आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

त्यागेर इटालीको ग्रीनकार्डः नेपालमा आफ्नै कालिज पालनको ‘गार्ड’

शुक्रबार, २७ जेठ २०७९, १४ : ३४
शुक्रबार, २७ जेठ २०७९

२०५६ सालमा बुटवल उपमहानगरपालिका–९ मिलनचोकका बाबुराम श्रेष्ठ इटाली छिरेका थिए । त्यहाँ एक सुपर मार्केटमा काम गर्ने श्रेष्ठले आफू गएको दुई वर्षपछि श्रीमती र छोरालाई प्रक्रिया पुर्याएर इटालीमै बोलाएका थिए ।

इटालीमा १७ वर्षभन्दा बढी बसेको श्रेष्ठ जोडी अहिले बुटवल, मोतीपुरमा रहेको कालिज फर्ममा भेटिन्छन् । आफैले खोलेको कालिज फर्ममा श्रीमान् श्रीमती व्यस्त हुन्छन् । 

उनको परिवारलाई इटाली सरकारले अहिले पनि आउजाउको लागि अवरोध नहुने ग्रीनकार्ड जस्तै सिजिएन कार्ड दिएको छ ।  इटालीको सुविधा सम्पन्न ठाउँ छाडेर बुटवल उपमहानगरपालिका–१७ मोतीपुरस्थित कालिज फर्ममा गर्मीमा पसिना पुछ्दै कालिज रेखदेखमा खटिएका हुन्छन् । त्यो जोडीलाई अहिले इटालीभन्दा यहाँ रमाइलो लागिरहेको छ ।

इटालीयन साथीको काकाको कालिज फर्म देखेपछि  नेपालमा पनि कालिज फर्म चलाउन सकिन्छ भन्दै २०७५ सालमा श्रेष्ठ बुटवल आएका थिए, जुन बेला नेपालमा कालिज पाल्न प्रतिबन्ध थियो ।

कालिज फर्म खोल्न निकै प्रयास गर्दा सरकारी तवरबाट रोकतोक भएपछि उनी केही समयपछि इटाली नै फर्किए । संयोगले कालिज फर्ममा रुची राखेका काठमाडौंका एकजना साथी भेटिए । त्यसपछि काठमाडौंको दक्षिणकालीमा  फर्म सञ्चालन गर्ने योजना बनाएर फेरि नेपाल फर्किए । सामूहिक रुपमा लगानी भएको काठमाडौं फर्ममा धेरै प्रक्रिया मिलाएर सञ्चालन गरे, अनि सफल पनि भए । 

दक्षिणकालीको सफलतापछि श्रेष्ठले सुरुमै सपना बोकेको बुटवलमा कालिज फर्म खोले । गत वर्ष श्रीमती कवितालाई पनि नेपाल बोलाएर उनकै नाममा लुम्बिनी एबीआई क्लोनी एण्ड रिसर्च सेन्टर प्रालि नामक् फर्म स्थापना गरे । अनि, व्यावसायिक कालिज पालन सुरु गरे ।

कविताले इटालीमा  अपाङ्ग बच्चाको केयर गर्ने ठाउँमा १४ वर्ष काम गरिन् । अहिले उनी कालिजको बच्चा केयर गर्छिन् । उनीहरु आफै कालिजलाई दानापानी दिन्छन् ।  दुवै जनाको बसाइँ फर्ममै हुन्छ । उनीहरुसहित ७ जना कामदार बिहानदेखि रातीसम्म नै व्यस्त हुन्छन् । 

उक्त फर्ममा अहिले २५ सय कालिज छन् । इटालीमा मौसम आनन्दको थियो । सुपर मार्केटमा एसी लगाएर बस्न सकिन्थ्यो । तर, यहाँ पसिना पुछ्दै धुलो र हिलोमा आफ्नै कालिज पालनको काममा रमाएको बताउँदा बाबुराम श्रेष्ठको मुहारमा स्वतः मुस्कान छाउँछ । 

तालिमको लागि ९ महिना  फ्रान्स

नेपालमै पहिलो पटक दर्ता गरेर काठमाडौंमा व्यावसायिक रूपमा कालिज पालन गरेका श्रेष्ठले लगानीसँगै जोखिम पनि मोलेका थिए । त्यसैलाई मध्यनजर गर्दै कालिज पालनको लागि तालिम लिन जरुरी ठाने । नेपालमा कालिज पालन नै गर्न मिल्दैन भन्ने सरकारले तालिम दिने कुरै भएर ।  अनि उनी फ्रान्समा ९ महिना कालिज पालनसम्बन्धि तालिम लिन पुगे । 

श्रेष्ठले कालिजको अण्डा पनि फ्रान्सबाटै ल्याउने गरेका छन् । कालिज पालनको सम्भावना निकै देखेका ५२ वर्षीय उनी निकट भविष्यमा फर्मलाई अझ विस्तार गर्ने योजनामा छन् । ‘यहाँ कालिज बजारको कुनै अभाव छैन । सरकारले कालिज विदेश पठाउने नीति ल्याए भारत र चीनमा समेत पुर्याउन सकिन्छ ।’ उनी भन्छन् ।

बुटवलमा २०७८ वैशाखबाट सुरु भएको उनको फर्ममा अहिले मंगोलियन क्रस, अमेरिकन क्रसलगायतका कालिज छन् । यहाँ सुरुमा १० हजार अण्डा उनले फ्रान्सबाट ल्याएका थिए । त्यसमध्ये केही चल्ला बिक्री गरे भने ४६ सय आफ्नै फर्ममा राखेका थिए । 

एक बिघा ५ कट्ठा क्षेत्रफल रहेको उनको फर्ममा जग्गाबाहेक चल्ला र संरचनामा करिब डेढ करोड बढीको लगानी छ । श्रेष्ठले कालिजलाई चाहिने दाना आफ्नै सूत्रअनुसार लुम्बिनी एग्रो दाना उद्योग प्रालि बुटवलबाट उत्पादन गर्दै आएका छन् । त्यसबाहेक कालिजलाई चाहिने किरा उत्पादन गर्ने उनको सोच छ । फर्ममा ठाउँ भए पनि किरा विदेशबाट ल्याउन झन्झट भएको कारण गर्न नसकेको बताउँछन् । 

कसरी आकर्षित भए कालिज पालनमा ?

इटाली बस्दा सुपर मार्केटमासँगै काम गर्ने  साथीसँग एक दिन घुम्न निस्केका थिए श्रेष्ठ ।  साथीले घुमाउँदै आफ्नो काकाको कृषि फर्म लगेर कालिज फर्म  देखायौ । त्यसपछि नेपालमा पनि यस्तै कृषि फर्म गर्ने सोच बनाए उनले । त्यसपछि सँगै रहेकी श्रीमती र छोरासँग पनि सल्लाह गरेर नेपाल आए । बुटवल मिलनचोक घर भए पनि उनको बुटवल–१७ मोतीपुरमा जग्गा थियो । त्यसको सदुपयोग गर्दै कालिज फर्म खोल्ने योजना बनाए । 

नेपालमा पाल्न प्रतिबन्ध रहेको कालिज फर्म खोल्न पटक पटक कृषि मन्त्रालय धाए । प्रपोजल बनाएर मन्त्रालयमा फाइल लैजाँदा कालिज फर्म भन्दै प्रायः सरकारी अधिकारीहरुले हेर्न रुचाएनन् । 

पटक पटकको अनुरोधपछि एक उपसचिवले अध्ययन गरे । तर स्वीकृति दिन मानेनन् । उनले विगत स्मरण गर्दै भने, ‘अनि कालिज फर्म खोल्न नपाएपछि फेरि ६ महिनापछि इटाली पुगेँ ।’ संयोगले इटालीमा कालिज पाल्ने  रुचि भएका काठमाडौंका एक जनासँग उनको भेटघाट भयो । नेपाल आएर दक्षिणकालीमा एभेष्ट वाइल्ड लाइफ एग्रो रिसर्च सेन्टर स्थापना गरी कालिज पालन सुरु गरे । उक्त फर्म अहिले पनि समूहमा रहेको छ । श्रेष्ठ त्यो फर्मको प्रबन्धक निर्देशकका रुपमा छन् । 

नयाँ यात्रामा लागेको जोडी

कालिज पालन आफैँमा नयाँ व्यवसाय हो । श्रेष्ठ दम्पतीले सुरु गरेको  कालिज पालनको बारेमा सुरुमा बुझाउन निकै सकस भयो । अनेकौं संघर्षबाट अहिले विदेशबाट आयात गरिएका कालिजको व्यावसायिक पालन पछिल्लो समयमा फस्टाएको छ । अहिले नेपालका विभिन्न ठाउँमा कालिज पालन भएको छ । किसानहरु नयाँ भाले या पोथी क्रस गराउन पनि श्रेष्ठको सम्पर्कमा आउने गरेका छन् । उनले अहिले बुटवलबाट काठमाडौं, नारायणगढ, नेपालगन्ज, भैरहवालगायतका ठाउँमा कालिज पुर्याउने गरेका छन् ।

खास गरी काठमाडौंमा जाडो र दसँैका समयमा कालिजको माग धेरै बढ्ने गरेको छ । श्रेष्ठका  अनुसार दक्षिणकालीमा रहेको फर्ममा कुनै बेला कालिज किन्न सोर्स लगाएर आउनेहरु पनि थिए । काठमाडौंमा अहिले २ करोड लगानीमा ११ रोपनी जग्गामा उनीहरुको फर्म रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप