शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘महिला आत्मनिर्भर हुँदा मलाई आत्मसन्तुष्टि मिल्छ’

शुक्रबार, २७ जेठ २०७९, १४ : ४८
शुक्रबार, २७ जेठ २०७९

लरक्क परेको कपाल भित्रभित्र फुले पनि अनुहारमा चमक छ । जोसजाँगर १६ वर्षेजस्तै छ । उमेरले आराम खोज्ने बेला भए पनि रामकली खड्का विपन्न तथा समस्यामा परेका महिलालाई तालिम लिने र रोजगार सिर्जना गर्ने कर्ममा ४७ वर्षदेखि निरन्तर उस्तै जोसजाँगरका साथ सक्रिय छिन् ।

रामकली खड्काको जीवनको सुरुवातमा धेरै ठुलो सपना थिएन । पञ्चायतको सामान्य जागिर खाने र जीवन चलाउने नै सोचेकी थिइन् । सोही सोच अनुरुप उनले २०२९ सालमा तत्कालीन श्री ५ को सरकारको ग्राम विकास नामक संस्थामा जागिर सुरु गरिन् । त्यसको एक वर्षपछि महिला प्रशिक्षण केन्द्रमा जागिरे हुँदै काठमाडौंबाट हुम्ला फर्किन् ।

हुम्लाबाट उनको सरुवा पोखरा भयो । प्रहरी सेवामा रहेका श्रीमानको पनि पोखरा सरुवा भयो । पोखरा आएपछि उनले यस क्षेत्रका धेरै ग्रामीण भेग डुलिन् । घुम्ने क्रममा उनले गाउँघरका महिलामा धेरै समस्या देखिन् । महिलामा पाठेघरको समस्या थियो । तर उनीहरु परिवारलाई त्यो कुरा बताउन सक्दैनथे । परिवारलाई स्वास्थ्य समस्या बताउन नसकेपछि उनीहरु रोग पालेर बस्न बाध्य थिए । आफै उपचार गराउन आउन पनि बस भाडा हुँदैनथ्यो ।

गाउँठाउँ डुलेर महिलाका समस्या सुनेपछि उनको मन भरङ्ग भयो । उनीहरुको सशक्तीकरणका लागि केही गर्नुपर्छ भन्ने सोच जन्मियो । सोही सोच बमोजिम २०३२ सालमा उनले आफ्नो मासिक तलब लगानी गरेर समस्यामा परेका विपन्न महिलाहरुलाई सिप सिकाउन सुरु गरिन् ।

यससँगै उनले महिलाहरुलाई प्रौढ शिक्षा दिने, परिवार नियोजन सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने लगायतका सेवा पनि दिइन् । उतिबेला गर्भवती महिलालाई पोषणको कमी भएर सानो आकारका बच्चाहरु जन्मन्थे । त्यो देखेपछि उनले पोषण कार्यक्रम पनि सुरु गरिन् । बालिकाहरू कमैमात्र विद्यालय जान्थे । उनीहरुलाई विद्यालय पठाउने अभियान सञ्चालन गरिन् ।

शारीरिक रुपमा कमजोर समाज र परिवारमा हेपिएका, कमजोर आर्थिक अवस्था भएका, अप्ठ्यारोमा परेका, उमेर पुगेर पनि बिहे हुन नसकेका महिलाहरु उनका ‘क्लाइण्ट’ हुन थाले ।

यस्ता कार्यक्रम सञ्चालन गरेपछि आफ्ना पीडा गुम्स्याएर बाँचिरहेका महिला खुल्न थाले । केन्द्रमा उनीहरुले आफ्ना समस्या बताउन थाले । समस्या पहिचान भएपछि उनीहरुको उपचार हुन थाल्यो । अहिलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यतिबेला साइनिङ अस्पतालको नामले चिनिन्थ्यो । आफ्नो केन्द्रमा सम्पर्कमा आएका महिलालाई सोही अस्पतालमा उपचार गर्ने व्यवस्था उनले मिलाएकी थिइन् ।

३० को दशकमा सानासाना कार्यक्रमबाट सुरु गरेको उनको अभियानले २०५१ सालमा औपचारिकता पायो । ०५१ सालमा महिला सिप विकास केन्द्र नामक संस्था दर्ता गरेर खड्का महिला सशक्तीकरणको क्षेत्रमा झन् सक्रिय भइन् । उनको संस्थामार्फत अहिलेसम्म देशका विभिन्न भेगका १८ हजार जना महिलाले सीपमुलक तालिम पाइसकेका छन् ।

तालिम प्राप्त महिलाहरु अहिले विभिन्न गार्मेन्ट तथा कम्पनीमा रोजगार छन् । केही महिला स्वरोजगार बनेका छन् । केही महिलाले नेपालमा सिकेको सिप विदेशमा समेत प्रयोग गरेका छन् ।

म्याग्दीकी चुमाया पुर्जाका खुट्टा चल्दैनन् । उनी घुँडा टेकेर भित्रबाहिर गर्छिन् । अपाङ्गता भएकै कारण उनले जीवनमा हुने उपलब्धिप्रति आशा मारेकी थिइन् । तर महिला सिप विकास केन्द्रमा गुडिया बनाउने तालिम लिएपछि उनले त्यहीँ रोजगार पाइन् । अहिले उनी केन्द्रको वरिष्ठ प्रशिक्षक हुन् । उनी मातहत अहिले २० जना महिलाले तालिम लिइरहेका छन् ।

पोखराको लेकसाइडकी शान्ति थापाले खड्काकै संस्थामा सिप सिकेर दुई छोरालाई उच्च शिक्षा दिलाइरहेकी छन् । उनका दुई छोरामध्ये एकजनाले मेडिकल साइन्स र अर्कोले इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । ‘यहाँको सीपले म र मेरो परिवारलाई व्यवस्थित बनाएको छ,’ उनले रातोपाटीसँग भनिन् ।

तनहुँकी नन्दा गुरुङले आमासहित आएर यहाँ तालिम लिइन् । तालिम पछि ६ महिना केन्द्रमा काम गरिन् । काम गर्दै जाँदा उनले अहिले क्यानाडामा छात्रवृत्ति पाएर अध्ययन अगाडि बढाइरहेकी छन् । उनकी आमा अहिले पनि केन्द्रमा कार्यरत छिन् । पोखराकै बाँझापाटनकी टीका गुरुङ पनि वैदेशिक रोजगारीमा छन् । उनले पनि खड्काकै केन्द्रमा तालिम लिएकी थिइन् । पोखराको घारीपाटनकी सरस्वती गुरुङले तालिमपछि आफ्नै व्यवसाय चलाएकी छन् ।

यी प्रतिनिधि पात्रहरु हुन् । उनीहरु जस्तै महिला सिप विकास केन्द्रमा तालिम लिएका महिलाहरु देश तथा विदेशमा आत्मनिर्भर भएको खड्काको दाबी छ । ‘जब तालिम लिएका महिला आत्मनिर्भर भएको देख्छु, सुन्छु, तब मेरो हृदय आत्मसन्तुष्टिले भरिन्छ,’ उनले भनिन् ।

उनको उत्पादनका ग्राहक भनेका विदेशी पर्यटक हुन् । पोखरा घुम्न आउने पर्यटक समूहले उनका सामान खरिद गर्ने गरेका छन् । नेपाली कच्चा पदार्थको प्रयोग गरेर उनको संस्थाले हस्तकलाका सामान उत्पादन गर्छ । ‘हामीले धागोमा लगाउने रङसमेत नेपाली जडिबुटीबाट बनाउँछौं,’ उनले भनिन् ।

अल्लो, हेम, बाबियो, मकैको खोसेला, पराल, केराको रेशा लगायतका बस्तु उनका कच्चा पदार्थ हुन् । पोखरा तथा नेपालको बजारमा उनका सामानको उति चर्चा नभए पनि विदेशमा भने उनका हस्तकलाका सामानको राम्रो बजार छ । यहाँबाट उत्पादित सामान अमेरिका अष्ट्रेलिया, युरोपियन मुलुकहरु, जापान, कोरिया, ताइवान, हङकङ लगायतका मुलुकमा निर्यात हुने गरेका छन् ।

महिलालाई सशक्तिकरण गर्न स्थापना गरेको संस्थाले वार्षिक चार करोडसम्मको व्यापार गर्थ्यो तर कोरोना महामारीका कारण अरु क्षेत्रजस्तै उनको हस्तकला पनि मारमा प¥यो । कोरोनाकाल अघि यो संस्थामार्फत ६ सय महिला रोजगार तथा स्वरोजगार थिए । कोरोनाका कारण अहिले मुस्किलले एक सय जनामात्रै छन् । ६ सय जनालाई रोजगारी दिने भनेर किनेका मेसिन तथा सामान अहिले स्टोरमा थन्किएका छन् । कोरोनाका कारण व्यापार स्वात्त घटेपछि उनको मन दोस्रो पटक अमिलो भयो ।

९ वर्षअघि उनको मन पहिलोपटक भाँचिएको थियो । सिर्जनाचोकमा साविकको पोखरा नगरपालिकाले दिएको जग्गा जिल्ला विकास समिति कस्कीले खोसिदियो । जिल्ला विकास समितिले जग्गामात्रै खोसेन, सिप सिकेर आत्मनिर्भर बन्ने करिब ३ सय महिलाको सपना पनि खोसिदियो । जग्गा खोसेपछि उनले त्यहाँको सर्वस्व लैजान जिविसलाई चुनौती दिइन् । उसले त्यहाँका सामग्रीसहित सबै सपना सडकमा छरपष्ट पारिदियो । तर उनले हार मानिनन् ।

सडकबाट उठेर धुलो टक्टक्याउँदै उनले सिर्जनाचोक भन्दा अलि माथि सिमलचौरमा श्रीमानका साथीको जग्गा भाडामा लिएर अहिले तालिम केन्द्र र हस्तकला उद्योग चलाइरहेकी छन् । उद्योग विस्तारसँगै उनले महिला सिप विकास वचत तथा ऋण सहकारी संस्था स्थापना गरेर केन्द्रका महिलाको आम्दानीलाई बचत गर्ने संस्कार पनि सिकाएकी छन् । सहकारीमा सबै कर्मचारी महिला नै छन् ।

हस्तकलाको व्यापारबाट आएको नाफाले उनले त्यहाँ काम गरिरहेका महिलाका बालबच्चालाई छात्रवृत्ति दिने गरेकी छन् । यसका साथै निःशुल्क सिप सिकाउने, विभिन्न विधामा तालिम प्रदान गर्ने गरेकी छन् । यद्यपि उनलाई एनजीओ खोलेर व्यापार गरेको आरोप पनि नलागेको होइन । उनी त्यस्ता आरोपलाई नजरअन्दाज गर्दै निरन्तर आफ्नो कर्ममा लागिरहेकी छन् ।

महिला सशक्तीकरणमा लागेका कारण उनलाई नेपाल सरकार उद्योग मन्त्रालयले २०७४ सालमा पुरस्कृत गरेको थियो । यसका साथै उनी देशका विभिन्न संघ संस्थाबाट पुरस्कृत भइसकेकी छन् । उनलाई वर्ल्ड फेयर ट्रेड अर्गनाइजेसन (डब्ल्युएफटीओ) ले दुई पटकसम्म अवार्ड प्रदान गरिसकेको छ । उनको संस्था त्यो अर्गनाइजेसनको सदस्य पनि हो । पुरस्कार पाएपछि उनले आफूलाई महिला सशक्तीकरणको क्षेत्रमा काम गर्न अझ हौसला मिलेको बताइन् ।

आफ्नो संस्थामा तालिम लिएका मात्रै होईन, जुनसुकै ढंगबाट भएपनि आत्मनिर्भर भएका महिला देख्दा उनको मन प्रफुल्ल हुन्छ । अनि देशमै केही उद्यम गरेका र सरकारी तथा गैरसरकारी क्षेत्रमा उच्च ओहोदामा रहेका महिलाप्रति गर्व लागेर आउँछ ।

आफ्ना प्रशिक्षार्थी सिप सिकेर विदेश गए पनि उनको चाहना भने त्यो जनशक्तिलाई देशमै रोक्ने हो । तर उनले भनेजस्तो भएको छैन । कसरीकसरी विदेश गइहाल्छन् । त्यसो त उनका तीनवटै छोराले नेपालमा व्यवसाय चलाउँछन् । उनीहरु तीनैजनाले विदेशमा अध्ययन गरेका थिए । ‘विदेशको शिक्षालाई नेपालको माटोमा प्रयोग गर्नुपर्छ भनेर मैले तीनवटै छोराहरुलाई नेपाल बोलाएँ,’ उनले भनिन्, ‘विदेशमा बस्ने अनि नेपाल बनेनमात्रै भनेर केही हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विभु भुसाल
विभु भुसाल
लेखकबाट थप