बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी पदाधिकारीको नेपाल भ्रमण : कुटनीतिक विज्ञले भने - नेपाललाई इण्डो प्यासिफिकमा लैजाने गन्ध

बिहीबार, २६ जेठ २०७९, १८ : ५९
बिहीबार, २६ जेठ २०७९

अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनी बिहीबार चार दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला प्रमुख फ्लिन नेपाल भ्रमणमा आउनुले महत्वपूर्ण रुपमा हेरिएको छ । नेपाल–अमेरिका कुटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठकाे अवसरमा उच्चपदस्थ पदाधिकारीहरूको भ्रमण हुने राम्रो भएको दुवै देशले दाबी गर्दै आइरहेका छन् । दुवै देशका कुटनीतिक अधिकारीहरुले उच्चपदस्थ पदाधिकारीहरूको भ्रमणलाई विशेष चासोका साथ लिएका छन् ।

आगामी असारमा प्रधान सेनापति शर्मा र त्यसपछि प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने कार्यक्रम छ । अमेरिकी उच्चपदस्थ पदाधिकारीहरूको नेपाल भ्रमण र नेपाली उच्च पदस्थ पदाधिकारीहरूको अमेरिका भ्रमणको कुरा चलिरहेको सन्दर्भलाई त्रिभूवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विभागका प्राध्यापक खड्ग केसीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा केही बदलाव आएको बताए । उनले एमसीसीपछि नेपाल र अमेरिकाबीच भ्रमण बाक्लिँदै गएको र स्वभाविकरुपमा एमसीसी इण्डो प्यासिफिकको अंग होइन भनेपनि यसले रणनीतिक महत्व राखेको पुष्टि हुँदै गएको बताए । 

प्राध्यापक केसीले छिमेकसँगको सम्बन्ध नेपालको सुरक्षाको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने र त्यसपछि समृद्धि र अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई पनि घनिभूत बनाउनु पर्ने बताए । उनले राष्ट्रिय सुरक्षाका हिसाबले मुलुकको भौगोलिक अखण्डता जोगाउन पनि छिमेकीहरुलाई चित्त दुखाउने काम गर्नु नहुने बताए । प्राध्यापक केसीले छिमेकीको चित्त दुखाएर टाढाको देशलाई सरकारले प्राथमिकतामा राख्छ भने त्यसलाई सरकारको बुछिमतायुक्त काम भन्न नसकिने जिकिर गरे । अमेरिका विश्व शक्ति भएकोले जुन कुनै देशमा जाने कुरा सामान्य भएपनि अमेरिकाबाट के ग्रहण गर्ने र नगर्ने भन्ने कुरा देशले स्वयं विचार गर्नुपर्ने बताए ।

प्राध्यापक केसीले एमसीसीपछि इण्डो प्यासिफिकमा लैजाने प्रयत्न हो कि भनेर शंका गर्न सकिने घटनाक्रमले देखाइरहेको बताए ।  उनले नेपालमा गठबन्धन कायम रहेको उल्लेख गर्दै अहिले नेपालको धमिलो पानीमा माछा मार्ने काम भइरहेको बताए ।  

उनले भने, ‘अहिले पछिल्ला इण्डिकेटरहरुले एमसीसी पास भएपछि यूएसएले ठूलो रकम दिने भन्ने कुरा सुन्यौँ । यताबाट भन्दापनि अमेरिकाबाट नै बढी उच्चपदस्थ व्यक्तिहरु आउनुभएको छ । अहिलेसम्म तिब्बत हेर्ने भनेर अमेरिकाको प्रेसिडेन्सियल स्पेशलरुपमा नेपालमा कोहीपनि आउनुभएको थिएन । फस्र्टटाइम आयो र जसले तिब्बतियन शरणार्थी शिविरभित्र नै गएर खुलम खुल्ला तिब्बतीयनहरुलाई भेट्ने अवसर पायो । नेपालभित्रको धमिलो पानीमा माछा मार्ने हामी जब पोल्टिकल्ली अनस्टेबल हुन्छौँ, राजनीति जब धेरै दल मिलेको कमजोर सरकार बन्छ, गठबन्धन धेरै भयो भने सरकार कमजोर हो । अमेरिकासँग आर्थिक सहयोग, साइन्स एण्ड टेक्नोलोजी, सबैखाले इन्गेजमेण्ट बनाऔँ, तर सुरक्षा नीतिमा संलग्न नहोऔँ । जियाको भ्रमण जुन नेपालमा भयो त्यसले शंका गर्ने ठाउँ छ । यसले राजनीतिक नेतृत्व इमान्दार छैन कि भन्ने भान हुन्छ ।’​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप