सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

पत्रकारिताका ‘मानक’ हर्ष सुब्बा

शुक्रबार, २७ जेठ २०७९, ०६ : ३७
शुक्रबार, २७ जेठ २०७९

नेपाली पत्रकारिताको एउटा इतिहास बोकेका पात्र हुन् हर्ष सुब्बा । उमेरले ६७ वर्ष पुगेका उनी अहिले पनि फेसबुक पेजबाट समाचार लेखिरहेका छन् । झण्डै ५ दशक पत्रकारिता गरेरै समय बिताएका उनी हाल सुनसरीको धरानमा सक्रिय छन् । सादा जीवन र सरल स्वभावका सुब्बालाई धरानका जनमनले राम्ररी चिन्दछन् । पत्रकारिता क्षेत्रले त उनलाई कहिल्यै बिर्सन सक्दैन ।

पञ्चायत कालमा गोरखापत्रमा मान्छे हेरेरमात्रै सिर्जना छापिन्थ्यो । २०२९ सालतिरको कुरा हो । पञ्चायतको विरोध गर्न युवाहरू सम्मिलित साहित्यकारहरूको क्लब निर्माण गरिएको थियो । तिनै क्लबको आयोजनामा कवी गोष्ठी हुन्थ्यो । आफू पनि सम्मिलित कवि गोष्ठीका समाचारहरू पत्रिकामा छाप्न पाए हुन्थ्यो भन्ने सुब्बा चाहन्थे । त्यही इच्छाले गर्दा उनले आफ्नै कार्यक्रमहरूको समाचार काठमाडौँको विमर्श साप्ताहिकमा पठाउन थाले । त्यसबेला समाचार पठाउने विकल्प हुलाक थियो । त्यसपछि प्लेनमा पठाउन सुरु भयो । पछि फ्याक्स प्रचलनमा आयो । तर, लामा फिचर र फोटो पठाउन भने डकुमेन्ट नै भरपर्दो विकल्प मानिन्थ्यो ।

‘हामीले गरेका कविता गोष्ठीहरूको समाचार २९÷३० सालदेखि मैले विमर्श साप्ताहिक पत्रिकामा पठाउन थालेको थिएँ । समाचार पठाएको एक हप्ता, डेढ हप्तापछि प्रकाशन हुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘उक्त पत्रिका पनि एक डेढ हप्तापछि आइपुग्थ्यो । त्यसबेला नाइट बस पनि थिएन । प्लेनबाट पठाउने गरिन्थ्यो ।’

पत्रकारितामा धेरैको गुरु बनिसकेका सुब्बा अहिलेको पत्रकारिताले सामाजिक दायित्व बिर्सन थालेको हो कि जस्तो लाग्ने गरेको बताउँछन् । ‘पत्रकारिताको सिद्धान्त अलि प्रभावित हुन थालेको छ,’ रातोपाटीसँग उनले भने, ‘अहिलेको पत्रकारिता व्यावसायिक भयो, मालिकमुखी भयो, पैसामुखी भयो, त्यसले समाज बुझ्दैन ।’

यस अतिरिक्त नेपाली पत्रकारिता राजनीतिबाट बढी प्रभावित हुन थालेको उनको भनाइ छ । ‘अर्को कुरा भनेको पत्रकारिताको भाषा र लेखन कला पनि रुढ हुँदै गएजस्तो लाग्छ, किनकि भाइरल हुने नाममा अनेक किसिमका हेडलाइनहरू राखेर समाचार प्रकाशित हुन्छन्,’ उनले भने ।

२०१२ सालमा जन्मिएका सुब्बाले २०२९ सालदेखि पत्रकारिता सुरु गरेको सम्झन्छन् । २०३० सालमा बुबाको देहान्तले घरपरिवारको जिम्मा उनको काँधमा आयो । त्यो बेला साबिक धरान–४ मा प्रेसमा काम सिक्न थालेका उनले लेटर प्रेसमा सिसाका अक्षर हातले कम्पोज गर्न सिके । त्यो बेला पनि धरानमा थुप्रै पत्रिका दर्ता थिए तर, नियमित प्रकाशन भने ‘नयाँ चेतना साप्ताहिक’ पत्रिकामात्रै थियो । २०३६ सालमा धरानको औद्योगिक क्षेत्रमा पत्रिकाले आफ्नै प्रेस स्थापना गर्‍यो, कार्की प्रेस, जहाँ सुब्बा सहसम्पादकको भूमिकामा थिए ।

पत्रकारितामा पञ्चायतको आँखा परिरहन्थ्यो । यतिसम्म कि राजाको नामका अगाडि ‘श्री ५’ छुटेमा तत्काल पक्राउ गरिन्थ्यो । त्यसपछि प्रमुख जिल्ला अधिकारी हुँदै सिधै अञ्चलाधीशकहाँ हाजिर भइहाल्नु पर्ने । ‘माथिको आदेश’ परिपालना नगरे कुनै न कुनै बहानामा दण्ड र हतकडीको भागीदार हुनैपर्ने । त्यस कालमा दुईतीन पटक पक्राउ परेको सम्झना पनि छ उनलाई । त्यो बेला भाषामा पनि व्यञ्जनात्मक शब्दको प्रयोग । हरेक शब्द, शब्दावली, पदावलीमा आआफ्नो किसिमले अर्थ लगाउँथे । शब्दभीरूले अञ्चलाधीशलाई फरक अर्थ लगाइदिएको खण्डमा फेरि जेलकै बास । तर, पनि त्यो बेला पञ्चायत व्यवस्थाका विरुद्ध मिसन पत्रकारिता थियो । अहिलेको जस्तो फुक्काफाल पत्रकारिता त्यो बेला थिएन ।

२९ सालदेखि सुरु भएको पत्रकारिताले उनलाई दरिलो गरी स्थापितचाहिँ २०४५ सालमा उदयपुरको मुर्कुचीलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पले गरिदियो । त्यो बेला धेरै जनधन क्षति भएको धरानको रिपोर्टिङले उनलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाइदियो । उनका रिपोर्टिङलाई आधार मानेर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले समाचार प्रकाशित गरे । उनको रिपोर्टिङको चर्चा पनि उस्तै गरी भयो ।

अनौपचारिक शिक्षा ग्रहण गरेर पनि अनुभवले खारिएका उनले पत्रकारितालाई पेसा बनाइरहे । पत्रकारिताको सुरुवात भएपछि नै उनले रातको समयमा धरान–१२, पब्लिक हाइस्कुलमा रात्रिकालीन कक्षा पढे । यसअघि धरान नगर पञ्चातयले सुरु गरेको पञ्चायत प्राथमिक पाठशाला नम्बर ३ मा उनले पढेका थिए । धरानमा १० नम्बरसम्मको पाठशाला थियो ।

२०४६ पछि नेपालमा ठूला लगानीमा मिडियाहरू खुल्न थाले । निजी क्षेत्रबाट कान्तिपुर पब्लिकेसनले पनि ‘डेब्यु’ गर्‍यो । उनी सुरुवाती चरणदेखि नै कान्तिपुरमा सुनसरी संवाददाता रहेर काम गरे । भलै, पछिल्लो ६ वर्ष यता उनी कान्तिपुरबाट सधैँका लागि बिदा लिइसकेका छन् । अनुभवका थुप्रै पोयो उनीसँग छन् । कविता लेख्ने हर्ष सुब्बादेखि आजपर्यन्त आइपुग्दा पत्रकारिताका सिङ्गो मानक हुन् ।

पत्रकारिताका अनुभव उनकै शब्दमा

५० वर्ष अगाडिको पत्रकारिता र अहिले

पहिलेको पत्रकारिता र अहिलेको पत्रकारिता भनेको धेरै दोहोरिएको कुरा हो । पहिलेको पत्रकारिता हातले लेखिन्थ्यो, टाइप हुँदैन थियो भन्ने कुरा धेरै पुरानो भइसक्यो । भन्नुपर्ने कुरा के हो भने पहिलाका पत्रकारिता शुद्ध र इमानदार पत्रकारिता थियो । पत्रकारले पत्रकारको दृष्टिकोणले हेर्ने, समाचार लेख्ने हुन्थ्यो । अहिले आएर चाहिँ सबै मानिस, पत्रकार पनि व्यावसायिक भए । पत्रकारितालाई पनि हामी व्यावसायिक भन्छौं । त्यसकारण व्यवसायले पनि पत्रकारिता प्रभावित गर्‍यो । राजनीतिक पार्टीको नजिक, व्यवसायीको नजिक, एनजिओ÷आइएनजिओको नजिक भए । जसले पत्रकारिताको शुद्ध लेखनलाई प्रभावित पारिरहेका छन् ।

मानिसको सामाजिक दायित्व पनि छ । त्यो छुट्टै कुरा हो । पत्रकारले पनि मेरो दायित्व यो हो भन्ने कुरा सम्झिनुपर्ने बेला अहिले छ । अहिले कुनै पनि सूचनालाई समाचार बनाउँदा प्रभावित गर्न खोज्ने विषयबाट बच्नुपर्ने अवस्था छ । पहिलेचाहिँ मानिस इमानदार भएर लेख्दथे । अहिलेको जस्तो गहिरो ढङ्गले पत्रकारलाई राजनीतिले, व्यवसायीलगायतले प्रभावित गरिसकेको थिएन । पत्रकारलाई अहिले प्रभावित गरेको छ, अहिलेको फरक त्यस्तो देख्छु म । त्यही भएर अहिले मानिसहरूले पत्रकारहरूको आलोचना पनि बढी गरिरहेका छन् । लेख्ने बानी कम भएको छ । अल्छी भइरहेको छ । पत्रकारहरू निष्पक्ष भएन भन्नुको कारण यो हो ।

अहिले एउटा राजनीतिले उसको दैनिक जीवनलाई पनि प्रभावित पारिरहेको छ । अहिले सम्बन्धित मिडिया हाउसको पनि इन्ट्रेस्ट, लेख्ने पत्रकारको पनि इन्ट्रेस्टको कारण सिद्धान्तबाट पत्रकारिता बाहिर गएको जस्तो देखिन्छ ।

पत्रकारितालाई आलोचना गर्नेहरूका लागि

पत्रकारिताप्रति मानिसहरू ‘इरिटेड’ हुनुको कारण भनेको भाषागत कमजोरी पनि हो । उसको संवेदनशीलतालाई कमजोर ढङ्गले प्रस्तुत गर्नु, भाइरल बनाउने नाममा जथाभावी शीर्षकहरू लेख्नु, कुनै अपराधमा संलग्न भनिएका मानिसहरूको विषयमा लेख्दा तार्किक विषय लेख्नुपर्नेमा अदालतबाट फैसला नहुँदै अपराधी बनाउने गरी लाग्नु, अपराधमा संलग्नलाई सुधारको बाटोमा लानुपर्नेमा झनै अपराधमा उत्प्रेरित गर्ने खालका सामग्री निर्माण र प्रसारण गर्नु पनि हो ।

अर्को कुरा, पत्रकारिताको आलोचना गर्ने मानिसहरूले के बुझ्नुपर्छ भने पत्रकारले लेखेको चाहिँ समाज सुधारका लागि हो, मैले पनि भोलि त्यस्तो काम गरेँ भने यसरी नै लेखिन्छ । यिनीहरू भनेको राज्यको चौथो अङ्ग हो भन्ने किसिमको पार्न सक्ने लेखन र प्रस्तुति हुनुपर्छ । आलोचना गर्ने मानिसहरूले पत्रकारले खराब प्रवृत्तिको विषयमा लेख्नेमात्रै होइन, राम्रो कामको प्रशंसा गर्ने, सहयोग चाहिने मानिसका लागि सहयोग जुटाउन पहल गर्ने, कसैलाई सहानुभूतिको लागि पनि वातावरण तयार गर्ने काम पनि गर्छ भन्ने पनि बुझ्नु पर्दछ । अहिलेसम्म त्यस्तो पनि देखिएको छ । मिडियाले लेखेको विषय सामाजिक सञ्जालमा आएका छन् । त्यसले कति मानिसहरूलाई सहयोग पुगिरहेको छ ? सामाजिक सञ्जाल आफैले समाचार बनाउने त होइन ? थोरै सानातिना त गर्ला तर, ठूला र गम्भीर खालका विषय बाहिर ल्याउने काम मिडियाले गर्छ र सामाजिक सञ्जालमार्फत आम मानिससँग पुगेर सकारात्मक परिणाम ल्याउँछ ।

त्यसकारण पत्रकारलाई आलोचनासँगसँगै आशाको नजरले पनि हेर्नुपर्छ । आलोचनाको विषय पत्रकारले सच्याउनु पर्‍यो, पत्रकारलाई आलोचना गर्नेहरूले यस पेसा व्यवसायको गम्भीरताको विषयमा पनि बुझ्नु पर्‍यो ।

जोखिम र प्रतिस्पर्धा अहिले झन् बढी

उसबेला राजाको हुकुम प्रमाङ्गी (हुप्र)बाट वैज्ञानिक बन्थे । हुप्रबाटै डाक्टर बन्थे । त्यसबेलाको समय त्यस्तो थियो । तर, अहिले एकसे एक पढेका मानिसहरू पत्रकारितामा आएका छन् । पत्रकारिताको तालिम, शिक्षा, औपचारिक पढाइ नै धेरै भएको छ । प्रतिस्पर्धा बढेको छ । अहिले सबैभन्दा ठूलो संघर्ष भनेको प्रतिस्पर्धा हो । पढेरमात्रै पनि भएन, लेख्न पनि सक्नुपर्यो । लेखन शैली परिवर्तन भएको छ, मानिसले रुचाउनु पर्‍यो । छोटो लेख्न सक्नुपर्यो । पहिलेको समय लेख्न, बोल्ने स्वतन्त्रता थिएन र कठिन थियो । तर, अहिलेको पुस्तामा प्रतिस्पर्धाको कठिन यात्रा सुरु भएको छ । पुराना पुस्ताले मात्रै संघर्ष गरेको होइन । अझै पनि संघर्ष गर्नैपर्ने देखिन्छ । निरन्तरता दिने र यो पेसामा टिक्ने कुरा धेरै महत्त्वपूर्ण छ ।

न्यूनतम पारिश्रमिकको एजेण्डा अहिले किन कमजोर भयो ?

नेपालमा कानुन बन्यो । श्रमवजीवी पत्रकार ऐन पनि बन्यो । यो विचित्रको बन्यो । मिडिया हाउसले चाहेमा लागू गर्ने खालको आयो । मिडिया हाउसले चाहेमा लागू गर्ने भनेको त त्यसको अर्थ नै रहेन । वास्तविक श्रमजीवीका लागि आएन । यो ऐनलाई नेपालको अन्य ऐनसरह लागू हुने गरी ल्याउनु पर्छ । यो त मिडिया हाउसको लागि स्वैच्छिक ऐन भयो । उसले चाहँदैन अनि पारिश्रमिक सञ्चारकर्मीले कसरी पाउँछन् ? अहिले विभिन्न कालो धनको लगानी अनलाइन मिडियामा भइरहेको छ । यी मिडियालाई दर्ता गर्दा नै शर्त बन्देज लगाउनु पर्‍यो । श्रमजीवीलाई न्यूनतम पारिश्रमिक नदिएको खण्डमा नवीकरण नगर्ने प्रावधान ल्याउनु पर्‍यो । अर्को कुरा भनेको नेपालमा टे«ड युनियनहरुको गतिविधि कमजोर भइरहेको छ । यो किन भयो ? नेपाल पत्रकार महासंघ पनि श्रमजीवी पत्रकारको हितमा लाग्नुपर्ने हो । तर, त्यहाँ बढी राजनीतिकरण भएको छ । जसका कारण हाम्रो यो मुद्दा कमजोर बनिरहेको छ ।

सन्दर्भ सामाग्रीः मेरो पत्रकारिता (अग्रजहरूको अनुभव र चिनारी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप