बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सीमान्तकृत समुदायका बालबालिका पढ्ने विद्यालयको मुहार यसरी फेरियो

अवसर पाएर पनि काठमाडौं पढ्न गएनन् विद्यार्थी
शुक्रबार, २७ जेठ २०७९, १४ : ३६
शुक्रबार, २७ जेठ २०७९

वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने एकमात्र विद्यालय हो पशुपतिनाथ माध्यमिक विद्यालय । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मा अवस्थित सो विद्यालयमा हाल १५ जना वनकरिया समुदायका बालबालिका अध्ययनरत छन् । चालु शैक्षिक सत्रमा मात्र सो विद्यालयमा १८ जना नयाँ बालबालिका अध्ययनका लागि थपिँदैछन् । करिव एक घण्टाको पैदल यात्रा गरेर वनकरिया समुदायका बालबालिकाहरु सो विद्यालयमा अध्ययन गर्न आउने गर्दछन् ।

विद्यालयबाट करिव ४ किलोमिटर खहरे खोलाको बगरमा यात्रा गरेपछि महनरी–४ वनकरिया बस्ती पुग्न सकिन्छ । सानो पानी पर्दा पनि सो क्षेत्रमा आवतजावत बन्द हुन्छ । खहरे खोलाको भेलले बाटो बन्द भएसँगै त्यहाँका विद्यार्थीको अध्ययन प्रभावित हुन्छ ।

सामान्य भेलले बाटो बन्द गर्दा पनि परिवारका ठुला व्यक्तिको सहयोगमा उनीहरु विद्यालय पुग्ने गर्दछन् । कतिपय अवस्थामा त उनीहरु विद्यायलसम्म खहरेसँगै जुध्दै पुग्छन् । वर्षा याममा उनीहरु विद्यालय कसरी पुग्ने भन्नेमात्र सोच्ने गर्दछन् । जसोतसो विद्यालयसम्म पुग्ने गरेका उनीहरुले खहरे कै कारणले विद्यालय छोडेका भने छैनन् ।

‘हामीले कहिल्यै कक्षा छुटाएनौं । पानी पर्दा बुबा, दाइहरुले खोला तारिदिनु हुन्थ्यो । परीक्षा भएको बेलामा पनि हामी आफै खोला तरेर जान्थ्यौं । भाइबहिनीहरुलाई पनि स्कुलसम्म पु¥याउँथ्यौं,’ यसै वर्षमात्र सो विद्यालयबाट एसइई दिएर नतिजा कुरिरहेकी आरती वनकरियाले भनिन् ।

कहिलेकाहीँ स्कुल छुटेर घर आउने बेलामा पानी पर्दा आफूहरु किताबकापी स्कुलमै राखेर घर आउने गरेको पनि उनले सुनाइन् । आरतीसँगै विष्णुमाया वनकरिया र सम्झना वनकरिया पनि एसइई परीक्षाको नतिजाको पर्खाइमा छन् । उनीहरु विद्यालयको अवस्थालाई स्मरण गर्दै भन्छन्, ‘पहिलेपहिले साथीहरुले जङ्गली भनेर हेप्ने गर्थे ।’

स्कुलमा साथीहरुले हेप्दा साह्रै दुःख लाग्ने गरेको विष्णुमाया बताउँछिन् । ‘हामी जङ्गलमा बस्छौं, गिठ्ठा, भ्याकुर खान्छौं । त्यो हाम्रो दोष होइन नि ! बसेको र खाएको आधारमा हेप्न मिल्दैन नि !’ विष्णुमायाले भनिन्, ‘पहिले त धेरै झगडा पनि पर्थ्यो । स्कुलमा पनि हामी थोरै संख्यामा थियौं तर, समस्या पर्दा हामी एकजुट हुन्थ्यौं ।’

उनले पछिल्ला दिनमा साथीहरुबाट हुने दुर्व्यवहारजन्य व्यवहार कम भएको अनुभव सुनाइन् । शिक्षक र अभिवावकहरुको सकारात्मक सहयोगबाट अहिले आफूहरु हेपिन नपरेको उनी बताउँछिन् ।

‘हामीले झगडा गर्दा सर, मिसहरुले गाली गर्नु हुन्थ्यो । हामीलाई भन्दा पनि अर्को साथीलाई चाहिँ बढी गाली गर्नुहुन्थ्यो । सर, मिसहरुले हामीलाई झगडा नगर भन्नु हुन्थ्यो । अनि अर्को साथीलाई चाहिँ त्यसरी हेप्ने, दुःख दिने काम गर्नुहुन्न भनेर सिकाउनु हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यसरी हेप्ने काम भएको छैन । हाम्रा भाइबहिनीहरुले ढुक्कले पढ्न पाउने वातावरण बनेको छ ।’

अचेल सबै विद्यार्थीबीच मित्रवत् व्यवहार बढ्दै गएको उनले बताइन् । ‘विद्यालयका साथीहरुले हामीले खाँदै आएको गिठ्ठा, भ्याकुर कस्तो हुन्छ भनेर जिज्ञासा राख्ने गर्छन् । अनि अनौठो मानेर हामीले खान मिल्छ भनेर सोध्ने गर्छन् । पहिलेपहिले गिठ्ठा खाएकै आधारमा साथीहरुले घृणा गर्थे तर अहिले त्यस्तो छैन,’ उनले भनिन् ।

सीमान्तकृत समुदाय वनकरिया, चेपाङ विद्यार्थीहरु अध्ययन गर्ने पशुपतिनाथ विद्यालयमा उनीहरुको क्षमता विकास गर्न रोटेशनमा साथी र बेञ्च परिवर्तनको नियम लगाइएको छ । एक व्यक्ति एक बेञ्च र एउटा साथीसँग एक पटकमात्र बस्न पाउने विद्यालयको नियम छ । जसले गर्दा कक्षामा सबै विद्यार्थीबीच मित्रताको भावना विकास हुने र सबैको क्षमताको मापन हुने विद्यालयको भनाइ छ ।

पछिल्लो समय विद्यालयको भौतिक संरचनाको विकासले आफूहरुलाई पढ्न सहज भएको सम्झना वनकरिया बताउँछिन् । विगतमा विद्यालयमा राम्रो भवन नहुँदा पढ्न सक्ने वातावरण नै नपाएको उनको भनाइ छ । घाम, पानी, हावाहुरीका कारण थुप्रै पटक विद्यालयमा पढाइ नै नहुने गरेको उनले बताइन् ।

‘अहिले त सबै बनेको छ । नयाँ बिल्डिङ पनि छ । खेल्ने ठाउँ पनि छ । पहिले त पानी पर्दा पनि पढाइ बन्द हुन्थ्यो । अहिले त्यस्तो छैन । अहिले त स्कुल गइहालौं जस्तो लाग्ने भएको छ,’ उनले भनिन् । कक्षा ६ मा अध्ययन गर्दा सम्झना र विष्णुमायालाई एउटा संस्थाको सहयोगमा काठमाडौंमै बसेर बोर्डिङ स्कुलमा अध्ययन गर्ने अवसर आएको थियो । उनीहरु त्यहाँ जान पनि तयार भए तर, गएनन् । उनीहरु भन्छन्, ‘यही स्कुलमा राम्रो हुँदै थियो । किन जानु ? आफ्नो घरमा बा–आमासँग बसेर यहीँ पढ्नु नै ठिक लाग्यो ।’

विद्यालयमा उनीहरु बाहेक अन्य १२ जना वनकरिया समुदायका विद्यार्थी अध्ययनरत छन् ।

यस्तो छ पशुपति माध्यमिक विद्यालयको कथा

चारैतिरबाट खहरे खोलाले घेरिएको छ पशुपति माध्यमिक विद्यालय । २०७४ सालसम्म सो विद्यालयको बिचबाट खहरे खोला बग्थ्यो । वर्षा याममा कक्षा कोठा जलमग्न हुन्थे । २०७४ को अन्त्यतिर त्यो अवस्थाबाट विद्यालयले छुट्कारा पायो । विद्यालयमा पर्खाल र नाला बनाएपछि खहरेको समस्या पूर्ण रुपमा समाधान भयो ।

अहिले विद्यालयसम्म पुग्ने बाटो स्ल्याव ढलान भएको छ । यसले विद्यार्थीहरुको आवत जावतमा सहज भएको छ ।

२०२७ सालमा स्थापना भएको सो विद्यालयले २०३२ सालमा मात्र सरकारी अनुमति पाएको थियो । स्थानीय पशुपति खड्काले पशुपति प्राइभेट पब्लिक स्कुलको नाममा खोलेको विद्यालयले २०३२ मंसिर १५ मा कक्षा ३ सम्मको सरकारी अनुमति प्राप्त गरी अध्यापन गराउन थालेको हो । स्थापनाकालदेखि २०३४ सम्म पशुपति खड्काको अध्यक्षतामा विद्यालय संचालन भएको थियो । २०३९ सालमा कक्षा ४ सम्म र २०४०÷०४१ मा कक्षा ५ को अनुमति प्राप्त गरेको यो विद्यालयले ग्रामीण भेग तथा सीमान्तकृत वनकरिया, चेपाङ लगायतका समुदायका बालबालिकालाई शिक्षा प्रदान गर्दै आइरहेको छ ।

विद्यालयको स्थापनाकालदेखि २०५५ सालसम्म प्राथमिक तहको शिक्षा प्रदान गरिरहेको विद्यालयले २०५६ मा कक्षा ६ को अनुमति प्राप्त गरी निम्न माध्यमिक तहसम्मको अध्ययापन सुरु गरेको थियो ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै जाँदा विद्यार्थीको चाप बढ्यो । जसका कारण सो विद्यालयमा माध्यमिक तहसम्म सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी अनुमतिका लागि जिल्ला शिक्षा कार्यालय मकवानपुरमा २०६४ मा पहल भएको थियो ।

विद्यालयले २०६५ देखि कक्षा ९ र २०६६ देखि कक्षा १० को अनुमति प्राप्त गरी हाल माध्यमिक तहसम्मको कक्षा सञ्चालन गरिरहेको छ ।

विद्यालयमा साविकको हाँडीखोला गाविस वार्ड नम्बर ६ र ७ (हाल मनहरी गाउँपालिका वडा नम्बर–३ र ४) का बालबालिका अध्ययन गर्न आउने गरेका छन् । विद्यालयमा दलित, आदिवासी जनजाति, चेपाङ, तामाङ, दनुवार, राई, लोपन्मुख तथा सीमान्तकृत जाति वनकरिया तथा विपन्न वर्गका बालबालिका अध्ययन गर्दछन् ।

विद्यालय आउने बालबालिकालाई राज्यले विद्यालयमा दिवाखाजाको व्यवस्था गरिएको छ ।

२०७२ को विनाशकारी भूकम्पका कारण विद्यालयको भौतिक संरचनामा समेत क्षति पुग्यो । जसले गर्दा शैक्षिक क्रियाकलापमा समेत समस्या भयो । भूकम्पको असरका कारण २०७४ सम्म विद्यायलयमा कम्पाउण्ड वालको अभाव, खेल्ने चौर, खेल सामग्रीको अभाव, शुद्ध पिउने पानीको अभाव, शौचालयको अभाव देखियो । विद्यार्थीहरु पानी पिउनकै लागि धारो र कुवा खोज्दै जानुपर्ने बाध्यता देखियो भने शौचालयका लागि पनि उस्तै समस्या देखियो ।

अध्यक्ष गौतमको पहलले भयो परिवर्तन

२०७३ माघमा विद्यालयको नयाँ व्यवस्थापन समिति चयन भयो । नयाँ व्यवस्थापन समितिको पहलमा थुप्रै सुधार भयो ।

२०७३ सालमा चुनिएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतम स्कुल खोलेदेखि बन्द हुँदासम्म विद्यालयमै हुन्छन् । उनी बिहानै विद्यालय छिर्छन् अनि आफ्नो दैनिकी विद्यार्थीसँगै बिताउँछन् । एक छोरा र एक छोरीका अभिभावक गौतम हाल दोस्रो कार्यकालका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्षका लागि चुनिएका छन् ।

पहिलो कार्यकालका लागि उनले स्थानीय अभिभावकको सल्लाहमा विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी लिएका थिए । उनले विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी दिए लगत्तै पहिलो कामको रुपमा विद्यालयको गेट र पर्खाल निर्माणमा जुटे । गेट र पर्खाल नहुँदा विद्यार्थीहरु यत्रतत्र जाने र खहरे खोलाको असर पनि प्रत्यक्ष पर्ने गरेको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिमा आउनुपूर्व उनी अगुवा कृषकको रुपमा थिए । उनी जडीबुटी उत्पादक कृषकहरुको जिल्लास्तरीय नेतृत्वमा रहेर काम गरिसकेका थिए । उनी विपद् व्यवस्थापनको जिल्ला संयन्त्रको सदस्यसमेत हुन् । उनले स्थानीयस्तरमा जडीबुटी खेतीलाई प्रवर्द्धन गर्न कुरिलो खेती, कफी खेती, घ्यू कुमारी खेतीसमेत गरे । ती सबैमा उनलाई असफलता मिल्यो ।

सोही क्रममा उनी वैदेशिक रोजगारमा पनि गए । उनी वैदेशिक रोजगारीकालागि सिंगापुर पुगे तर, ४ महिनामै फर्किए । त्यसपछि उनले काठमाडौंमा होटल व्यवसाय सुरु गरे । त्यसमा पनि उनी सफल हुन सकेनन् । होटलमा असफल भएपछि उनी पुनः गाउँ फर्किए र २ वटा टिपर किने । केही समय सञ्चालन गरेपछि उनले सो व्यवसाय पनि छोडे ।

उनी भन्छन् ‘म व्यवसायमा असफल भएको मान्छे । जग्गा बेचेर छोराछोरीलाई शिक्षा दिएँ । अहिले आ–आफ्नो काममा लागेका छन् । मलाई दैनिक खर्चबापत छोराले व्यवस्था गरिदिएको छ । मेरो अरु कुनै काम छैन, खेतीपातीमा घर परिवार लागेका छन् । अधिकांश समय विद्यालयमै बस्छु ।’

२०७३ सालमा आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनु पूर्व विद्यालयमा एक कार्यक्रम आयोजना भएको उनले स्मरण गराए । सो कार्यक्रममा जिल्ला विकास समितिका एक कर्मचारीले उनलाई घर नजिकको विद्यालय सुधार गर्न र त्यसको विकासमा लाग्न प्रेरित गरे ।

तर, गौतमले जवाफमा ती कर्मचारीलाई आफ्नो जिम्मेवारी नभएको बताए ।

‘त्यसपछि उहाँले भन्नुभएको थियो– यो स्कुल तपाईको हो । स्कुल नजिकको चोक तपाईको हो । हरेक दिनको क्रियाकलाप तपाईको यही स्कुल र चोकसँग जोडिएको छ,’ उनले ती कर्मचारीले त्यतिबेला आफूलाई भनेको सुनाए ।

ती कर्मचारीको यस्तो जवाफपछि आफ्नो सोच परिवर्तन भएको र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेको उनको भनाइ छ ।

उनी अध्यक्ष बनेपछि हरेक दिन विद्यालय सरसफाई, पानी संकलन, शौचालय सरसफाईमा बित्न थाल्यो । उनको काम देखेर विद्यार्थी, शिक्षक र अभिभावकले पनि सघाउन थाले । उनले विद्यालय व्यवस्थापन समितिको बैठकमा पनि सामूहिक सल्लाहमा निर्णय लिने पद्धति सुरु गरे । जसले उनलाई विद्यार्थी र अभिभावक माझ लोकप्रिय बनायो ।

उनले विद्यालय सुधारका लागि थुप्रै पहल गरे । थुप्रै असफलता पनि उनले एसियाली विकास बैंकको सहयोगमा तीन तले प्रविधियुक्त भवन निर्माणका लागि बजेट हात पारे । लगातारको प्रयासपछि प्राप्त भएको बजेटबाट उनले तीन तले सुविधा सम्पन्न भवन, अपाङ्ग मैत्री शौचालय, शुद्ध पिउने पानीका लागि फिल्टर जडान गरे । सोही बजेटबाट भूकम्पबाट क्षति पुगेको विद्यालयको ३ वटा भवनमा रेट्रो फिटिङ लगायतको काम जारी छ ।

विद्यालयमा प्रविधि मैत्री शिक्षण सिकाईका लागि सरकारी क्षेत्रमा पहल गरिरहेको उनले बताए । विद्यालयमा सीसीटीभी जडान गर्ने योजना अनुसार काम भइरहेको उनको भनाइ छ । उनले विद्यालयमा भेदभावरहित शिक्षण सिकाईलाई प्राथमिकता दिएका छन् ।

हरेक दिन विद्यालय पुगेपछि उनी हरेक कक्षा कोठामा पुगेर विद्यार्थीहरुको अवस्था अवलोकन गर्छन् । विद्यार्थीको अवस्था अनुसार काउन्सिलिङ गर्ने, अनुपस्थित रहेका विद्यार्थीको घरमै पुगेर अभिभावकसँग सोधखोज तथा सल्लाह गर्ने उनको दैनिकी नै बनेको छ ।

विद्यालयमा अध्ययनरत छात्राका लागि उनकै पहलमा सेनेटरी प्याडको स्टक पनि बनाउने काम गरिएको थियो । हाल स्थानीय तहले नै सेनेटरी प्याडको व्यवस्था गर्न थालेको छ । उनले विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यार्थी प्रतिनिधिले ल्याएका योजनाहरुलाई पनि सम्बोधन गर्ने गरेका छन् । उनी स्वयं विद्यार्थीको मागका बारेमा ठुला कक्षाका विद्यार्थीहरुलाई आपसमा बैठक सञ्चालन गर्न र त्यहाँबाट आवश्यक योजनाहरु माग गर्न सिकाउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप