शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बालेन शाहको रिपोर्ट कार्ड : फोहोर व्यवस्थापनमा दौडधुपदेखि कल सेन्टर स्थापनासम्म

बिहीबार, २६ जेठ २०७९, १० : १९
बिहीबार, २६ जेठ २०७९

काठमाडौं महानगरपालिका प्रमुख (मेयर)मा निर्वाचित भएर गत जेठ १६ गते शपथ लिएकै दिन बालेन शाह नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगे । त्यसदिन उनले काठमाडौंको फोहोर मैला विसर्जन स्थलको अवलोकन गरे । अर्को दिन उनले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग छलफल गरे । 

शपथ लिएको एकसाता भित्रमा उनी दुई पटक सिसडोल–बन्चरेडाँडा क्षेत्र पुगे । स्थानीयका माग पूरा गर्न सक्दो सहयोग गर्ने बताएर उनले फोहोर विसर्जनका लागि सहयोग गर्न आग्रह गरे । फोहोर व्यवस्थापन नगरी बधाई तथा सम्मान नलिने घोषणा गरेका उनले सम्मानका लागि नबोलाउन सार्वजनिक रुपमा आग्रह गर्ने गरेका छन् ।  

बालेनको अग्रसरतामा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका विज्ञ टोलीले मंगलबार सिस्डोलमा पुगेर त्यहाँको वातावरणीय अवस्थाको अध्ययन गरेका छन् । केही दिनमा त्यसको रिर्पोट आउने बताइएको छ ।
फोहोरमैला व्यवस्थापन क्षेत्रका प्रतिनिधिसँग सहमति भएपनि स्थानीयले अवरोध गरेका कारण फोहोर मैला व्यवस्थापनको कार्य भने अगाडि बढ्न सकिरहेको छैन ।  

सोमबार सहरी विकास मन्त्रालयल, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच मंगलबारदेखि फोहोर उठाउने सहमति बनेको थियो । तर, स्थानीयले कार्यान्वयन हुन दिएनन् । स्थानीयले बुधबार फोहोरका ट्रकलाई अवरोध गर्दा प्रहरीले बल प्रयोग गरेर बिसर्जन गरियो । तर बिहीबार पनि सोही क्रम दोहोरिदै स्थानीयले ढुंगामुढा गरेपछि फोहोरका गाडी त्यसै फर्किए । फोहोरको समस्या समाधान नहुँदा काठमाडौं दुर्गन्धित बन्दै गर्दा यो विषयले बालेनलाई चुनौति थपिएको छ । 

कार्यपालिका बैठक लाइभ : वडाध्यक्षको चर्काचर्की 
चुनावअघि गरेको बाचा अनुसार उनले महानगरको कार्यपालिका बैठक लाइभ गरेर सुशासन र पारदर्शितालाई अगाडि बढाउने कुराको संकेत गरे । पहिलो पटक स्थानीय तहको कार्यपालिका बैठक लाइभ गर्ने श्रेय बालेनलाई जान्छ । जसबाट आम नागरिकले महानगरपालिकामा भएको बैठकलाई प्रत्यक्ष हेर्न पाए । कुन वडाध्यक्षले के कुरा राखे, कसरी प्रस्तुत भए, समस्या समाधानका लागि को गम्भीर छ, जस्ता कुरा मतदाताले प्रत्यक्ष थाहा पाए ।  
बैठकका एजेण्डा र निर्णयबारेमा वडाध्यक्षले गरेको चर्काचर्की पनि रोचक बन्न पुग्यो । 

यो विचमा उनले २ पटक शहरी विकास मन्त्री झाँक्रीसँग छलफल गरे । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेर आफूले सबैलाई महत्व दिएको सन्देश दिए । त्यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।  

रेष्टुरेन्ट र होटलका ट्वाइलेटलाई सार्वजनिक शौचालयमा बदल्ने ‘कन्सेप्ट’ 
महानगर प्रमुख शाहले चुनाव अघि गरेका प्रतिवद्धतालाई विस्तारै अगाडि बढाउदै छन् । 
रेष्टुरेन्ट र होटलका ट्वाइलेटलाई सार्वजनिक शौचालयमा बदल्ने उनको उद्देश्यले विस्तारै अभियानको रुप लिँदैछ । काठमाडौं महानगर मात्र नभई देशभरका धेरै होटल, रेष्टुरेन्ट तथा विभिन्न संघ संस्थाले आफ्नो ट्वाइलेटलाई सार्वजनिक ट्वाइलेटका लागि प्रयोग गर्न दिने घोषणा गरेका छन् । 

पब्लिक ट्वाइलेटका लागि बालेनले लोगो समेत सार्वजनिक गरेका छन् । शहरी क्षेत्रमा खट्किएको सार्वजनिक शौचालयलाई यो अवधारणाले केही हदसम्म पूर्ति गर्ने देखिएको छ । 
बुधबार नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच नबिल बैंकका शाखा कार्यालयका ट्वाइलेटहरू सार्वजनिक ट्वाइलेटको रुपमा प्रयोग गर्न दिनेबारे द्विपक्षीय सम्झौता भएको छ । नबिल बैंकका प्रमुख बजार अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले नबिल बैंकका ब्रान्च कार्यालयका ट्वाइलेटलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिनेबारे द्विपक्षीय सम्झौता भएको बताएका छन् । श्रेष्ठले जहाँ सर्वसाधारणको बढी भिडभाड हुने गरेको छ ती स्थानमा नबिल बैंकको कार्यालय रहेकोले सर्वसाधारणले सेवा पाउने उनले बताए । 

यस्तै महानगरपालिकाले सार्वजनिक शौचालयको रुपमा आफ्नो होटल रेष्टुरेन्टको ट्वाइलेट प्रयोग गर्न दिनेले एक साताभित्रमा महानगरपालिकामा सम्पर्क गर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ । 

कल सेन्टरको स्थापना : धमाधम आउन थाले गुनासा 
चुनाव अघि बालेनले गरेको एउटा प्रतिबद्धता महानगरबासीको गुनासो सुन्न कल सेन्टरको स्थापना गर्ने थियो । सो घोषणा अनुसार काठमाडौं महानगरपालिकामा कल सेन्टरको स्थापना गरिएको छ । 

१६००१०५५११ नम्बरको निःशुल्क फोन गरेर समस्या सुनाउन सकिने कल सेन्टरको स्थापना भएको हो । सोमबार स्थापना गरेको र मंगलबारदेखि सञ्चालनमा आएको कल सेन्टरमा दैनिक ८ सय बढीको फोन आएको महानगरपालिकाले जनाएको छ । महानगरबासीले विभिन्न टोलमा भएका समस्या जानकारी गराउने गरेका छन् । सो कल सेन्टरमा आएको गुनासोको आधारमा समस्या समाधान गर्ने उनको योजना छ । 

विश्वव्यापी रुपमा कुकुर तिहार मनाउने योजना 
नेपालको संस्कृतिलाई विश्वव्यापी गर्न चाहेको बताउने महानगरप्रमुख शाहले यस बर्षको कुकुर तिहारलाई विश्वव्यापी रुपमा मनाउने बताएका छन् । बुधबार नेपालका लागि फ्रान्सका राजदूतसँगको भेटमा उनले सो कुरा बताएका हुन् । 
नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओसँग भेटवार्तामा उनले नेपालको कला र संस्कृति फ्रान्स लगायत विश्वभर प्रबद्र्धन गर्न चाहेको बताएका छन् । उनले यो वर्षको कुकुर तिहार पर्वमा फ्रान्सेली जनतालाई पनि सहभागी गराउन उनले आग्रह गरेका छन् ।

शपथ लिएर महानगरको मैदानमा नेतृत्व सम्हालेका उनले सुरुवाती दौडधुप बढाएका छन् । आगामी दिनमा महानगरको समस्या समाधानमा उनको रफ्तार कतिको बढ्छ, कतिको सफलता पाउन सक्छन् त्यो भने हेर्न बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप