आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा शून्य समय : कसले के भने ?

शुक्रबार, २७ जेठ २०७९, १४ : १०
शुक्रबार, २७ जेठ २०७९

प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य मानन्धरले काठमाडाैं फोहोरमैलाको कारण अस्तव्यस्त भइरहेको बताए । उनले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरे । उनले फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति भएको मानिस चाहिने भन्दै त्यस्तो व्यक्ति आफु भएको दाबी गरे ।

उनले भने– ‘महानगरपालिकाको उम्मेदवारको रुपबाट मैले आकांक्षा गरेको थिएँ । तर उम्मेदवार बन्न पाएन । फोहोरमैलाको र काठमाडौँ अस्तव्यस्त, ध्वस्त भइरहेको छ । म सरकारसँग सभामुखमार्फत म एउटा माग राख्न चाहान्छु, मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस् भन्ने मेरो माग हो । आज एक महिना भइसकेको छ निर्वाचन सकिएको पनि र सरकार बनेको एक वर्ष भएको छ । यो फोहरमैलालाई व्यवस्थापन गर्नलाई एउटा इच्छाशक्ति भएको मान्छे चाहिन्छ त्यो भनेको म हो भन्ने मेरो दाबा छ । त्यसकारण सभामुखमार्फत सरकारलाई ध्यानाकर्षणसहित यो समिति बनाओस् भन्ने मेरो माग हो ।’

प्रतिनिधिसभा सदस्य विमला विकले किसानले मल पाउँछन् कि पाउँदैनन् भनेर सरकारलाई प्रश्न गरिन् । उनले सरकारले मल दिन नसके किसानले सीमा पारिबाट ल्याएको मल नखोस्न आग्रह गरिन् । उनले भनिन्– ‘म सरकारलाई सोध्न चाहान्छु किसानले मल पाउँछन् कि पाउँदैनन् ? यदि किसानले मल पाउँदैनन् भने किसानले टाउकोमा बोकेर सिमा पारीबाट ल्याएको मल खोसेर बहादुरी कमाउने काम नगरियोस् ।’

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेर व्यवसायीले तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताए । निर्माण क्षेत्रमा २५ प्रतिशतले महँगी बढेकाले निर्माणको काम अलपत्र भएको उनले बताए । आगामी आर्थिक वर्षको बजेट सिमित नेता, मन्त्री र प्रधानमन्त्रीको घरमा मात्रै गएको उनले टिप्पणी गरे । उनले भने, ‘सरकारले आज फेरि मट्टितेल र डिजेलमा मूल्य बढाएको छ । व्यवसायी तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएकोमा । अब महँगी झन बढ्ने भयो । यो पटक पनि पुँजीगत खर्च नहुने भयो । निर्माण क्षेत्रमा मात्रै २५ प्रतिशतले महँगी बढेको छ । निर्माणको काम अलपत्र । बजेट सिमित नेता मन्त्री र प्रधानमन्त्रीको घरमा मात्रै गएको छ ।’

प्रतिनिधिसभा सदस्य मीन विश्वकर्माले ललितपुर शंखमुलस्थित जगतगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई भर्ना नलिएको भन्दै आपत्ति जनाए । उनले गुरुकुलले भर्ना नलिएर शिक्षा र धर्म अवलम्बन गर्न पाउने हक हनन भएको र चरम जातीय विभेदको व्यवहार गरिएको बताए । उनले सो गुरुकुलका प्राचार्य तेजप्रसाद भट्टराईलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न र बालकहरूको शिक्षा दीक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरे ।

प्रतिनिधिसभा सदस्य रंगमती शाहीले मानव तस्करी गम्भिर समस्या बनेको उल्लेख गरिन् । उनले तस्करहरूको अन्तर्राष्ट्रियस्तरमा नै संगठित सञ्जाल बनेको बताइन् । तस्करहरूलाई नियन्त्रण गर्न सरकार असफल भएको उनको भनाई छ । उनले सरकारले प्रतिबन्ध गरेका मुलुकमा पनि अवैध रुपमा महिला कामदारहरु जाने गरेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले पूर्वपश्चिम विद्युतीय रेल मार्ग अन्र्तगतको काँकडभिट्टा–इनरुवा खण्डको लागि आवश्यक पर्नेभन्दा बढी जग्गा रोक्का गरिएको र काम पनि अगाडि नबढाइएकाले सो जग्गा फुक्का गर्न माग गरे । उनले भने– ‘पूर्वपश्चिम विद्युतीय रेल मार्ग अन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डका लागि आवश्यक पर्ने ६०५ हेक्टर जमिनका लागि ६०५ हेक्टर मात्रै होइन, सम्बन्धित कित्ताका सबै जग्गाहरू समेत रोक्का गरिएको छ । काम कुनै अगाडि बढेको छैन । त्यसको मुआब्जाका लागि मात्रै २५ अर्ब आवश्यकता पर्ने भनेर भनिन्छ । तर अहिले रकम १ अर्बको व्यवस्था गरिएको छ । यहि हिसाबले हो भने मुआब्जा दिदैँ जाँदाखेरी २५ वर्ष लाग्ने रहेछ । त्यसकारणले यो काम नहुने प्रयोजनको लागि यो जग्गा रोक्का राख्नुभएन । जग्गा फुक्का गरिदिनुपर्यो भन्ने म हार्दिक अनुरोध गर्न चाहान्छु ।’

प्रतिनिधिसभा सदस्य रेणुका गुरुङले संघीय संसद भवनको क्यान्टिनमा ढिलासुस्ती र लापरबाही हुने गरेको दुखेसो गरिन् । उनले पिउने पानी पनि सहज रुपमा नपाइने दुखेसो गरिन् । उनले भनिन्– ‘खानलाई क्यान्टिन गयो ढिलासुस्ती र खानेकुरा पकाइमा लापरबाही देखिन्छ । शौचालय गयो भुइँभरी पानी पोखिएको हुन्छ । पिउने पानी ठाउँमा गए कतै गिलास हुँदैन । कतै पानी हुँदैन । कतै तातोपानी हुँदैन । यो परिसरभित्र कुनैपनि स्थानमा घुमफिर गर्न सांसदलाई बन्देज हुनु हुँदैन । माननीय भनेको सबैले मान्नै पर्ने व्यक्ति भन्ने बुझिन्छ । सुरक्षाकर्मीहरु कसैले अभिनन्दन गरेको छ, कसैले गर्या छैन । लापरबाही गरेको छ ।’

उनले संसद भवनभित्र कुनैपनि स्थानमा घुमफिर गर्न सांसदहरुलाई बन्देज नगर्न आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप