शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दाङमा स्थानीयवासीको अवरोधले हुलाकी राजमार्ग निर्माण सुस्त

शुक्रबार, २७ जेठ २०७९, ११ : २०
शुक्रबार, २७ जेठ २०७९

तराईलाई द्रुतमार्गबाट केन्द्रीय राजधानीसहित अन्य विकसित शहरसँग जोड्दै तराई क्षेत्रको आर्थिक तथा सामाजिक विकास टेवा  उद्देश्यले नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा पूर्व–पश्चिम तराई हुलाकी राजमार्ग निर्माणको योजना तय ग¥यो । राजमार्ग अन्तर्गत दाङको भालुवाङ कालाकाटेदेखि राजपुरको खोकरीसम्म ७० किलोमिटर सडक निर्माणका लागि हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्ज बाँकेले सर्भे ग¥यो ।

पहिलो चरणमा कालाकाटेदेखि गढवासम्म र गढवादेखि राजपुरसम्म ६०/६० करोडमा २०/२० किलोमिटर सडक निर्माणको काम ०७६ कार्तिकदेखि सुरु भयो । निर्माण सुरु भएको ३६ महिना अर्थात ०७९  कार्तिक ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । तर कालाकाटेदेखि गढवासम्म ३० र गढवादेखि राजपुरसम्म ५५ प्रतिशतमात्रै निर्माण सम्पन्न भएको छ । बाँकी ५ महिनामा कालाकाटेदेखि गढवासम्म ७० र गढवादेखि राजपुरसम्म ४५ प्रतिशत निर्माण सक्नुपर्ने छ । निर्माण सम्पन्न गरिसक्नुपर्ने समय नजिकिँदै आइरहे पनि निर्माणको काम निकै सुस्त छ ।

राजमार्ग निर्माणको काम छिटो छरितो सम्पन्न भए दाङको दुर्गम तराई क्षेत्र गढवा र राजपुरको आर्थिक तथा सामाजिक विकाससँगै सहज यातायात सेवाको पहुँच पुग्ने आशामा सर्वसाधारण छन् । तर निर्माणको काम छिटोछरितो हुन नसक्दा सर्वसाधारणहरू हुलाकी राजमार्गबाटै नेपालगञ्ज, बुटवल, काठमाडौं जाने रहर परपर सार्दैछ । राजपुर गाउँपालिका–३ श्यामसुन्दर चौधरीले भने, ‘हुलाकी राजमार्ग बने लमही घोराही दुध, तिउन तरकारी बेच्न जानुपर्ने बाध्यता टर्थ्यो । गाउँमै गाडीघोडा ल्याई नेपालगञ्ज बुटवलका व्यापारी घरमा आउँथे ।’

तर राजमार्ग निर्माण ढिला हुँदा मोटर चढ्न पाउने आश लम्बिदै गएको उनले सुनाए । सडक निर्माणको काम सुस्ताउँदा सर्वसाधारण निराश हुनु परेको उनी बताउँछन् ।

कतै बन्दै, कतै बन्द

हुलाकी राजमार्ग अन्तर्गत दाङको कालाकाटेदेखि राजपुरको खोकरीसम्म ७० किलोमिटर रहे पनि अहिले कालाकाटेदेखि राजपुरसम्म ४० किलोमिटर सडक निर्माणको काम भइरहेको छ । ४० किलोमिटर सडक निर्माणको काममध्ये मटरिया, भैसहवा र खरदरियामा स्थानीय अवरोधका कारण निर्माणको काम बन्द छ । स्थानीयले अवरोध पुर्याउँदा सडक निर्माण प्रभावित भएको हुलाकी सडक निर्माण योजना कार्यालयको भनाइ छ ।

कार्यालयका इन्जिनियर सुनिल कुमार गुप्ताका अनुसार कतै ह्युमपाईप, कतै सर्भे डिजाइन र कतै नक्साङ्कनका विषयमा स्थानीयले अवरोध गर्दा सडक निर्माणको काम प्रभावित भइरहेको हो । स्थानीयवासीले स्वार्थ अनुकुल विषय उठाउँदा सडक निर्माण प्रभावित भइरहेको उनको भनाइ छ । गुप्ताले भने, ‘तीन स्थानमा सडक निर्माणको काम रोकिएको छ । जुन समस्या स्थानीयहरुको अवरोधका कारण उब्जिएको हो ।’

४० किलोमिटर सडक निर्माणको काम भइरहे पनि थप ३० किलोमिटर हुलाकी राजमार्गको काम अर्काे वर्ष सुचारु हुने उनले जानकारी दिए । जसका कारण केही वर्षपछि मात्रै हुलाकी राजमार्गले बाँकेसँग दाङलाई जोड्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप