मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

खण्डहर बनेको हेटौंडा कपडा उद्योग होला त सञ्चालन ?

बिहीबार, २६ जेठ २०७९, ११ : १३
बिहीबार, २६ जेठ २०७९

सरकारको रुग्ण उद्योग संचालन गर्ने नीति अनुसार देशका विभिन्न उद्योगहरुको नाम उल्लेख भएको छ । त्यस मध्ये हेटौंडाको हेटौंडा कपडा उद्योग एक हो । सरकारले उक्त नीति अनुसार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा हेटौंडा कपडा उद्योग संचालनको विषय समेटेको हो । दुई दशकदेखि पूर्णरूपमा बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको विषय हरेक वर्ष सरकारको प्राथमिकतामा पर्ने गर्दछ । सो विषयले यस पटक पनि राष्ट्रिय बजेट स्थान पाएको छ ।

संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा रुग्ण उद्योग संचालनको नीति अनुसार हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउनका लागि आवश्यक बजेट दिने बताएका छन् । उनले उपयुक्त ढाँचामा सो उद्योग संचालन गरिने बताए ।

सरकारले उद्योग सञ्चालन गरी उत्पादित कपडा सार्वजनिक पदधारण गरेका व्यक्तिले प्रयोग गर्ने गरी अर्थमन्त्री शर्माले बजेटमा हेटौंडा कपडा उद्योग संचालनको घोषणा गरेका हुन् । त्यसो त हेटौंडा कपडा उद्योगको विषयले हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्रवेश पाउने गर्दछ । बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगको परिसरमा २०६९ सालमा माओवादी केन्द्रले महाधिवेशन गरे पश्चात सो विषयले थप चर्चा पाएको थियो ।

त्यसअघि पनि उद्योग सञ्चालनको विषय उठ्ने गरेको थियो । २०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा उद्योग सञ्चालनका लागि ९ करोड रुपैयाँ बजेटसमेत छुट्याइएको थियो । त्यस समयमा उद्योग पूर्णरूपमा बन्द भएको आठ वर्ष भइसकेको थियो । बजेट विनियोजन भयो तर उनले उद्योग सञ्चालन भने भएन ।

त्यसपछिका सरकारहरुले लगातार हेटौंडा कपडा उद्योग संचालनको विषय बजेटमा समावेश गरे । बजेटमा समावेश भएको हेटौंडा कपडा उद्योग संचालनको विषयमा सरकारले समिति गठन गर्ने र अध्ययन गर्ने काम ग¥यो । तर, त्यो कागजमा नै सिमित बन्यो ।

यस्तो छ हेटौंडा कपडा उद्योगको कथा

२०३२ सालबाट हेटौंडा कपडा उद्योगको इतिहास सुरु भएको देखिन्छ । चीन सरकारको सहयोगमा वि.सं २०३५/०३६ सालबाट हेटौंडा कपडा उद्योगले औपचारिक रुपमा उत्पादन सुरु गरेको हो । सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग पूर्ण क्षमतामा संचालन हुँदा दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता रहेको छ ।

नेपाल र चिन सरकारको संयुक्त लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योगले कपडाको आयात घटाउने तथा कपास खेती विकास गर्न उद्देश्यका साथ कपडा उत्पादन सुरु गरेको थियो । तत्कालिन अवस्थामा उद्योगको लगानी स्थिर पूँजी ८ करोड ४३ लाख र चालु पुँजी ९ करोड १८ लाख रहेको थियो ।

हेटौंडा औद्योगिक क्षेत्रको २ सय ३६ रोपनी क्षेत्रफलमा फैलिएको  हेटौंडा उद्योग स्थापना भए पश्चात उद्योगमा दक्ष र अदक्ष जनशक्ति गरि कुल १ हजार २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

उद्योगको विकासक्रम

आर्थिक वर्ष २०३५/०३६ सालबाट व्यवसायीक रुपमा कपडा उत्पादन सुरु गरेको हेटौंडा कपडा उद्योगको विकास क्रमिक रुपमा भएको देखिन्छ । व्यवसायीक उत्पादन सुरु गरेको करिव ३ वर्ष पछि हेटौंडा कपडा उद्योगले उत्पादन क्षमतामा विस्तार गरेको थियो ।

२०३८ सालबाट उद्योगले उत्पादन क्षमता बढाएको थियो । दैनिक एक सिफ्टमा संचालन भइरहेको हेटौंडा कपडा उद्योगले उत्पादन क्षमता बढाएर २०३८ सालबाट दैनिक दुई सिफ्ट सञ्चालन ल्याएको थियो । त्यस लगत्तै उद्योगले पुनः आफ्नो उत्पादन क्षमतामा विस्तार गरी दैनिक ३ सिफ्टमा उद्योग संचालन गरेको थियो ।

दुई सिफ्ट संचालन गरेको ठिक एक वर्ष पछि अर्थात् २०३९ वैशाखबाट उद्योगको उत्पादन क्षमता विस्तार गरी दैनिक ३ सिफ्टमा उद्योग सञ्चालनमा ल्याइएको थियो ।

तत्कालिन समयमा ३ सिफ्टमा पुर्ण क्षमतामा उद्योग संचालन गर्दै उद्योगले वार्षिक १ करोड १० लाख मिटर कोरा कपडा, २ सय ५० मेट्रिक टन सुती कपडा र २ सय ५० मेट्रिक टन बुट्टेदार र सेता कपडा उत्पादन गर्ने गरेको थियो ।

उद्योगमा कार्यरत कर्मचारीका छोराछोरीको अध्ययनका लागि उद्योग परिसर भित्रै हेटेक्स स्कुल पनि संचालनमा ल्याइएको थियो । त्यस समयमा सो विद्यालयको निकै उत्कृष्ट बनेको थियो । उद्योग बन्द भएपछि सो स्कुल पनि अहिले खण्डहर भनेको छ ।

अनि सुरु भयो उद्योगमा समस्या

उद्योग स्थापनादेखि नाफामा रहेको हेटौंडा कपडा उद्योग २०५४ सालदेखि भने एकाएक समस्या देखापरेको थियो । करिव १९ वर्षसम्म बिना घाटा चलेको हेटौंडा कपडा उद्योग आर्थिक वर्ष २०५४/०५५ बाट भने घाटा व्यहोर्न बाध्य बनेको थियो ।

राजनीतिक नियुक्ति, सरकार परिवर्तन पछिको हस्तक्षेप र कर्मचारी आन्दोलनको प्रत्यक्ष असरका कारण हेटौंडा कपडा उद्योगमा समस्या उत्पन्न भएको तत्कालिन समयमा उद्योगमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

विभिन्न माग राख्दै राजनीतिक दलहरु निकट मजदुर संगठनको नाममा उद्योग बन्द गर्ने, उद्योग संचालनको सामान्य ज्ञान नभएका व्यक्तिहरु राजनीतिक रुपमा नियुक्ती हुँदा र सरकार परिवर्तन संगै उद्योग सम्बन्धी निर्णयहरूमा फेरबदल भएका कारण हेटौंडा कपडा उद्योग बन्द भएको उनीहरु बताउँछन् ।

समस्या कै बीच चलिरहेको हेटौंडा कपडा उद्योगले २०५४ साल पछि भने नाफा कमाउन सम्भव देखिएन । त्यस यता लगातार उद्योगले हरेक वर्ष घाटा व्यहोर्नु पर्ने वाध्यता बनेपछि वि.सं २०५७ माघ १८ गतेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उद्योगमा ताला लगाइयो । उद्योगमा कार्यरत सबै कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिएपछि हेटौंडा कपडा उद्योग बन्द भयो ।

२०५९ मा सरकारले हेटौंडा कपडा उद्योग खारेजीको प्रक्रिया पनि सुरु ग¥यो र मन्त्रिपरिषद्बाट खारेज पनि भयो ।

दोस्रो पटक खारेज

२०५९ मा खारेज भएको हेटौंडा कपडा उद्योग आर्थिक वर्ष २०६५/०६६ मा पुनः संचालनको निर्णय भयो । २०६६ मा उद्योग पुनः संचालनको लागि परिक्षण उत्पादन पनि सुरु गरियो । सरकार परिवर्तनका कारण परिक्षण उत्पादन सुरु गरेर पनि बन्द भएको हेटौंडा कपडा उद्योग संचालनले निरन्तरता पाउन सकेन । उद्योग संचालन गर्न नसक्ने र घाटा व्यहोर्न गाहे पर्ने भन्दै भन्दै सरकरले हेटौंडा कपडा उद्योगलाई दोस्रो पटक खारेज गर्ने निर्णय ग¥यो ।

आर्थिक वर्ष २०६५/०६६ मा सरकारले खारेज गरेको उद्योगलाई वि.सं २०६६ कात्तिक १८ को मन्त्रिपरिषद्को निर्णय अनुसार पुनः खारेजीको प्रक्रिया सुरु गरेको थियो ।

यस्तो छ सरकारको खारेजी मुल्याङ्कन

सरकारले भौतिक पूर्वाधार तर्फको ८ करोड १२ लाख २५ हजार रुपैयाँ, प्लान्ट मेसिनरी, सवारी साधन लगायतका सामानको ८ करोड १४ लाख २६ हजार रुपैयाँ, आफ्नै स्वामित्वमा रहेको २ सय ५६ रोपनी जग्गाको मूल्य २० करोड १९ लाख १५ हजार रुपैयाँ मूल्यांकन गरी उद्योग खारेज गरेको थियो ।

सरकारको २०६७ चैत ३० को मन्त्रिपरिषद्को बैठकले उद्योगको भौतिक पूर्वाधारको रकम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा, मेसिनरी सामग्रीको रकम वार्षिक ५ प्रतिशत ब्याजमा लगानी गर्ने निर्णय गरी उद्योग बन्द गरेको थियो । त्यस लगत्तै २०६९ माघ १२ को मन्त्रिपरिषद बैठकले हेटौडा कपडा उद्योगको सम्पत्ति शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

हाल हेटौंडा कपडा उद्योग औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको छ भने उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको क्याम्प खडा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप