शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

गोरखामा बाढी–पहिरोले घरमा क्षति, सडक अवरुद्ध

शुक्रबार, २७ जेठ २०७९, १२ : ०५
शुक्रबार, २७ जेठ २०७९

लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्याएको छ ।  बाढी र पहिराले १० घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका–६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो । अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार–९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।

त्यस्तै सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति राना लगायतको घरमा पहिराले क्षति पुर्याएको प्रहरीले जनाएको छ । छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिराले पनि चार घर उच्च जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् । 

उखुबारीमा स्थानीय जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको छ । पालुङ्टार–९ जोगीबेंसीमा राममाया कुँवरको घर पनि खहरे खोलाले क्षतिग्रस्त बनाएको छ । बाढीले जोगीबेंसीदेखि बिर्दीसम्मको करिब तीन हजार रोपनीभन्दा बढी खेत बगरमा परिणत भएको स्थानीयको भनाइ छ ।

यता गोरखाको बारकिलो–छेवेटार–भालुस्वाराँ–बारपाक सडक खण्डमा पहिरोले क्षति पु¥याएको प्रहरीले जनाएको छ । सिरानचोक गाउँपालिका ७ र ८ मा पर्ने बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप