बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदमा जानकारी दिन आग्रह

शुक्रबार, २७ जेठ २०७९, १२ : ५३
शुक्रबार, २७ जेठ २०७९

प्रतिनिधिसभा सदस्य डा.सूर्यप्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय माग गरि बोल्दै सांसद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका नेताले नै आशंका गरिरहेको उल्लेख गर्दै सो भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका हुन् ।

उनले नेपाललाई सैन्य गठबन्धनमा प्रवेश गराइने हो कि भन्ने आशंकाहरु उब्जिएको बताए । उनले राष्ट्रिय स्वाधिनता र नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय भएकाले प्रधानमन्त्रीले संसदबाट आम जनतालाई जवाफ दिनुपर्ने उनको भनाई छ ।

उनले भने– ‘खासगरीकन उहाँको आशंका के थियो भने नेपालका प्रधानसेनापति अमेरिकाको भ्रमणमा जाँदै हुनुहुन्छ । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री अमेरिकाको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको आशंका अनुसार त्यो अमेरिकाको भ्रमणमा स्टेच पार्टनरसीप प्रोग्राम अन्तर्गत नेपाल समावेश हुने पो हो कि, त्यसमा समावेश भो भने उहाँको भनाई अनुसार नेपाल सैन्य गठबन्धनमा प्रवेश गर्नेछ । नेपाल सैन्य गठबन्धनमा प्रवेश गर्ने भनेको पश्चिमा सेनाहरु नेपालमा उपस्थित हुनु हो । पश्चिमा सेनाहरु नेपालमा उपस्थित हुनु भनेको भविष्यमा नेपाल कतै दोस्रो युक्रेन त हुने होइन भन्ने प्रकारका गम्भिर आशंकाहरु उहाँले व्यक्त गर्नुभएको छ । सत्तारुढ गठबन्धनको प्रमुख घटकको प्रमुख नेताले यस्तो आशंका व्यक्त गरिसके पछाडि भित्रभित्रै गम्भिर प्रकृतिका षड्यन्त्र त भएका छैनन् भनेर हामी असाध्यै चिन्तित छौँ । मलाई लाग्छ देश पनि चिन्तामा छ । यस्तो अवस्थामा यो गम्भिर विषय हो । राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय हो । नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय हो । यस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयम् उपस्थित भएर रोष्टमबाट संसदलाई, आम जनतालाई जानकारी गराउनुपर्छ । विषयवस्तु खास के हो ? यो म जोडदार माग गर्दछु ।’

प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले महोत्तरी र सर्लाही जिल्लामा मिटरव्याजीहरुले स्थानीयलाई ठगी गरिरहेको उल्लेख गर्दै मिटरव्याजीहरुलाई कारबाहीको माग गरे । उनले यो वर्ष सरकारले अपराधको सूचीमा मिटरब्याजीलाई पनि सामेल गरेको उल्लेख गर्दै यसको लागि कानून, प्रहरी, प्रशासन र अदालत सबै तयार भइनसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए । उनले मिटरब्याजी विरुद्धको आन्दोलनलाई राष्ट्रिय विषय बनाउने सर्लाहीका डाचाराज वाग्लेको प्रतिगमन विरोधी आन्दोलनको क्रममा रहस्यमय मृत्यु भएको र सरकारले राम्रोसँग अनुसन्धान नगरेको भन्दै उच्चस्तरीय अनुसन्धान गर्न माग गरे ।

प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं. ९ मा अवस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वर खनाललाई सोही वडाका नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष इन्द्रबहादुर लिम्बुले निर्ममतापूर्वक कुटपिट गरेको भन्दै दोषीउपर कारबाहीको माग गरे ।

प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनीले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ ढुंग्रे भञ्ज्याङको नेत्रबहादुर खाँणको घरमाथि पहिरो आएर घर पुरिएको भन्दै उद्धार गरी खाँणको ज्यान बचाउन सरकारको ध्यानाकर्षण गराए । उनले सोही गाउँपालिकाको वडा नं. ६ मा पनि वर्षाका कारण स्थानीय घरमै थुनिनु परेकाले उनीहरुलाई पनि उद्धार गर्न अनुरोध गरे ।

प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले स्थानीय तह निर्वाचनका लागि गाउँ गएको बेलामा आफुमाथि गठबन्धन दलका कार्यकर्ताहरूले आक्रमण प्रयास गरेको भन्दै दोषी उपर कारबाहीको माग गरे । उनले २७ वर्ष अघिदेखि आफ्नो परिवारमाथि हिंसा भइरहेको बताए ।

उनले आफूसहित आफ्नो वृद्ध आमालाई समेत दुव्र्यवहार भएको उल्लेख गर्दै न्याय दिन सरकारसँग माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप