सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलन जेठ २९ र ३० मा हुने

शुक्रबार, २७ जेठ २०७९, ०९ : ००
शुक्रबार, २७ जेठ २०७९

नेपाली काँग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलन आगामी जेठ २९ र ३० गते काठमाडौँमा हुने भएको छ । ट्रेड युनियन काँग्रेसको बिहीबार केन्द्रीय कार्यालय अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २९ र ३० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष एवं सम्मेलन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट एक हजार ६०० प्रतिनिधि सहभागी हुने जानकारी दिए । दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन अर्थात् जेठ २९ गते उद्घाटनसत्रमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता डा शेखर कोइराला, गृहमन्त्री बालकृष्ण खाणलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको पहिलो दिन नै योगदानमा आधारित सामाजिक सुरक्षाबारे विषयगत सम्मेलन र श्रमिकको कार्यलयस्थलमा हुने हिंसा तथा दुव्र्यवहारसम्बन्धी आइएलओ महासन्धि, १९० बारे विषयगत सम्मेलन हुने कार्यक्रम रहेको छ ।

सम्मेलनको दोस्रो दिन बन्दसत्रको कार्यक्रम रहेको छ । बन्दसत्रमा बढ्दो महँगीका कारण श्रमिकमा परेको प्रभाव, नेपाल ट्रेड युनियन काँग्रेसको विधान संशोधनलगायतको बारेमा छलफल हुने प्रचारप्रसार समितिका संयोजक राईले बताए । यस्तै, सम्मेलनले श्रमिकका जल्दोबल्दो वर्तमान समस्यालाई समाधान गर्ने बताइएको छ ।

ट्रेड युनियन काँग्रेसको विधानमा राष्ट्रिय महाधिवेशन सम्पन्न भएको दुई वर्षभित्र राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुपर्ने प्रावधान भएपनि कोरोना महामारीका कारण उक्त सम्मेलन महाधिवेशन सम्पन्न भएको चार वर्षपछि हुन लागेको हो ।  महाधिवेशन हरेक चार वर्षमा हुने विधानमा उल्लेख छ ।

उक्त सम्मेलनले महाधिवेशनको नयाँ मिति तोक्ने कार्यक्रमसमेत रहेको उपाध्यक्ष राईले बताए । ट्रेड युनियन काँग्रेसमा देशभरका औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत विभिन्न २७ वटा श्रमिक सङ्घ, सङ्गठन आबद्ध रहेका छन् भने चार लाखभन्दा बढी श्रमिक सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप