हिमाल सिमापार वाणिज्य संघको २२ औँ वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । 

उनले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीहरूले भारतको कोलकाता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । उपाध्यक्ष श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम घर,सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्ने बताउनु भयो । उनले लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग राखे । वाणिज्य महासंघको नेपाल चीन फोरमले पनि नाकाका समस्या समाधानको लागि पहल गर्ने उपाध्यक्ष श्रेष्ठले बताए । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यापार व्यवसाय र विशेष गरेर उद्योगहरूलाई केही प्रोत्साहन दिने भने पनि केही व्यक्ति विशेष र केही समूहलाई मात्रै प्रोत्साहन हुने गरी बजेट आएको बताए । सरकारले उद्योगी व्यवसायीहरूलाई पक्षपात ढङ्गले बजेटमार्फत कर तथा अन्तःशुल्क कायम गरेकाले व्यवसायीहरू सडक आन्दोलनमा रहेको श्रेष्ठको भनाई छ । 

त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले आयात नियन्त्रण वर्तमान समस्याको समाधान नभएको बताए । उनले सरकारले आयातलाई नियन्त्रण नभएर व्यवस्थापन गर्नुपर्ने बताए । सरकारले उपभोक्ताहरूलाई गुणस्तरीय सामान सस्तो र मूल्यमा प्रतिस्पर्धी वातावरणमा खरिद गर्ने सर्वमान्य अधिकार आयात नियन्त्रण गरेर हनन गर्न नमिल्ने दाबी वरिष्ठ उपाध्यक्ष अग्रवालले गरे । उनले आयात प्रतिस्थापन तत्काल छोटो अवधिमा सम्भव नभएको भन्दै दीर्घकालीन ठोस नीति र प्रतिस्पर्धी वातावरणले मात्रै आयात प्रतिस्थापन सम्भव भएको बताए ।

त्यस्तै नेपाली काँग्रेसका नेता मोहन बस्नेतले २०७२ सालको भूकम्पपछि बनेका कुनै पनि सरकारले नाकाको बारेमा उचित पहल गर्न नसकेको दाबी गरे । सरकारले नै चीन सरकारसँग कूटनीतिक पहल गर्न नसक्दा चीन नाकामा व्यवसायीहरूलाई सामान आयातमा समस्या रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप