मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद नवराज सिलवालको प्रश्न : सेनालाई बजेट नदिई राष्ट्रियता कसरी जोगिन्छ ?

बिहीबार, २६ जेठ २०७९, १८ : ०२
बिहीबार, २६ जेठ २०७९

नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले रक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव राखेका छन् । रक्षा मन्त्रालयका लागि मात्र एक पेजमा कार्यक्रम राखिएको बताउँदै  किन रक्षा मन्त्रालयलाई महत्व नदिएको भन्दै प्रश्न गरे । 

सांसद सिलवालले राष्ट्रिय सुरक्षा अवधारणा,आन्तरिक सुरक्षा अवधारणा,विपद व्यवस्थापन अवधारणालाई सहयोग गर्ने ढंगको बजेट नआएको टिप्पणी गरे । बजेट दिशाहीन र गतिहीन रहेको बताउँदै सांसद उनले रक्षा मन्त्रालयका लागि खर्च कटौती प्रस्ताव गरेका छन् । नेपाली सेनाको आधुनिकीकरण, व्यवसायीकरण र प्रविधिकरणका सन्दर्भमा बजेटमा कुनै दृष्टिकोण नभएको उनको भनाई छ ।  

सिलवालले भने– ‘नीति तथा कार्यक्रममा प्रतिरक्षा विश्वविद्यालय बनाउने भन्ने कुरा आएको छ तर त्यसका लागि कुनै बजेट छैन । सैनिक सामग्री व्यवस्थापनका लागि आफ्नै क्षमता अभिबृद्धि गर्ने कुरा नीति तथा कार्यक्रममा समेटिएको छ तर त्यसका लागि बजेट व्यवस्था गरिएको छैन् । नीति कार्यक्रम एकातिर र बजेट अर्कोतिर हुनु दुःखदायी कुरा हो ।’

उनले देश प्रतिको त्याग तपस्या, बलिदान, कर्तव्यपरायणता, राष्ट्रियता र राष्ट्रप्रतिको निःस्वार्थ कर्तव्य बोध र कटिबद्धता नेपाली सेनाको इतिहास रहेको बताए । सेनालाई प्रविधियुक्त र हाइटेक बनाएर लैजानुपर्ने बताउँदै सेनालाई सक्षम र व्यवसायिक बनाउन सकिएन भने देशको सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय एकतालाई अक्षुण राख्न समस्या उत्पन्न हुने उनको भनाई छ । 

सांसद सिलवालले उदाहारण दिँदै भने– ‘हाम्रो नीति नेपालको भूमि कुनैपनि छिमेकी देशको हकहितको विरुद्धमा प्रयोग गर्न नदिने भन्ने राष्ट्रिय नीति छ । तर त्यो हुँदाहुँदै पनि यहाँ विभिन्न खालका अन्तर्राष्ट्रिय चलखेलहरू भइरहेका छन् । त्यहाँ प्रविधिहरुको प्रयोग भइरहेको छ । हाम्रो मुलुकको भूमिबाट अरु मुलुकलाई लक्षित गरेर प्रविधिको प्रयोग गरी गतिविधि भइरहेको छ भने त्यसलाई रोक्ने के छ उपाय ? सरकारको दृष्ट्रिकोण के हो ?’

उनले अब ‘आर्टिफिसियल इन्टेलिजेसन’मा जानुपर्ने बताउँदै त्यसका लागि नेपाली सेनालाई कार्यक्रम र बजेट दिनुपर्ने बताए । आफ्नो देशको भूमिबाट छिमेकी देश लक्षित गतिविधि रोक्न पनि नेपाली सेनालाई प्रविधियुक्त बनाउनुपर्नेमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप