बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

तालमेल हुनसक्छ, गठबन्धन हुँदैन : महासचिव पोखरेल

बिहीबार, २६ जेठ २०७९, १७ : १७
बिहीबार, २६ जेठ २०७९

एमाले महासचिव शंकर पोखरेलले आगामी कात्तिक मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेले तालमेल गर्नसक्ने भएपनि गठबन्धन नगर्ने बताएका छन् । बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा रातोपाटीसँग अनौपचारिक कुराकानीका क्रममा महासचिव पोखरेलले एमाले गठबन्धन गरेर चुनावमा नजाने प्रस्ट पारे । 

‘एमाले गठबन्धन गर्ने पक्षमा छैन, एक्लै चुनाव लड्छ । चुनावी तालमेलसम्म भने गर्नसक्छ’, महासचिव पोखरेलले भने, ‘निर्वाचन मिति घोषणा भएपछि कोसँग तालमेल गर्ने भन्ने प्रस्ट हुन्छ ।’ महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुले केपी ओली र एमालेलाई कमजोर बनाउने घोषित नीति नै लिएकाले ती दलहरूसँग तालमेलको सम्भावना नदेखिएको बताए । 

‘सत्ता गठबन्धनमा रहेका दलहरु एमाले र केपी ओलीलाई जसरी पनि कमजोर बनाउने घोषित नीतिमा छन् । त्यस्तो अवस्थामा उहाँहरूसँग तालमेल कसरी हुनसक्छ र ?’ महासचिव पोखरेलको प्रश्न छ ।  अघिल्लो स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये २९२ पालिका जितेको एमालेले २०७९ को निर्वाचनमा २०५ पालिका जितेको छ । तर, एमालेले पालिकाको संख्या घटेपनि लोकप्रिय मत नघटेको दावी गरेको छ । पार्टी निर्वाचन विभागमार्फत स्थानीय तह निर्वाचन नतिजाको मिहिन समीक्षा गरिरहेको एमालेले सिट संख्या घटे पनि जनमत नघटेको विश्लेषण गर्दै आएको छ । पार्टीको निर्वाचन विभागले समग्र स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनमाथि अब बस्ने सचिवालय र स्थायी कमिटी बैठकमा छलफल गर्ने एमालेको तयारी छ । 

एमाले नेताहरुका अनुसार जेठ २९ अघि कार्यालय बैठक राखेर उक्त बैठकले सचिवालय र स्थायी कमिटी बैठकको मिति तय गर्नेछ । सो बैठकमा सम्पन्न निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनमा अपनाउनुपर्ने रणनीति तय गर्ने एमाले नेताहरुको भनाइ छ । नेकपा एमालेले आगामी असार २ र ३ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौं बोलाएर प्रशिक्षण दिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप