बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

असारे झरी, नाबालक छोरा, विदेशको बसाइँ

शनिबार, २८ जेठ २०७९, ०७ : ४३
शनिबार, २८ जेठ २०७९

दस वर्षअघिको असार महिना । आकाशभरि कालो बादल, सिमसिम पानी परिरहेको थियो । सबै रोपाइँमा व्यस्त देखिन्थे । कतै पुरुषहरू आली लगाउन व्यस्त, कतै बीउको मुठा फाल्दै । त्यस दिन हाम्रो खेतमा पनि रोपाइँ थियो । 

हामी रोपाइँमा व्यस्त हुँदा अचानक खबर आयो, ‘तपाईंको भिसा लाग्यो’ । यो सुन्ने वित्तिकै मेरा हातखुट्टा कामझैँ भए । दुई वर्षे छोरालाई छोड्नुपर्ने भयो भनेर नरमाइलो लाग्यो । यत्तिकैमा नजिकै रोपारनी दिदीले ‘कति भाग्यमानी, लन्डन घुम्न पाउने भयौं’ भनिन् । तर मेरो मनमा कुनै खुसी थिएन । खुसी जति सबै हराएझैँ भयो । 

मैले सानो छोरालाई छोड्नुपर्छ भनेर कल्पना पनि गरेकी थिइनँ । बर्सेनि सयौँ महिला छोराछोरीका लागि भनेर दूधे बालबालिका छोडी विदेश गइरहेका छन् । उनीहरूलाई पनि मलाई जस्तै पीडा भएको होला । अब बाबुसँग समय बिताउने मसँग एक महिना मात्र बाँकी थियो । दिनहरू बित्दै गए, मेरो लन्डन जाने समय एक हप्ता बाँकी थियो । म घरपरिवारसँग बिदा भएर काठमाडौं माइतीघर गएँ । 

एक हप्ता सपिङ गर्दै बिताएँ । बाबुलाई उसका मन पर्ने ठाउँहरू घुमाए । बाबु पनि खुसी थियो । यसो गर्दागर्दै एक हप्ता पनि सकियो । सासू आमा बिदा गर्न गाउँबाट आउनुभयो । त्यस रात मलाई निद्रा परेन । परोस् पनि कसरी ? मेरो छोरा मेरो मुटुबाट छुट्टिँदै थियो । 

भोलिपल्ट भाइ, आमा, सासू आमा, बाबु सबैजना बिदाइ गर्न एअरपोर्ट पुगे । बाबु खुसी थियो । कहिले कता, कहिले कता दगुर्थ्यो । ममीले छाडेर टाढा जाँदै छ भन्ने उसलाई के थाहा ? बाबु ट्रलीमा चढेर खेल्दै थियो । यत्तिकैमा ट्रलीबाट लडेर ओठमा गहिरो चोट लाग्यो, रगताम्मे बन्यो । केही पलमै मैले बाबुलाई ट्याक्सीमा राखेर कान्ति बाल अस्पताल पुर्याए, जहाँ मामा डाक्टर हुनुहुन्थ्यो । मामालाई बाबु जिम्मा लगाएर आमाहरूलाई पनि त्यहीँ छाडेर, म एयरपोर्ट फर्किएँ । 

एयरपोर्ट छिर्ने समय भइसकेको थियो । भारी मन लिएर एयरपोर्ट छिरेँ । लुगा भरि बाबुको रगत लतपतिएको थियो । म न रुन सकें, न हाँस्न । कल्पना नगरेको समय क्रम भोग्नुपरेको थियो । 

लन्डन पुगेँ, अनौठो लाग्यो । श्रीमान् लिन आउनु भएको रहेछ । नयाँ ठाउँ अनि सुन्दर सहर लन्डन पुग्दा पनि खुसी हुन सकिनँ । टाउको जोडले दुखेको थियो । श्रीमान् छ महिना पहिला नै विद्यार्थी भिसामा आउनुभएको थियो । 

त्यसबेला पनि बाबु छोड्नु पर्ने पीडा खप्न नसकेर श्रीमान्सँगै गइनँ । तर के गर्नु स्टुडेन्ट भिसामा गएका सबैले हप्तामा २० घण्टा मात्र काम गर्न पाउँथे । डिपेन्डेन्ट भिसा भएकाले मात्र धेरै काम गर्न पाउँथे । मेरो भिसा काम गर्न पाउने थियो । पैसा कमाउनकै लागि प्यारो छोरा, परिवार र देश छोडेर गएकी थिएँ । गएको एक महिनासम्म काम गर्न सकिनँ । त्यसपछि इन्डियन स्यान्डविच उद्योगमा काम पाएँ । 

अब मेरो दैनिक काम गर्ने, रुम आउने, फेरि काममा जाने मात्र भयो । बाबुको यादले सताउँथ्यो । धेरै रुन्थेँ, निद्रा लाग्दैनथ्यो । काम गर्दा, स्यान्डविच बनाउँदा एक चिज हाल्नुपर्नेमा अर्को चिज हाल्दिदो रहेछु । सुपरभाइजरको गाली खान्थेँ, रुन मन लाग्थ्यो । 

एक दिनको कुरा हो, बच्चाहरू खेल्ने गार्डेनमा बाबुजस्तै एउटा बच्चा देखेर झस्किए । बाबु कहाँबाट यहाँ आयो ? कपडा पनि उस्तै छ । नजिक गएँ, अर्काको बच्चा रहेछ । निरास भएर बाबु सम्झिँदै रुँदै कोठा पुगेँ । 

‘फेरि आयो त्यो कालो रात निष्ठुरीको लिएर सम्झना ।’ यो गीत मलाई सारै मन परिरहेको थियो । बारम्बार यही गीत सुन्थे र रुन्थेँ । यो गीतमा आमा र छोराको अभिनय भएकाले होला मेरो मन छोएको थियो । त्यसो त मजस्तै अरू धेरै आमाहरूले त्यतिबेला आफ्ना साना छोराछोरी छाडेर लन्डन गएका थिए । उनीहरू पनि मजस्तै चटपटाउँथे । उनीहरूलाई देखेर चित्त बुझाउँथे ।  दिनहरू बिते, महिना बिते, वर्ष बित्यो । बाबु अहिले अलि ठूलो भयो होला सोच्थेँ त्यति बेला । अहिले जस्तो गाउँ गाउँमा इन्टरनेट थिएन । आमाले सहर लगेर स्काइपमा बोल्न लगाउनु हुन्थ्यो । बाबुसँग बोल्दा बोल्दै समाएर काखमा लिऊँ जस्तै हुन्थ्यो । 

श्रीमान्लाई बाबु लन्डन ल्याउन कर गर्थें । उहाँले ‘बाबुलाई यहाँ ल्याउन मिल्दैन, काम गर्ने कि बाबु हेर्ने ? हुँदैन’ भन्नुहुन्थ्यो । कहिलेकाहीँ त्यही कुरामा झगडा पथ्र्यो । निराश भएर चुप हुन्थेँ । छोराछोरी भन्ने चिज कस्तो अनौठो, एउटी आमाले सबै दुःखकष्ट सहन सक्ने तर छोराछोरी छोड्न नसक्ने रहेछन् । 

विवाहअघि महिलाका धेरै सपना हुन्छन् । विवाहपछि कतिपय महिलाको सपना टुटेको हुन्छ । मेरो टुटेको त भन्न मिल्दैन । विवाहअघि म पत्रकारिता गर्थें, पछि पनि गरेँ । करिब ८ वर्ष यो क्षेत्रमा विताएँ । तर, घरको आर्थिक अवस्था कमजोर भएका कारण विदेशिनु पर्ने बाध्यता पर्यो । अब मैले दूधे बालक र मेरो पत्रकारिताका माध्यमबाट समाजसेवा गर्ने सपनालाई त्यागेर पैसा कमाउन जानुपर्ने बाध्यता आयो । मलाई समाजसेवा गर्ने ठूलो धोको थियो । तर सपनाहरू त्यसै हराए । 

केही वर्षपछि नेपाल फर्कने सोच बनाएँ । बाबुको बाबा पोर्चुगल जानु भयो । मलाई बाबुको मायाको प्यासले छटपटी बनायो, अनि नेपाल आएँ । मलाई लिन बाबु  एअरपोर्ट आएको रहेछ । बाबु नजिक गएँ, ऊ लजाउँदै मसँग आयो । मलाई संसार जितेझैँ खुसी मिल्यो । मलाई कुनै दिन बाबु छोड्दाको दिन त्यही दिनजस्तै पीडा अहिले पनि हुन्छ । 

बरु आफ्नै देशमा जस्तोसुकै दुःख सहेर भए पनि नेपालमै केही गर्ने तर दूधे बालबालिका छोडेर विदेश नजानु भनेर सबैलाई बिन्ती गर्छु । अझ कतिपय दिदीबहिनी, दाजुभाइ काम र भाषा नजान्दा धेरै दुःख भोग्नु परेको घटना हामीले सुनेका छौँ । त्यसैले त्यस्तो दुःख भोग्नुभन्दा नेपालमै केही गर्नुपर्छ । अहिले सरकारले पनि कृषि र पशुपालनका लागि सहयोगार्थ रकम दिइरहेको छ । त्यसैले विदेश नजानु भन्न चाहन्छु । मैले जस्तै बाबु छोड्नुको पीडा अरू आमाहरूले भोग्न नपरोस् भनेर दिदीबहिनीहरुलाई सचेत पार्ने मेरो उद्देश्य हो । जानै परे पनि काम र भाषामा दक्षता हासिल गरेर राम्रो कमाइ गर्न सकिने ठूला देशमा जान सुझाव छ । 
अहिले पनि धेरै युवायुवती आफ्ना छोराछोरीको भविष्य सपार्न र उज्ज्वल भविष्यको कल्पना गरेर विदेशिएका छन् । बर्सेनि कयौँ जना त काठको बाकसमा फर्किएका दुःखदायी घटना छन् । यस्ता घटना भए भने छोराछोरीको भविष्य बन्नुको साटो झन् बिग्रिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप