नेपाली फिल्ममा ‘नाम मात्रको’ डिजिटल फड्को !
पछिल्लो समय नेपाली फिल्म क्षेत्र डिजिटलमय भएको छ । निर्माण (पोष्ट प्रोडक्सन), छायांकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । अहिले फिल्म क्षेत्र ‘डिजिटल यात्रा’ मा छ भन्दा फरक नपर्ला ।
नेपाली फिल्मको इतिहास धेरै पुरानो होइन । विसं २००७ सालमा कोलकतामा छायाङ्कन भएको डिबी परियारको ‘सत्य हरिशचन्द्र’ पहिलो फिल्म हो । तर नेपाली फिल्म क्षेत्रले भने नेपालमै बनेको पहिलो फिल्म ‘आमा’ मान्ने गरेको छ । विसं २०२० सालमा प्रदर्शनमा आएको यो फिल्म तत्कालीन श्री ५ को सरकार सूचना विभागले निर्माण गरेको थियो ।
हिरा सिंह खत्री निर्देशित आमा फिल्ममा शिवशंकर मानन्धर र भुवन चन्दको मुख्य भूमिका थियो । आमा पुरानो प्रविधिमा सेल्युलोइड क्यामेरामार्फत् नेगेटिभमा खिचिएको हो भने त्यसको अन्य सम्पूर्ण काम मुम्बईमा भएको थियो । अहिले भने त्यो अवस्था छैन । फिल्मको सम्पूर्ण काम नेपालमै हुन्छ, त्यो पनि अत्याधुनिक डिजिटल प्रविधिबाटै ।
नेपाली फिल्मको अवस्था विगतदेखि वर्तमानसम्म हेर्ने भने डिजिटल प्रविधिका कारण नेपाली फिल्मले ठुलै फड्को मार्न सफल भएको छ । तर, अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा डिजिटल प्रविधिका कारण भएका विकास हेर्ने हो भने यो केही होइन । डिजिटलमा विदेशको तुलनामा हामी अगाडि बढ्न नसक्नुको पछाडि यसको उपयोग गर्न नजानेरै हो ।
५० प्रतिशत सदुपयोग
फिल्म क्षेत्रमा करिब दुई दशकदेखि प्रोडक्सन म्यानेजरको काम गर्दै आएका शंकर पाण्डे भन्छन्, ‘नेपाली फिल्म क्षेत्र डिजिटलमय त भयो । तर हामीले डिजिटलको सतप्रतिसत त के ५० प्रतिशत समेत सदुपयोग गर्न सकेका छैनौँ ।’ पाण्डेले अगाडि भने, ‘हामी छायाङ्कनमा नयाँ भित्रिने क्यामरा र प्रोडक्सनमा भएको हल्ला परिवर्तित प्रविधिमा रमाएका छौँ । त्यसलाई नै परिवर्तन मानेका छौँ ।’ हाम्रोमा भित्रिएको क्यामराको क्षमता के, त्यसको सदुपयोग गर्दा के हुन्छ भन्ने जान्ने र सिकाउने दक्ष जनशक्ति छ कि छैन ? त्यसको क्षमताअनुसार हामीले काम निकाल्न सक्यौ कि सकेनौ ? त्यसतर्फ कसैको ध्यान नगएको पाण्डे सुनाउँछन् ।
निर्देशक ज्ञानेन्द्र देउजा डिजिटलले चाहेजस्तो काम निकाल्न सहज भएको बताउँछन् । ‘काम गरेको तत्कालै हेरेर सुधार्न पाइयो, सोचेको काम विभिन्न तरिकाबाट निकाल्न सकियो । अहिले समय पर्दामा फर्काउन कुनै कठिन पर्दैन । यो डिजिटलको देन हो,’ देउजाले भने ‘निर्देशकलाई भने पहिले भन्दा बढी काम थपिदिएको छ ।’ पहिले निर्देशन, डबिङ र सम्पादनमा समय दिए पुग्नेमा अहिले भिएफएक्स, कलर करेक्सनलगायत धेरै काम थपिएको छ । भन्छन्, ‘क्वालिटी त राम्रो भयो, सँगै दुःख पनि थपियो ।’
डिजिटल यात्रा’ को सूत्रधार
नेपालमा ‘डिजिटल यात्रा’ को सूत्रधार फिल्म ‘कागबेनी र ‘सानो संसार’ हो । भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ निर्माण र प्रदर्शनसँगै नेपाली फिल्मले डिजिटल ट्रेनिङ गरेको हो ।
सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई फिल्म निर्माणसँगै नेपाली फिल्ममा डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको फिल्मकर्मीहरूको ठहर छ । डिजिटल प्रविधिको प्रयोगले नेपाली फिल्ममा नयाँ युगको सुरुवात भएको बताउँछन् निर्माता, प्रदर्शक नकिम उद्दिन । नेपालमा डिजिटल भित्र्याउने मध्यका एक हुन् नकिम । डिजिटले फिल्म निर्माणमा सजिलोका अलावा लगानी समेत घटाएको नकिमको धारणा छ । नकिम ‘कागबेनी’ र ‘सानो संसार’ का निर्माता समेत हुन् ।
नकिमको विचारसँग निर्माता निर्देशक अशोक शर्मा पनि सहमत छन् । शर्मा नेपाली फिल्ममा डिजिटल युगको सूत्रधार ‘कागबेनी’ र ‘सानोसंसार’ लाई नै मान्नुपर्ने बताउँछन् । डिजिटलको सुरुवातले निर्माण, प्रदर्शनमा सहजको अलावा फिल्मको सङ्ख्यासमेत बढाएको शर्माको जिकिर छ । ‘पहिले मुस्किलले वर्षमा दुई दर्जन फिल्म बन्थे, अहिले एकसय वा त्यो भन्दा बढी फिल्म निर्माण हुन थालेका छन् । के यो सबै डिजिटलको देन होइन र ?’ उनी भन्छन् ।
अनि भित्रियो छायाङ्कनमा डिजिटल
पहिले सेल्युलाइड क्यामेरामार्फत् नेगेटिभमा फिल्म खिचिन्थ्यो । त्यो प्रविधि निकै महँगो थियो । नेगेटिभमा १६ एमएममा फिल्म खिचिन्थ्यो र भारतमा लगेर ३५ एमएममा तयार गरेर प्रदर्शन गरिन्थ्यो । त्यसरी बनेका फिल्म पर्दामा हेर्दा धमिला र मधुरा देखिन्थे ।
अर्को कुरो त्यो समय ८/१० चक्काको एउटा फिल्म हुन्थ्यो । त्यो चक्का निर्माणमा धेरै खर्च हुन्थ्यो । रिलिजमा पनि अनेक झन्झट थिए । त्योबाट मुक्ति पाउन निर्माता नकिम उद्दिन लगायतले टिमले डिजिटल प्रविधि नेपाल भित्र्याएका हुन् । जसको सुरुवात टुके डिजिटल क्यामराबाट भयो ।
हामीले डिजिटलको सुरुवातमा लागि टुके डिजिटल क्यामरा मगाएर ‘कागबेनी’ र ‘सानो संसार’ खिच्यौँ’, नकिम भन्छन्, ‘क्यामरासँगै डिजिटल प्रोडक्सन सामग्री पनि भित्र्यायौँ ।’ निर्माण, प्रदर्शन लगायतको अनेक समस्या डिजिटल क्यामरा, प्रोडक्सन भित्रिएसँगै बिस्तारै समाधान हुँदै भएको नकिमले सुनाए ।
‘हामीले भित्र्याएको डिजिटलप्रति सुरुमा सबैको नकारात्मक सोच र धारणा थियो । त्यसैले भित्रिएको प्रविधिमा दुई फिल्मपछि केही समय थन्कियो’, उनले थपे, ‘जव छविराज ओझाले डिजिटलमा फिल्म बनाउन आँट देखाएर अगाडि आए । त्यसपछि सबैको चासो डिजिटलमा बढ्यो ।’ त्यतिबेला सबै भन्दा सफल निर्मातामा पर्ने छविको आँटपछि नै डिजिटल प्रविधिमा फिल्म क्षेत्र होमिएको नकिमको धारणा छ ।
प्रोडक्सन म्यानेजर शंकर पाण्डेका अनुसार पहिले सुपर सिक्सिटनबाट फिल्म खिचिन्थ्यो । त्यसपछि कोडाकबाट सिनेमास्कोपमा खिच्न थालियो । जव ‘कागबेनी’ र ‘सानो संसार’ बाट डिजिटलमा टुके के क्यामरा भित्रियो । त्यसपछि फिल्म छायाँकनमा डिजिटल बहार आयो । फिल्म ‘कागबेनी’पछि फोर के, थ्रि नाइन्टी, रेड, वान सेभेन्टी लगायत थुप्रै डिजिटल क्यामरा भित्रिएको हो । पछिल्लो समय ड्रायगन, फाइभ के, एरीको अल्टाप्राइम समेत आएको छ ।
त्यसपछि डिजिटलमै रिलिज
फिल्म निर्माणमा महँगो सेल्युलाइड प्रविधि र फिक्का प्रोडक्सन र फिल्मको प्रिन्टका अनेक झन्झटले जागरुप फिल्मकर्मी रिलिजका लागि डिजिटल प्रविधिको खोजीमा लागेका थिए । डिजिटल खोज्नुको अर्को कारण हलमा हिन्दी, अङ्ग्रेजी फिल्म राम्रो देखिनु र नेपाली नदेखिनु पनि थियो । त्यसले नेपाली फिल्मका दर्शक पनि घट्दै गएका थिए ।
फिल्म रिलिजका लागि सन् २००५ बाटै अपग्रेड प्रविधिको खोजी भए पनि २००७ मा आफूहरूले डिजिटल रिलिज प्रविधि नेपाल भित्र्याउन सफल भएको निर्माता अशोक शर्मा बताउँछन् ।
‘पहिले सेल्युलाइडमा खिचिएको फिल्म ५/६ प्रिन्ट बनाउनु पर्थ्यो । फिल्म रिलिज गर्दा हल हलमा प्रिन्ट बोकेर दौडिनुपर्ने जस्ता धेरै झन्झट थिए । एउटा हलमा एक प्रिन्टको सकिएपछि त्यो अर्काेमा पुर्‍याउँदैमा हैरान हुने अवस्था थियो । बिस्तारै प्रिन्ट पनि थोत्रो हुन्थ्यो,’, शर्माले अगाडि थपे, ‘रिलिजको झन्झटले देशभर फिल्म पुग्न दुई वर्षसम्म लाग्थ्यो । निर्माताले लगानी उठ्यो उठेन थाहा पाउन २ वर्ष नै कुर्नुपर्ने अवस्था डिजिटलले ब्रेक गर्यो ।’
त्यसो त सन् २००५ मा अस्ट्रेलिया र अमेरिकामा फिल्म डिजिटल रिलिज हुन थालिसकेका थिए । शर्मा पनि विभिन्न देशका प्रविधि बुझ्न थाले । सोही क्रममा भारतमा रहेको युएफओ भन्ने अमेरिकन डिजिटल कम्पनीसँगको सहकार्यमा नेपालमा डिजिटल रिलिज प्रविधि उनले भित्र्याए ।
‘डिजिटल रिलिज सजिलो र कम खर्च त थियो । तर पनि सुरुवातको फेज भएकोले यो सुरुमा २/४ वटा हलमा मात्र लाग्यो । त्यसको प्रतिक्रिया राम्रो आएपछि १०/१२ वटा हलमा लाग्यो । सन् २०१० बाट देशभर नै यो प्रविधिमा सुरु भयो,’ शर्मा ती दिनमा फर्किए, ‘सुरुमा सेलुलाइडबाट बनेका फिल्म डिजिटल कन्भर्ट गरेर देखाउन थाल्यौँ । ‘कागबेनी’ पछि त फिल्म नै डिजिटलमा निर्माण हुन थाले ।’
नकिम पनि सन् २०१० बाट देशभर पुरै डिजिटल फिल्म रिलिज व्यवस्था भएको स्वीकार्छन् । भन्छन्, ‘डिजिटल रिलिजपछि भारतमा पोष्ट प्रोडक्सनको भर पर्नुपर्ने अवस्था पनि तोडियो, रिलको चक्कर सकियो, पैसाको पनि बचत भयो । दर्शकले पनि राम्रो फिल्म हेर्न पाए । अहिले त डिजिटलमा पनि अनेक प्रविधि भित्रिसकेका छन् ।’
‘अहिले डिजिटलले जति सजिलो बनाएको छ । त्यो भन्दा धेरै समस्या र चुनौती थिए सुरुमा । मानिसहरूले डिजिटल प्रविधि भित्र्याउँदा विदेशी फिल्मको विकास र विस्तारका लागि प्रविधि भित्र्याएको आरोपसम्म लगाए । हामीलाई असहयोग गरियो,’ नकिमले दुःख सुनाए, ‘बिस्तारै सबैले बुझे । अहिले त्यही कुरोमा खुसी लाग्छ ।’
पछिल्लो समय ‘इ फिल्म’ र ‘एचडी क्वालिटीका (डि फिल्म) गरेर दुईथरी डिजिटल फिल्म रिलिज हुने गरेको नकिमको भनाई छ । ‘फिल्म क्षेत्र डिजिटलमय भयो । नीति नियम भने सरल छैन । अव त्यो निर्माणमा जुट्नुपर्छ,’ नकिमले थपे ।
अनेक डिजिटल प्लेटफर्म
पछिल्लो समय प्रविधिको विकाससँगै फिल्म रिलिजका लागि थियटरकै भर पर्नुपर्ने अवस्था रहेन । युट्युब, नेटफिलिक्स, अमेजन, हुलु, हट स्टार लगायत धेरै ओटिटी डिजिटल प्लेटफर्म विश्व बजारमा देखा परे ।
नेपालमा समेत युट्युब, डिस होम, नेट टिभी, सिनेमा घरलगायत थुप्रै डिजिटल प्लेटफर्म देखिए । अहिले केही हराएका छन् भने केही अस्तित्वमा छन् । भएका राम्रा र भरपर्दाे, विश्वासिलो मानिदैन । त्यसैले पनि फिल्म रिलिजका लागि नेपालमा अझै ओटीटी प्लेटफर्मको राम्रो विकास हुन नसकेको गुनासो फिल्मकर्मीहरू गर्छन् ।
निर्माता निर्देशक मनोज पण्डित पनि हाम्रो देशमा विश्व बजारमा देखिएजस्ता डिजिटल प्लेटफर्मको विकास हुन नसकेको गुनासो पोख्छन् । ‘हामीले डिटिजल प्लेटफर्मको कुरा गर्दा नेटफिलिक्स, अमेजन, हुलु, हट स्टार लगायत प्लेटफर्मको परिकल्पना हुन्छ,’ पण्डितले भने, ‘तर हामी कहाँ युट्युब र त्यसकै व्यवस्थित रूप डिसहोम लगायतको मात्र विकास भयो ।’ फिल्म मेकरलाई फराकिलो दायर, सिर्जना गर्ने बढी भन्दा बढी अधिकार दिन सक्ने प्लेटफर्मको अहिले पनि अभाव रहेको उनको भनाइ छ ।
‘हाम्रो उद्योगमा फिल्म सस्तो प्रोडक्सनको रुपमा लिएको देखियो । यो छुट्टै व्यावसायिक संरचनामा हुन्छ र यसले थियटर भन्दा फरक दृष्टिकोणबाट फिल्म निर्माता र दर्शकलाई सुविधा प्रदान गर्छ भन्ने कुरो कसैले बुझेन,’ पण्डितले थपे, ‘व्यवसायीले यसमा सम्भावना देखे र ओटिटी व्यावसायिक प्लेटफर्म हो र सम्भावना छ भन्ने बुझे भने राम्रो हुन्थ्यो ।’ डिजिटल प्लेटफर्म विश्व हो र यसका दर्शक क्षमता जति पनि हुन सक्छ भन्ने पण्डित फिल्म मेकरलाई डिजिटल प्लेटफर्मले निर्माण पनि सहयोग गर्ने धारणा राख्छन् ।
विश्व बजारमा भित्रिएका डिजिटल प्लेटफर्म नेपाली फिल्मका लागि ‘आकाशको फल’ बराबर भएको निर्देशक दीपेन्द्र लामाको बुझाइ छ । ‘नेपालमा डिजिटल्ली पैसा तिरेर फिल्म हेर्नुपर्छ भन्ने कल्चर बसेकै छैन,’ लामाले थपे, ‘युट्युबमा फ्रि र अनलाइनबाट डाउनलोड गरेर हेर्ने बानी परेको छ ।’ डिजिटल प्लेट फर्ममा फिल्म हर्ने संस्कार बसाल्न धेरै समय लाग्ने लामाको धारणा छ ।
‘विश्व बजारमा देखिएको डिजिटल प्लेटफर्ममा जोडिन सक्यो भने मात्र नेपाली फिल्मले अझ डिजिटल फड्को मार्न सक्छ,’ लामा थप्छन्, ‘हामीकहाँ पनि अमेजन, हट स्टार जस्तो धेरै फिल्म हेर्न अवसर भएका प्लेटफर्म हुनु पर्यो । अनि मात्र सबैले पैसा तिर्नेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की