शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

के गर्दैछन् धरानका मेयर हर्क साम्पाङ ?

दिनमा दर्जनौं स्टाटस लेखेर आफ्नो कामको जानकारी दिने साम्पाङलाई सरोकारवालासँग समन्वय नगरेको आरोप लाग्न थालेको छ
बिहीबार, २६ जेठ २०७९, १० : ३०
बिहीबार, २६ जेठ २०७९

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख (मेयर) पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निकै व्यस्त छ । उनी प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् । सरसफाई, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतना लगायतका काममा उनको व्यस्तता बढिरहेको छ । त्यसका साथै उनी प्रशासनिक काममा पनि व्यस्त छन् ।

जेठ २३ गते उनले कार्यपालिकाको पहिलो बैठक राखे । उक्त बैठकबाट आगामी वर्षको बजेट निर्माण गर्नुपर्ने र केही नीतिगत व्यवस्था गर्ने विषयमा निर्णय गराउने कोसिस पनि गरे । जस्तोः नदीजन्य पदार्थ उत्खनन् तथा दोहन गर्न बन्द गर्ने, नागरिक निगरानी समूह बनाउने । तर, उनलाई यसमा सफल हुन दिइएन ।

उनले यसबीचमा खानेपानी नआएको सम्बन्धमा गुनासो दर्ता गर्न फोन नम्बरहरु सार्वजनिक पनि गरेका छन् । उनले हरेक घण्टाजसो सामाजिक सञ्जाल फेसबुकमा धरान र धरानका जनतालाई मध्यनजर गर्दै स्टाटसहरु लेखिरहन्छन् । ‘धरानको रक्षा र उन्नति गर्छु भन्दा मान्दैनन् भने जनतालाई फैसला गर्न छोडिदिनेछु ! जनताले जे चाहन्छन्, त्यही होस् ! जय धराने जनता,’ उनले मंगलबार ढुंगा गिटी उत्खनन् गर्न नदिने गरी कार्यपालिकामा राखेको प्रस्तावमा वडाध्यक्षहरुले विरोध गरेकोप्रति लक्षित गर्दै स्टाटस लेखेका छन् ।

उनको अर्को स्टाटस पनि प्राकृतिक स्रोतप्रति लक्षित छ, ‘कुनै पनि हालतमा खोला खोल्सी भत्काएर बेचिने छैन, ढुक्क रहनुस् ! धरानलाई बचाउने हो, भत्काउने होइन ।’

उनले मंगलबार नै आउँदै गरेको प्रदेश र संघको निर्वाचन लक्षित स्टाटस पनि पोष्ट गरेका छन् । ‘पैसा बाँडेर, हावा तालको गफ लाएर चुनाव जित्ने दिन गयो, आउँदा प्रदेश र संघका चुनावमा स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन गर्नेछौँ, अब दासप्रथाको अन्त्य गरिछाड्ने हो,’ उनले भनेका छन् ।

साम्पाङले त्यतिमात्रै होइन, धरानका स्कुलले पढाउने पाठ्यक्रममा ट्राफिक नियम अध्यापन गराउन सुरु गरिने भन्दै मंगलबार नै अर्को स्टाटस पोष्ट गरेका छन् । ‘धरान उपमहानगरले स्कुले पाठ्यक्रममा ट्राफिक नियम अध्यापन सुरु गर्ने, सबैले यसलाई प्रभावकारी बनाऔँ, सडक दुर्घटना न्यूनीकरण हाम्रो उद्देश्य रहनेछ,’ उनले लेखेका छन् ।

निर्वाचन जितेकामा बधाई थाप्न जाने पुरानो प्रचलन छँदैछ । अहिले पनि कतिपय जनप्रतिनिधिहरु बधाई थापिरहेकै छन् । त्यसप्रति लक्षित गर्दै उनले सोही दिन अर्को स्टाटस लेखेका छन्, ‘कृपया मलाई सम्मान कार्यक्रममा निम्तो नदिनु होला, मैले त्यस्तो ठूलो काम केही गरेको छैन, हजुरहरूको कार्यक्रममा आउन नसक्दा माफी चाहन्छु ।’

फोहोर व्यवस्थापनको विषयमा पनि सोही दिन उनले लेखेका छन्, ‘आफ्ना पसलबाट निस्केका फोहोर मैलो बाटो र ढलमा नफालौँ, सिगरेटको ठुटा, भोलाको खोल, चाउचाउको खोल, पानीको बोतल आदि बाटोमा नफालौं, धरानलाई सफा राख्न सबैले साथ दिनु होला ।’

आफ्ना काममा साथ नदिने र काम नगर्ने कर्मचारीप्रति कटाक्ष गर्दै उनले सोही दिन अर्को स्टाटस लेखेका छन्, ‘काम नगर्ने कर्मचारी मलाई चाहिँदैन ।’

धरानका पुराना पत्रकार भवानी बरालले उनलाई साथ दिँदै फेसबुकमै लेखेका छन्– सामुदायिक स्कूलको निरीक्षण, खोलामा ढुंगागिटी उत्खनन् गर्दा रोकिरहेको, खानेपानीको निरीक्षण, मुहान सफा गरिरहेको आदिइत्यादि, यस्तो लाग्छ धरानको लागि उनी एकमात्र ‘हर्फनमौला’ (सबैकुरामा पारंगत) हुन् । धरान नगरपालिकामा उनीमात्र छन्, बाँकी सब निश्क्रिय । उनले चलाएको ‘हर्क साम्पाङ ए रिभुलेसन’ मा दैनिक केही न केही निर्देशन, अपिल, अनुरोध र फर्मान जारी भइरहेका हुन्छन् । त्यत्तिकै आधारमा नगरको खुटखबर थाहा हुन्छ पालिकामा के भैराखेको छ, पालिका कता गैराखेको छ ।

तर पत्रकार बरालको भन्दा भिन्न तरिकाले प्रतिक्रिया दिइरहेका अन्य पत्रकार पनि भेटिन्छन् । धरानकै स्थानीयबासी तथा पत्रकार रत्न आचार्यले हर्क साम्पाङका बारेमा भन्दै लामो स्टाटस लेखेका छन् । ‘धरानको मेयर निर्वाचित भएको यतिका दिनसम्म उपमहानगरका २० वटै वडाका जनप्रतिनिधि र कर्मचारीहरुसँग परिचय समेत नगरी समन्वय नगरी फेसबुकमा स्टाटस हालेर धरानको समृद्धि र विकास सम्भव छैन,’ साम्पाङको आलोचना गर्दै आचार्य लेख्छन्, ‘आजसम्म धरान सुधार्ने कुरामा अन्य जनप्रतिनिधि र कर्मचारीलाई आफ्नो भिजन पस्कने र आवश्यक निर्देशन दिएको पनि छैन, जनताका आधारभूत आवश्यकता के हुन्, कसरी पूरा गर्ने तर्फ ध्यान गएको छैन । धरानको विकासमा बजेट ल्याउने विषयमा केन्द्र सरकार र प्रदेश सरकारका प्रतिनिधिहरुसँग समन्वय गरेको पनि देखिएन ?, मैले सुनेको मान्छेलाई पदले जिम्मेवार बनाउँछ भन्थे । हर्कजी दिनमा २० वटा हावादारी स्टाटस लेखेर धराने जनतालाई निरास पारिरहेका छन् । तपाईं यस्ता हर्कत गर्न छाडेर तुरुन्त धरानको विकास र समृद्धिका लागि लाग्नुहोस । नत्र विरोध गर्न तपाइले नै सिकाइसक्नु भएको छ है, चेतना भया ।’

धरानकै अग्रज पत्रकार हर्ष सुब्बाको भनाइमा हर्क साम्पाङले नीतिगत सुधारमा काम सुरु नै गरेका छैनन् । ‘हिजो एउटा आशाका साथ साम्पाङलाई यहाँका जनताले जिताएका छन्, उहाँले चुनाव जितेपछि नीतिगत सुधार गर्नुप¥यो, आफ्नो दृष्टिकोणलाई कार्यपालिकाको बैठकमा राख्नुप¥यो, वडाध्यक्षहरुसँग छलफल गर्नुप¥यो, कर्मचारीसँग समन्वय गर्नुप¥यो, अनि नीति बनाएर त्यसलाई कार्यान्वयनमा दौडिनु प¥यो,’ सुब्बा भन्छन्, ‘अहिले त हर्कजी कताकता कुदिरहेको देखिन्छ, नीति नियम पहिलेकै छन्, नयाँ के गर्ने भन्ने विषयमा केन्द्रित हुन म सुझाव दिन्छु ।’

साम्पाङले पहिलो कार्यपालिका बैठकमा पत्रकारलाई पनि प्रवेश दिए । जसले गर्दा उक्त कार्यपालिकाको बैठक पत्रकार सम्मेलनजस्तो देखिएको थियो । बैठकको मर्यादा पनि कमजोर बनेको सुब्बाको भनाइ छ । ‘प्रत्यक्ष प्रसारण गर्ने भनेको पत्रकारलाई प्रवेश गराएर होइन, त्यही खालको प्राविधिक जनशक्ति मार्फत, संघीय संसद, प्रदेश संसदमा गरेजस्तो वा काठमाडौंमा बालेन साहले गरेजस्तो गर्नुप¥यो,’ सुब्बाले भने, ‘त्यहाँ कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने विषयमा प्रमुखले पनि सोचेको देखिएन, अरुले पनि सोचेको देखिएन ।’

बैठकमा फोनका घण्टी तारान्तर बजिरहेका थिए । आलोपालो बोल्ने सिस्टम पनि थिएन । एक ढंगले भन्ने हो भने बैठक गञ्जागोल जस्तै बनेको थियो ।

के गर्‍यो पहिलो कार्यपालिकाको बैठकले निर्णय ?

पहिलो कार्यपालिकाको बैठकमा वडाध्यक्ष र साम्पाङबीच सवाल जवाफ पनि भएको थियो । बैठकले विभिन्न ५ वटा विषयगत समिति निर्माण ग¥यो । बैठकले राजस्व स्रोत निर्धारण समिति पुनर्गठन पनि ग¥यो ।

यस्तै उपमहानगरपालिकाभित्र प्रवाह हुने सेवा तथा सुशासनका लागि निगरानी समिति निर्माण गर्न कार्यविधि बनाउने, नगरका प्रशासनिक काम कारबाही तथा सुशासनमा पारदर्शीता कायम गर्नका लागि सूचना संयन्त्र गठन लगायतका निर्णय भए । बैठकका क्रममा सबैभन्दा धेरै विवाद प्राकृतिक स्रोत खोलाजन्य वस्तुको विक्री वितरण गर्ने कि नगर्ने भन्ने विषयमा भएको थियो ।

प्रमुख साम्पाङले ‘विगतमा नगर क्षेत्र भएर बग्ने नदीहरु सेउती,  सेरा, अँधेरी, सर्दुलगायतका खोलामा ठेक्का गरी नदीजन्य पदार्थहरु उत्खनन्ले प्राकृतिक विपत्ति आउने भएको हुँदा नगर क्षेत्रका सबै खोलाबाट नदीजन्य पदार्थको उत्खनन् तथा दोहन गरी विक्री वितरण नगर्ने निर्णय गरियो’ भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा लामो समय विवाद भयो । वडाध्यक्षहरुले उक्त प्रस्ताव पारित हुन नसक्ने भन्दै साम्पाङसँग सवाल जवाफ गरेका थिए ।

उक्त प्रस्ताव पारित गर्ने साम्पाङले खरो प्रस्तुति दिए, ‘ढुंगा, माटो, प्रकृतिलाई बिगारेर विकास नगरौं । प्रकृतिलाई जोगाउनेतिर हामी लाग्नुपर्छ । उपमहानगरपालिकादेखि नगरपालिका भन्नुभयो, गाउँपालिकातिर नै पु¥याइदिउँ न, धरान बिगारेर तहसनहस बनाएर खण्डहर बनाएर विकास किन गर्ने ?,’ उनले थपे, ‘४ फिट खन्नुपर्ने भनेको ठाउँमा २५ फिटसम्म खनेको छ । जनतालाई त्यही आश्वासन दिएर चुनाव जितेर आएका हौं र हामी ? होइन । धरानको प्राकृतिक बनोट पहिले हामीले बचाउनु पर्छ । नदीनाला बेचेर पैसा कमाउनेतिर चाहिँ हामीले नगरौं भन्ने मेरो प्रस्ताव हो ।’

त्यसपछि फेरि विवाद सुरु भयो । विवाद बढ्दै गएपछि उपप्रमुख अइन्द्र विक्रम बेघाले आफ्नो प्रस्ताव पेस गरे । ‘यस विषयमा अध्ययन गर्न प्रमुखको नेतृत्वमा अध्ययन कार्यदल निर्माण गरौं,’ बेघाले भने । त्यसपछि प्रमुखको संयोजकत्वमा वातावरण शाखाका प्रमुख तथा प्रभावित क्षेत्रका वडाध्यक्षहरु रहेको समिति निर्माण गर्ने सहमति भएको थियो ।

बैठकमा प्रमुख साम्पाङले अर्को प्रस्ताव राख्न खोज्दा वडाध्यक्षहरु ‘अर्को बैठकमा छलफल गर्ने’ भन्दै बाहिर निस्किएका थिए ।

बैठकको प्रत्यक्ष प्रसारण हेरेका धरानका केशव घिमिरेले प्रक्रियामा साम्पाङले गल्ती गरेको बताए । ‘बैठकका एजेन्डा मेयर हर्कराज राईले एक्लै ल्याएका थिए । आफ्नो अफिसियल टिम, उपमेयर, प्रमुख प्रशासकीयसँग यो यो एजेन्डामा छलफल गर्दा के कस्तो हुन्छ भनेर सल्लाह लिन उपयुक्त ठानेनन् । त्यसको परिणाम उनको आफ्नो एजेन्डा फेल भयो,’ उनले भने ।

साम्पाङले आफ्नो एजेन्डामा पालिका सदस्यलाई बुझाउन र कन्भिन्स गर्न नजान्नु या नसक्नु पनि उनको शैलीगत समस्या र कमजोरी देखिएको घिमिरेले बताए । ‘तर, उनले ल्याएका एजेन्डा जनपक्षीय, मननयोग्य र वातावरणीय दृष्टिकोणले उपयुक्त थिए,’ उनी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप