आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा

बिहीबार, २६ जेठ २०७९, १६ : २८
बिहीबार, २६ जेठ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको योग्यता नपुगेका आवेदकलाई नियुक्ति दिएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको भन्ने उजुरीका सम्बन्धमा छानबिन गर्दै आयोगले पदीय जिम्मेवारी निर्वाहका क्रममा कैफियत देखिएका चार जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

बिहीबार विशेष अदालत काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी लिई आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमले पदपूर्ति संयोजक रही न्यूनतम शैक्षिक योग्यता हेर्ने, जाँच्ने सम्बन्धमा पर्याप्त सावधानी अपनाउनु पर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुको दरखास्त फारम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको पाइएको छ ।

यस्तै, दरखास्त स्वीकृत गर्ने कर्मचारीहरुले उल्लेखित शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाइछिपाइ योग्यता नपुगेका आवेदकको दरखास्त फारम ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरी गराई भ्रष्टाचार निवारण ऐनको दफा १९ को उपदफा २ बमोजिमको कसुर गरेको आयोगको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप