बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : समृद्धिको आधार नै ऊर्जा

शुक्रबार, २७ जेठ २०७९, १६ : ०२
शुक्रबार, २७ जेठ २०७९

प्रतिनिधिसभामा विनियोजन विधेयक–२०७९ अन्तर्गत आज तीन मन्त्रालयका विविध शीर्षकमाथिको छलफल भइरहेको छ । बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका विभिन्न विषयमा छलफलमा सांसद शेरबहादुर तामाङले नेपालको समृद्धिको आधार नै ऊर्जा भएको बताए । 
      
उनले कूल जनसङ्ख्यालाई दुई हजार ८०० मेगावाट विद्युत् भए पुग्ने र बाँकी विद्युत् उत्पादन गरेर बेच्न सकिने उल्लेख गर्दै भने, “अर्बौं पैसाको भारतबाट विद्युत् किनियो र लोडसेडिङ कसले हटायो भन्ने जस लिनेमा होडबाजी गर्यौं, हामी अहिले दुई खर्बको ग्यास पेट्रोल, डिजेल खर्च भएको छ, त्यो पनि रोकिन्छ ।” सांसद तामाङले ऊर्जाका विषयलाई लिएर छिमेकी राष्ट्रसँग खटपट हुने गरेको उल्लेख गर्दैै मित्रराष्ट्र भारत, चीन वा अन्य राष्ट्र विकासका लागि आउँछन् भन्ने पनि सबैले मिलेर वातावरण बनाउनुपर्नेमा जोड दिए ।
      
उनले जनतालाई शतप्रतिशत विद्युत् निःशुल्क दिन सकिने र  त्यसका लागि अध्ययन जरुरी भएको तथा विद्युत् विकासका लागि राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने सुझाव दिए । सांसद देवेन्द्रराज कँडेलले नेपालीको गौरव र मुलुकलाई बलियो बनाउने ऊर्जा भएको र आपसी सहमतिमा भएको पानीको स्रोतको संरक्षण गर्नुपर्ने सुझाव दिए । उनले ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नारालाई कार्यान्वयन गर्नुपर्ने सुझावसमेत दिए । उनले राष्ट्रको समृद्धिका लागि जलस्रोतको उपयोग गर्न सक्नुपर्ने र विद्युतबाट सवारी साधन, खाना पकाउने काम पनि गर्न सकिने तथा विद्युत्बाटै सबै प्रकारका काम गर्न सकिनुका साथै पेट्रोलियम पदार्थ र ग्यास पनि खरिद गर्न नपर्ने बताए ।
      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप