शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

रातोपाटी : जनपक्षीयता पहिचान

शुक्रबार, २७ जेठ २०७९, १३ : २४
शुक्रबार, २७ जेठ २०७९

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो। यो नौ बर्षीय यात्रामा रातोपाटीले जनपक्षीय पत्रकारिता त गरेकै छ, जनपक्षीयताको पहिचान जोगाएरै अनलाइन पत्रकारिताको मूलधारमा स्थापित भएको छ। गिनेचुनेका कम्तिमा पाँच अनलाइनमध्ये रातोपाटीको पनि गणना हुनु यसको बृहत सफलता हो।  यो सफलताको आधार भनेको यसको विश्वसनीयता नै हो। संचार क्षेत्र तथ्यपरक सूचना, विश्लेषण, अनुसन्धान र आफ्नो अधिकार आवाजको स्रोत बनोस् भन्ने आम अपेक्षामा कुनै संचार माध्यम खरो उत्रिएको छ भने त्यो रातोपाटी हो। 

खासखास सन्दर्भमा संचारसँग समुदायको के अपेक्षा हुन्छ? यसबारे संचार जगत आफै घोत्लिनु जरुरी छ। र, कयौं सन्दर्भहरू संचार माध्यम स्वयंको मुल्यांकन हुने एक उचित अवसर भएर देखापर्छन्। यहाँ कुनै निरपेक्ष निष्पक्षताको कुरा मात्रै छैन, सापेक्ष मूल्य पद्धतिको कुरा पनि छ। कर्पोरेट संचार माध्यमले जेजस्ता व्यापार स्वार्थका मुद्दाहरू स्थापित गर्ने गरेका छन, त्यसले ती जनआवाज बोक्नुपर्ने आफ्नो दायित्वबाट विमुख भएको प्रतीत हुन्छ। कतिपय त घरानीयाका मुखपत्रका रूपमा देखिएका छन्। रातोपाटीले भने स्वार्थपरक संचार विकृतिबाट आफुलाई जोगाएको छ।

हामी चेतनाको कुन चरणमा गुज्रँदै गरेको समाजमा छौं र संचारमा ती चेतनाहरूलाई प्रस्तुत गर्ने, बुझ्ने र व्याख्या गर्ने सन्दर्भमा आग्रह वा पूर्वाग्रहहरू छन कि छैनन? भन्ने कुरा नै संचार माध्यमको मूल्यांकनको मुल कसी हो। सम्पादन, प्रस्तुति र स्तरीयता त्यससँगै आउँछन्। नेपाल एक बहुभाषिक, बहु सांस्कृतिक, बहु धार्मिक मात्रै होइन, राजनीतिक दृष्टिले पनि बहु वैचारिक विविधता भएको देश हो। यो विविधतालाई संविधानसम्मत पच्छ्याइएको छ कि छैन, बिकास अवधारणालाई प्रादेशिक वा सामुदायिक अपनत्व दिइएको छ कि छैन र त्यस क्रममा आएका अन्तर्विरोधहरूलाई स्वार्थपरक भएर बुझिँदैछ कि आग्रहहीन भएर? आजको नेपालमा यस प्रश्नको मानकमा नै संचार माध्यमको मुल्यांकन हुनुपर्छ। यसलाई खासखास सन्दर्भमा जुन रुपको आग्रही बिषय बनाएर प्रस्तुत गर्ने गरिएको छ, त्यो संचारको कर्मच्युत भूमिका हो। जसबाट रातोपाटी आज पर्यन्त जोगिएकै छ।

समाजको सबै विविधताको असर संचार माध्यममा पनि छ। हुन्छ पनि। तर आजको नेपालका सबै विविधताहरू संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा अभिव्यक्त भएको छ। संविधानमा केही असन्तुष्टि राख्नेहरूले पनि संविधानलाई मूलतः साझा ठानेका छन्। परिवर्तन र परिमार्जन गर्दै लानुपर्ने सोचेका छन्। संचारले भूमिका खेल्ने पनि सर्वस्वीकार्य संवैधानिक पद्धतिका लागि हो। साझा लोकतान्त्रिक पद्धतिका लागि हो। संचार माध्यमले यस मान्यता बाहिर देखिएर बिषय बढाइँचढाइ गर्नु आफैं प्रतिगामी पथको यात्री हुनु हो। राजनीतिक प्रतिगमनलाई त परास्त गरिसकेको समाज चेतनाले संचार प्रतिगमनलाई पत्याउने कुरा आउँदै आउँदैन।

त्यसैले हरेक सामाजिक, सामुदायिक र वैचारिक विविधतालाई स्वत: सम्बोधन गर्नु र त्यस परिवेशलाई वैज्ञानिक प्रगतिका लागि उत्साहित गर्नु संचार माध्यमको स्वधर्म हो। त्यसको एउटै सर्त समाजलाई अर्थराजनीतिक दृष्टिले बिश्रीङ्खल बनाउने वा प्रयोग भैसकेका हुकुमी राजनीतितिर डोहोर्‍याने धरातल निर्माण गर्ने भूमिका संचार माध्यमको हुँनुहुँदैन। खास समयमा बिषय विभक्त हुनेगरी गैर राजनीतिलाई राजनीतिसँग जोडेर परिस्थिति हुँडल्ने कर्पोरेट नियत संचार क्षेत्रमा समेत अस्वाभाविक रुपमा देखियो भने त्यो स्वार्थपरक पत्रकारिता हुन्छ। यस स्वधर्ममा पनि रातोपाटी खरो उत्रिएकै छ।

संविधानको समाजवादी लक्ष्य एउटा औपचारिक गन्तब्य हो। मुल कुरा चाहिँ समाजका सबै प्रवृत्तिहरू समाजवादको आधार बन्ने ढाँचाका सामुदायिक बिकास उत्तरदायीत्व पुरा गर्न दत्तचित्त छन त? भन्ने हो। मिडियाले 'वाचडग' भएर हेर्दा आजको दृश्यमा त्यसरी सबै दत्तचित्त छैनन्। राजनीतिक परिवर्तनलाई उल्ट्याउने, गतिशीलको सट्टा स्थिर बनाउनेहरू कोही अर्थहीन भ्यूटावरे बिकास संस्कृतिका बाहक छन् भने कोही बिकासलाई ब्यापारको स्वार्थमा मात्र बुझ्ने र लागु गर्नेहरू छन्। बिकास एक सामुदायिक अपनत्व हो र त्यसबाट स्रोतबिहीनहरूको आर्थिक जीवनमा परिवर्तन आउनुपर्छ भन्ने प्रवृत्तिलाई संचार जगतले चिन्न सक्नुपर्छ, बिकास चरणमा हेलिएको हाम्रो जस्तो देशमा। बिडम्बना चाहिँ आफुलाई अभिव्यक्तिका बाहक वा मूलधार हौं भन्ने संचार माध्यमहरू प्रवृत्तिगत रूपमा भ्यूटावरे ब्यापारिक विकासका बाहकहरूको प्रचार यन्त्र जस्ता भएर खडा छन्। तर, ती हामी नै समाजका आवाज हौं भनेर रमाइरहेका पनि छन्। रातोपाटीले जुन उद्देश्य लिएको छ र जुन धरातलसहित आफुलाई स्थापित गरेको छ, यथा माथापच्चिसीमा रमाउने छुट उसलाई छैन।

नेपाल जस्तो देशको आधारभूत रुपान्तरणका लागि सामुदायिक बिकास र उन्नत समाजवाद संस्कृति बोक्ने प्रवृत्तिको पहिचान आजको संचार आवश्यकता पनि हो। त्यस गुणको वैचारिक नेतृत्व निर्माणका लागि समुदायलाई उत्साहित गर्नुपर्ने दायित्व संचार माध्यमको पनि हो। तर आजको कतिपय 'मूलधार' र कर्पोरेट संचार माध्यमहरू दलाल पुँजीवादको ब्यापारिक र प्रतिगमनको गोलमटोल नेतृत्व निर्माणका लागि कस्सिएका छन्। यो अत्यन्तै दु:खद हो। संचार माध्यमहरू पुरानो राजनीतिको पुनरुत्थान र यथास्थितिको रक्षाकबच भएर प्रस्तुत हुनु ती स्वयंको विश्वसनीयता हराउनु हो। मुलुक कुन राजनीतिक अन्तरविरोधबाट गुज्रिएर आजको बिन्दुमा पुग्यो अनि स्थिर भनिएको लोकतान्त्रिक गणतन्त्रमा पुगेर पनि फेरि अस्थिरता र संकटकालको चक्रमा झन्डै धकेलिएको देशमा स्थिरता निर्माण गर्ने संवैधानिक बाटोको लय कसरी सम्भव भयो, संचार जगतले सजिलै बिर्सन मिल्ने कुरा यो होइन।

विविधतामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र व्यबस्थाबाट पछाडि फर्किने छुट संचार माध्यमहरूलाई त छँदैछैन। बरु यसबाट पनि अगाडि बढ्ने बाटो फराकिलो छ। विज्ञानको नियम पनि यही हो। उन्नत लोकतन्त्र भन्नु वैज्ञानिक लोकतन्त्र हो। अझ वैज्ञानिक समाजवाद हो। स्वार्थहरू यस नियमका बिरुद्ध हुनसक्छन्। तर चेतना र गति त बिज्ञानसम्मत नै हुन्छ नि! जसले जति 'प्रोभोक' गरेपनि संघीय लोकतान्त्रिक संचारको भूमिका भन्नु अग्रगमनको पक्षधरता लिनु नै हो। सामुदायिक बिकासको पक्षधरता लिनु नै हो। 

लोकतन्त्रलाई नाम मात्रैको देखाएर मुठ्ठीभरहरूको औपचारिक बनाउने कि आम समुदायको आर्थिक बिकासको आधार बनाउने? आम चेतना र खबरदारीका लागि यसमा बढी घोत्लिनुपर्ने संचार जगतले नै हो। आजसम्मको परिवर्तनको सैद्धान्तिक, वैचारिक आधार जोगाएर र समुदायगत स्वार्थमा एकाकार भएर अगाडि बढ्ने प्रवृत्ति र घटनाक्रमलाई पहिला संचार माध्यमले नै चिन्न सक्नुपर्छ। अनि चिनाउन सक्नुपर्छ। त्यसका लागि जनतालाई हरदम सुसूचित गर्न सक्नुपर्छ। कसैप्रति अविश्वास वा पूर्वाग्रह छ भने खुलेर 'यसकारण छ'  भन्न सक्नुपर्छ। तर आफ्नो कुत्सित स्वार्थका लागि आम सर्वसाधारणलाई गुमराहमा पार्नु हुँदैन। सधैं समुदायगत हित र बिकेन्द्रीत आर्थिक-सामाजिक-राजनीतिक-सांस्कृतिक प्रगतिको संचारकर्म गर्नु लेखेर जीविका गर्छौं भन्नेहरूको धर्म हो, हुनुपर्छ। 

यसधर्ममा सतिसाल झैं उभिएको रातोपाटी संचार माध्यममध्येको एक आदर्श हो। रातोपाटी र यसको टिमलाई सलाम छ। र, अनन्त यात्राको शुभकामना पनि छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवीदत्त शर्मा
देवीदत्त शर्मा
लेखकबाट थप