बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बालेनलाई अमेरिकाबाट सुझाव: न्युयोर्क हैन, टेक्सास मोडेल अपनाइयोस् शौचालयमा

बिहीबार, २६ जेठ २०७९, १० : ४१
बिहीबार, २६ जेठ २०७९

स्थानीय तहको निर्वाचनमा चर्चित नेपाली र्यापर बालेन शाहले काठमाडौं महानगरको मेयरमा जित हासिल गरेपछि काठमाडौंको एउटा प्रमुख समस्या टर्ला जस्तो देखिन्छ । त्यो हो सर्वसाधारणलाई सार्वजनिक शौचालयको समस्या । म आफै पनि काठमाडौंमा त्यो समस्याबाट गुज्रेको मान्छे हु । पैसा तिरेरै भएपनि सार्वजनिक शौचालय प्रयोग गर्छु भन्दा पनि शौचालय नभेटिने सहर हो काठमाडौं  । 

दिशा–पिसाबले च्यापेको व्यक्तिलाई शौचालय भेटिनु भनेको हप्ता दिनको भोकोलाई खाना भेटिनु भन्दा महत्वपूर्ण कुरो हो । भोक थाम्न सकिन्छ तर दिशा–पिसाब ! अहँ, सकिन्न । मान्छे सबैभन्दा बढी खुशी हुने समय भनेको दिशा–पिसाबले च्यापेको बेला शौचालय भेटिँदा हो रे । 

सार्वजनिक शौचालयको समस्या नेपालमा मात्र होइन, विश्वकै आधुनिक अनि विकसित देश अमेरिकामा पनि छ भन्दा पत्याउनु हुन्छ ? यो कुरा  पत्याउनु हुन्न होला है । ल आउनुस्, म बयान गर्छु । अनि बल्ल पत्याउनु होला । 

अमेरिकामा पनि शौचालय समस्या
अमेरिका ! विकसित देश । त्यसमाथि न्यूयोर्क र सन–फ्रान्सिस्को जस्तो आधुनिक सहर । जहाँ मान्छेहरु बोतलमा पिसाब अनि डब्बामा दिसा गर्छन् । सुन्दै अचम्म लाग्यो ? सायद पत्याउनु भएन । 
तर म आफैले त्यस्तै गर्थे । अन्त्यमा हुक्क परेर सन–फान्सिस्को सहर छाडी दिएँ । मेरा साथीहरु अझै बोतलमा पिसाब गर्छन् । 

न्यूयोर्क सहरको अवस्था पनि त्यस्तै हो । जहाँ अरुको शौचालय प्रयोग गर्न पाइँदैन । अनि बाटो हिँडने बटुवाले खुल्ला ठाउमा मुत्र विसर्जन गर्न नि पाउँदैन । अनि उपाय के त ? उबर लिफ्ट लगायतको ट्याक्सी र होम डेलिभरी गर्ने अधिकांश ड्राइभरले गाडीमा बोतल राखेका हुन्छन्, अनि पिसाब लाग्दा त्यसैमा गर्ने । बेलुका घर लगेर फाल्ने । 

गएको बर्ष म त्यस्तै ट्याक्सी चलाउन क्यालिफोर्निया राज्यको सन–फ्रान्सिस्को सहरमा गएँ । जहाँ गएकै दिन साथीले गाडीमा चार लिटर बराबरको खाली जर्किन राख्दिदै भने, “पिसाब लाग्दा काम लाग्छ, दिशा गर्न घरै आउनु ।’ 
मलाई हल्का लाज पनि लाग्यो तर साथीलाई  सोधिहालें, “स्टोरमा गर्न पाइँदैन ?’

साथीले पाइँदैन भनेपछि मैले गाडीको पछिल्लो सिटमा जर्किन राखे । दस एघार घण्टा गाडी चलाउँदा पिसाब नलाग्ने कुरै भएन । जर्किनमा कसरी पिसाब गर्नु, त्यो पनि दिउँसै । म तनावमा परें । 
दुई चार वटा रेष्टुरेन्टमा हात जोडें, कसैले टेरेनन् । एउटा पेट्रोल–पम्पमा इण्डियन क्यासियर थियो । उसलाई बिन्ती गरें । उसले पनि टेरेन अनि बाध्य भएर गाडीको पछिल्लो सिटमा गएँ, ढोका बन्द गरे । अनि त्यही जर्किनमा मुत्र विसर्जन गरें । 

यो समस्या मैले क्यालिफोर्निया राज्यको सन–फ्रान्सिस्को सहरमा भोगेको हुँ । त्यहाँ काम गर्ने अझ भनौं गाडी चलाउने जसलाई सोध्नोस्, सबैले भन्छन्, “बोतलमा मुतिन्छ यार ।’ 
बानी पर्दै गए । सकेसम्म पानी कम पिउने, पिसाब लागिहाले बोतल छँदैछ । 

न्यूयोर्कको हालत पनि त्यस्तै छ, गाडीमा जर्किन बोकेर हिँडनुपर्ने । मेरा कैयौं साथी छन् न्यूयोर्कतिर, जसलाई पिसाबसम्बन्धि रोगले समातिसकेको छ । दुःख पोख्दै भन्छन्, “अब धेरै नबस्ने यो ठाउँ, मुत्न समेत पाइँदैन यार ।’ 
पिसाबसम्बन्धि दीर्घ रोगबाट बेलैमा सचेत हुनेहरु न्यूयोर्क या सन–फ्रान्सिस्को सहरमा गाडी चलाउने काम छाडिसके । आम्दानीका हिसाबले उच्च भएता पनि त सहरमा शौचालय प्रयोग गर्न नपाइने नियमकै कारण मेरा नेपाली साथीहरु विस्थापित हुँदैछन् । 

यी त भए शौचालय प्रयोग गर्न नपाइने तर विश्वकै आधुनिक सहरका कथा । 

अब अहिले म बस्ने सहरको कथा सुन्नुस् । टेक्सास राज्यमा भएका हरेक ब्यापारिक केन्द्रमा भएका शौचालयहरु चैं सार्वजनिक शौचालय हुन् । अझ सार्वजनिक शौचालय मात्र भनेर हुँदैन । यहाँ त पाँचतारे होटेलमा वेटरले ग्राहकलाई गरेजस्तै सेवा सुविधा खोज्छन् शौचालय प्रयोगकर्ताहरु । 

ट्वाईलेट पेपर, साबुन अनि हात सुकाउने हावा या पेपर टाबेल भएन भने थर्काउदै भन्छन्, “म कम्प्लेन गर्दिन्छु, पख्लास् ।’ देश एउटै हो, राज्य मात्र फरक । तर हेर्नुस् त असमानता । 

क्यालिफोर्निया र न्यूयोर्क जस्ता राज्यमा ट्वाइलेट देख्नसम्म पाइँदैन तर टेक्सासमा सार्वजनिक शौचालय प्रयोग गर्नेहरुलाई ‘जी हजुर’ भन्दै पछि पछि कुद्नु पर्छ । उनीहरुका लागि आवश्यक सामान टक्र्याई दिनुपर्छ, नभए जरिवानाको डर उस्तै । 

हाल टेक्सासमा म एउटा स्टोरमा काम गर्छु । बाहिर पेट्रोल पम्प छ, अनि सानो घर । घरभित्र मज्जाको दुकान छ, हरेक सामान पाइने । अनि पसलभित्रै छ आधुनिक शौचालय । ट्वाइलेट प्यानमाथि टोईलेट पेपर छ, हात धुने साबुन छ, हात सुकाउन  हावा फाल्ने यन्त्र जडान गरिएको छ । मुख पुछ्न पेपर टाबेल छ । मानौं एउटा खतरा होटेलको ट्वाईलेट हो यो । 
यहाँ आउने ग्राहकको लागि मात्र होइन, अलि पर पुलमुनि बस्ने घरबार बिहीनको लागि पनि मेरो पसल भित्रको शौचालय चौबिसै घण्टा खुल्ला हुन्छ । 

कहिलेकाहीँ कामको ब्यस्तताले ट्वाइलेट पेपर हाल्न बिर्सन्छु । सकिएको थाहै हँुदैन । त्यति नै बेला सडकमा बस्ने सडकछापले आएर मेरो जागिरै खाइदेला जसरी थर्काउँदै भन्छ, “गएर ट्वाइलेट पेपर राख्दे, सफा गर्दे । म ट्वाइलेट गर्न आएको ।’ 

म चु गरेर बोल्न पाउँदिन । किनकि शौचालय प्रयोग गर्न पाउनु उनीहरुको अधिकार हो, अनि यो शौचालय सफा राख्नु मेरो कर्तब्य । 
हो यहींनेर बुझ्नुपर्ने कुरा आयो । हाम्रो काठमाडौं सहरलाई सन–फ्रान्सिस्को या न्यूयोर्क जस्तो बनाउने कि टेक्सास राज्यका ह्युस्टन, अस्टिन, डालस जस्तो ? 
बालेनले गर्न खोजेको टेक्सास राज्यमा भएका सहरहरुको जस्तो कल्पना हो ? यदि हो भने राज्यले नीति नियम बनाउनु पर्छ । हरेक ब्यापारिक केन्द्रमा जनताले शौचालय प्रयोग गर्न पाउनुपर्छ । त्यो पनि थर्काउँदै, डराउँदै होइन । 

टेक्सास राज्यमा ‘सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिनु !’ भन्ने सरकारी नियमकै कारण हामी चुप्प लागेर तमाशा हेर्छौ । जबकि खर्चकै कुरा गर्ने हो भने नेपालका ट्वाइलेटमा खर्च हुने भनेको पानी मात्र हो । जबकि यहाँ पेपर पनि राखिन्छ । हात सुकाउने यन्त्र चलाउन बिजुली चाहिन्छ । यो पनि खर्च नै हो । यतिका खर्च हुदा पनि साहुहरु बाध्य छन् । छैन, दिंदैन भन्ने बित्तिकै सिटीवाला आएर रसिद काटीदिन्छ, अनि कसले भन्ने छैन ? 

बालेनले शौचालय सम्बन्धि गर्न खोजेको कामलाई अनुरोधको रुपमा भन्दा नियमको रुपमा अगाडि ल्याइयो या टेक्सास राज्यको अवधारणाजस्तै गराइयो भने शौचालय सम्बन्धि समस्या हट्ने थियो । नभए केही वर्षपछि हाम्रो देशमा पनि डब्बामा हग्ने र बोतलमा मुत्ने बाध्यता नआउला भन्न सकिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप