बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुस्तक चर्चा : लोकप्रतिभा चिनाउने कृति

शनिबार, २८ जेठ २०७९, १२ : ०८
शनिबार, २८ जेठ २०७९

‘देउबहादुर दुरा ठाडो भाकाका लोकनायक’ कृति यमबहादुर दुराले तयार पारेका छन् । उनले इतिहासबाट लोप हुन लागेका लोकसाहित्य सर्जकका बारेमा खोज अनुसन्धान गरी तयार पारेको यो कृतिले देउबहादुर दुराको मात्र होइन, गण्डकी क्षेत्रमा प्रसिद्ध ठाडी भाकाको बारेमा पनि यथेष्ट जानकारी दिन्छ । यो कृतिमा मुख्यतः देउबहादुर दुराको जीवनी र लोकसाहित्य जागरणमा उनले खेलेको भूमिकालाई मिहिन रूपले केलाइएको छ । 

गण्डकीमा प्रसिद्ध लोकगीत ठाडो भाकाका गायक देउबहादुर दुराको जीवन वृत्तान्त भएकाले लोकोक्ति र लोकगीतमा हस्तान्तरण हुँदै आएको दुरा र उनको जीवनीलाई सोधखोज र अनुसन्धान गरी सिङ्गो कृति तयार भएको छ । यसभित्र देउबहादुर दुराका बाजे बज्यै तथा बाआमा, जन्म तथा मृत्यु, दाजुभाइ दिदीबहिनी, जिउडाल, पहिरन, जीवन सङ्गीनी, सन्तान, नृत्य शैली, बल, साङ्गीतिक भ्रमण, समकालीन गायिकाहरु, देउबहादुर दुराका गीत र उपसंहार गरी छुट्टा छुट्टै शीर्षक राखेर अनुसन्धान गरिएको छ । 

कृतिमा देउबहादुर दुराको लोकगायनको कलात्मकताका बारेमा मिहिन तरिकाले अनुसन्धान गरिएको छ । उनले गीतमा देखाएको चमत्कारपूर्ण कला र गला देखेर गीत सुन्न आउने तरुनीहरू हेरेका हेर्यै हुन्थे भन्ने लोक भनाइबाट उनका कला कस्तो थियो भन्ने पुष्टि हुन्छ । त्यही क्षमताका कारण उनी राणाको दरबारमा गीत गाएबापत मूल्यवान् भाँडाकुँडासमेत प्राप्त गरेका लोकोक्तिहरू अझै गण्डक क्षेत्रमा भेटिने कुरा कृतिमा उल्लेख छ ।   

देउबहादुर दुराको खास विशेषता र क्षमता भनेको गण्डकी भेगमा लोकप्रिय रहेको ‘ठाडो भाका’लाई लोकप्रियताको शिखरमा पुर्याउने व्यक्तित्वका रूपमा चित्रण गरिएको छ । ठाडो भाकालाई कतिपयले दुरा भाका पनि भनेको पाइन्छ तर यो लोकगीत भएकाले कुनै समुदायमा सीमित गर्न सकिदैन । किनभने कुनै एउटा गीत त्यो क्षेत्रमा रहने सबैले गाउने, गुनगुनाउने गर्छन् । तर, विशेष क्षमता भएको व्यक्तिले त्यसलाई हुर्काउने, बढाउने र सिर्जना विस्तार गर्ने गर्छ । त्यही काम देउबहादुर दुराले गरेका हुन् । 

लोक प्रचलित ठाडो भाकामा सुखदुःखमा मनको बह पोख्ने तमाम लोकगीत प्रेमी जनताको साझा माध्यम र साझा सम्पत्ति भएकाले यस क्षेत्रमा दुराका बारेमा भनिने र सुनिने लोक भनाइहरूलाई लिखित रूपमा ल्याउने कामलाई अवश्य राम्रो मान्नुपर्छ । 

देउबहादुर दुरा र पञ्च सुब्बा गुरुङ करापुको धुर्सेलो फेदमुनि बसेर केटा र केटी भई गीत गाउँथे भन्ने लोक भनाइहरू प्रचलित छन् । उनीहरू मायाप्रेमको गीत मात्र होइन, रामायण, महाभारताका गीत गाउँथे । यी दुई प्रतिभाले माछाको प्रकारको गीत पनि गाउँथे । त्यति मात्र हाइन, फूलका प्रकारबारे पनि गीत गाउँथे । उनीहरुले सिङ्गो इकोसिस्टमबारे गीत गाउँथे भनेर पुस्तकमा समेटिएको छ ।  कला, गला र बलमा अद्वितीय थिए भन्ने कुरा उनका ठाडो भाकाका प्रचलित गीतमै पनि पाइन्छन् । खस कुरामा पारङ्गत छँदै थिए, दुरा कसरा र गुरुङ कुरा पनि बोल्न सक्थे भनेर भाषिक ज्ञान उच्च रहेको चर्चा गरिएको छ । उनी इस्ट इन्डिया कम्पनीको सेनामा भर्ती भएर काम गरेकाले हिन्दी भाषाको ज्ञान थियो भन्ने भनाइ पनि छ । 

ठाडो भाकाको विकास र विस्तार हुने मुख्य स्थानका रूपमा मादी नदीको किनारमा अवस्थित कर्पुटारको नाम उल्लेखनीय देखिन्छ । यस स्थानले ठाडो भाकालाई मौलाउने उर्वर भूमि प्रदान गरेको थियो । कर्पुटार क्षेत्रमा शिवरात्रि र फागु पूर्णिमामा लाग्ने मेलामा गोरखा, लमजुङ, तनहुँ, कास्की लगायत जिल्लाबाट मेला भर्न आउनेहरूले ठाडीभाका गाउँथे । यस ठाउँलाई ठाडी भाकाको डबलीको उपमा दिएको पाइन्छ । 

कतिपयले ठाडो भाकालाई उभिएर गाउने भाका भने पनि छोटो लयमा चट्ट गाउन मिल्ने अर्थात् लय धेरै नघुमाई ठाडो तरिकाले सजिलैसँग गीत निकाल्न मिल्ने भाका भएको दावी लेखकको छ । रोदी घरमा रात कटाउन, मेलापातमा, गाउँघरमा पूजाआजा जस्ता धार्मिक तथा आध्यात्मिक जमघटमा नसुती रात कटाउन यस्ता भाकाका गीत आवश्यक परेर यो भाका अस्तित्वमा आएको देखिन्छ । ठाडो भाकाको दुइ नमुना ः

मगरले भन्छ इलाक रानी
गुरुङले भन्छ खो
अंश लिने बाउको, यो माया साहुको
घर कता पर्दो हो ।
.....
कवाचै खेल्ने टुँडिखेलको छेउछाउ
सिपाहीको लाइन 
नारानसिङको नाति र पुरनसिङको छोरा
देउबहादुरको बइन । 

ठाडी भाकाको छुट्टै विशेषता छ । यो भाका गाउँदा महिला र पुरुषको स्वर मिसिएपछि गीतमा मिठास आउँछ । यसले दर्शकलाई घत परेपछि उनीहरू ‘मार्यो,’ ऐय्या’ आत्थो जस्तो शब्द उच्चारण गर्दै उफ्रेझैँ गर्छन् । यसमा दर्शकको पनि सक्रिय सहभागिता हुन्छ । 

यो कृति करिब करिब ९० वर्ष पहिले नै देहान्त भइसकेका लोकगायक देउबहादुर दुराका बारेमा अनुन्धान गरिएको कृति भएकाले यसको ऐतिहासिक मूल्य छ । यद्यपि देउबहादुरका बारेमा कृष्णप्रसाद पराजुली, जनकवि धर्मराज थापा, मुक्तिनाथ घिमिरे, जगमान गुरुङ, कालीभक्त पन्त लगायतले लोक साहित्यको अध्ययनका क्रममा छिटफुट उल्लेख गरेका छन् । तर गहन तरिकाले उनको अध्ययन, अनुसन्धान गरी आम पाठकसमक्ष ल्याउने काम यमबहादुर दुराले गरेका छन् । 

लेखकले देउबहादुर दुराको बारेमा धेरै कुरा उल्लेख गरे पनि तस्बिरहरु ब्रिटिस लाइब्रेरी, बेलायत, भारतको राष्ट्रपति भवन लगायत केही ठाउँमा भए पनि प्राप्त गर्न नसकेको कुरा व्यक्त गरेका छन् । इतिहासबाट लोप हुन लागेका प्रतिभालाई गहन अनुसन्धानमार्फत आम पाठक समक्ष ल्याउने यमबहादुर दुराको यो कार्य प्रशंसनीय छ । इतिहासका गर्भमा पुगेका देउबहादुरलाई आमजनमानसमा प्रस्तुत गर्न यो कृति सफल छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप