सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

टेकु अस्पतालमा बढे झाडापखाला र सर्पदंशका बिरामी

बिहीबार, २६ जेठ २०७९, २२ : २८
बिहीबार, २६ जेठ २०७९

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पछिल्लो एक महिनायता झाडापखालाको उपचार गराउने बिरामीको दर बढेको छ । गएको एक महिनाको अवधिमा १८० जना झाडापखालाका बिरामी उपचार गराउन अस्पताल आइपुगेको अस्पतालका प्रवक्ता नवराज अधिकारीले जनाकारी दिए । बर्षा लागेसँगै टेकु अस्पताल झाडापखालाका बिरामीको दर बढेको अस्पतालले जनाएको छ ।

बर्षा लागेसँगै विभिन्न किसिमका सरुवारोगहरु देखिने गर्छन् । गर्मी, प्रि–मनसुन र मनसुनमा झाडापखाला, हैजा, मलेरिया, कालाजार, डेंगु, एक्युट ग्यास्ट्रोएन्टेराइटिस, सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन र  चिकुनगुनिया आदि सरुवारोग देखिने गर्छन् । 

पछिल्लो लामो समयदेखि काठमाडौं उपत्यकाका चोक र गल्लीमा फोहोर थुप्रिएको छ । जसले गर्दा रुघाखोकी, सरुवा रोग, टाइफाइड, हेपाटाइटिस ए, ई, झाडापखाला र हैजालगायतका सरुवा रोग को उच्च जोखिम बढेको सरुवारोग विशेषज्ञहरु बताउँछन् ।

पछिल्लो समय सरुवारोग अस्पतालमा झाडापखालाका बिरामीको दर दिनप्रतिदिन बढ्दै गएपनि त्यसको कारण भने खुलिसकेको छैन । के कारणले झाडापाखा लागेर अस्पताल विरामी आएका हुन् भन्नेबारे निक्र्योल नभएको सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए ।

काठमाडौं उपत्यकाको सडकका चोकचोक र गल्लीमा फालिएका फोहोरसँगै दैनिकजसो भइरहेको वर्षाले हैजा, झाडापखाला लगायतका रोग फैलन सक्ने खतरा बढेको उनी बताउँछन् ।

चोकचोकमा राखिएको फोहोरलाई काग, मुसा, कुकुरले बोकर घरघरसम्म पु¥याउनुका साथै छतछतसम्म पु¥याउन सक्ने भएकाले रोग फैलन सक्ने उच्च जोखिम रहेको डा. पुनको भनाई छ । उनले यसबेला सावधानी अपनाउन समेत सबैसँग आग्रह गरे ।

यस्तै, सरुवारोग अस्पतालका अर्का डाक्टर श्रवणकुमार मण्डलले विशेषत दुषित खानेपानी,बासी सडेगलेका तथा झिँगा भन्किएका खानेकुराबाट झाडापखाला, हैजा लगायतका सरुवा रोगहरु सर्ने बताए । त्यस्तै बर्षा याम सुरु भएसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । अस्पतालका प्रवक्ता अधिकारीकाअनुसार गएको एक महिनामा ८४ जना सर्पदंशका बिरामीले उपचार गएको उनले जनाकारी दिए ।

 अस्पतालका अनुसार सर्पदंशका बिरामी उपचारका लागि अस्पताल ढिलो पुग्ने गरेका छन् । यसले स्वास्थ्यमा जटिल समस्या आउनुका साथै ज्यानैसमेत जान सक्ने डा. मण्डलले बताए । सर्पले टोकेपछि परम्परागत उपचार गरी घरमै बस्ने वा ढिला अस्पताल पुग्ने प्रवृत्ति कायम रहेको उनले बताए ।  

 सर्पको टोकाइबाट कसरी जोगिने ?

सर्पको टोकाइबाट जोगिन घरभित्र र वरिपरि सर्प लुक्न सक्ने दुलोहरु पुर्नुपर्छ । सर्प लुक्न सक्ने दुलोमा हात नराख्ने, घर वरिपरि नियमित सरसफाइ गर्ने, खेतबारीमा कम गर्दा लट्ठी लिएर हिँड्नुपर्छ । साथै जुत्ता, पञ्जा लगाएर खेतवारीको काम गर्ने, झाडी घाँस काट्न गएमा पहिले लठ्ठीले झाडीमा हानी अनि मात्रै घाँस काट्नुपर्छ ।

त्यस्तै, राती सुत्ने खाटमा झुल टाँगेर सुत्नुपर्छ । गाउँघरमा मात्रै होइन, सहरमा समेत सर्प देख्ने वित्तिकै मार्न खोजेको देखिन्छ । सबै सर्प हानिकारक नहुने हुँदा सर्प देखेमा मार्ने काम गर्नु हुँदैन । आफूले मार्न खोज्दा सर्पले उल्टै डस्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप