बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल डिजिटल रुपान्तरणको संघारमा छ : मन्त्री कार्की

बिहीबार, २६ जेठ २०७९, ०७ : २५
बिहीबार, २६ जेठ २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले नेपालमा पनि डिजिटल रुपान्तरणको आधारशिला तयारी भएको बताएका हुन् ।

नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क–२०७६ लागू गरेको बताउँदै मन्त्री कार्कीले सो ‘फ्रेमवर्क’ले आर्थिक वृद्धिका लागि डिजिटल पहलकदमीले कसरी योगदान गर्नसक्छ भन्ने बारेमा मार्ग दर्शन गर्ने मूल दस्तावेज भएको स्पष्ट पारे ।

‘फ्रेमवर्कले छोटो समयमा थोरै स्रोत साधनले मुख्य चुनौतीलाई समाधान गर्न नवीनतम उपायहरु पत्ता लगाउन र विश्व अर्थतन्त्रमा नेपाल सहभागी हुनका लागि प्राप्त अवसरको पहिचान गर्न मार्गचित्र प्रदान गरेको छ,’ सञ्चारमन्त्री कार्कीले भने ।

फ्रेमवर्कले एक देश, आठ क्षेत्र एवम् ८० डिजिटल कदमलाई सहभागी गरेको उल्लेख गर्दै मन्त्री कार्कीले सरकारका अहिलेका क्रियाकलापमा डिजिटल जग बसाल्न केन्द्रित रहेको बताए । मन्त्री कार्कीले विश्व सेवा जिम्मेवारी कोषको उपयोग गरेर सञ्चारमा नजोडिएकालाई तत्काल जोड्न, डिजिटल अर्थतन्त्रमा सहभागी हुनका लागि व्यक्तिको क्षमता सुधार गर्न र डिजिटल सरकारको जगलाई बलियो पार्न सरकार प्रतिवद्ध रहेको बताए ।

नेपाल सरकारले नीतिगत सुधार र नयाँ कानून निर्माणसँगै सन् २०२५ सम्ममा सबै क्रियाकलापमा डिजिटल प्रविधि लागू गर्ने उद्देश्य राखेको उनले उल्लेख गरे । उनले डिजिटल रुपान्तरणमार्फत नेपाली नागरिकलाई सशक्तीकरण गर्ने सरकार कटिबद्ध रहेको बताए । जेठ २१ गते सञ्चारमन्त्री कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार संघको आयोजनामा जुन ६ देखि १६ तारिखसम्म सम्मेलनमा सहभागी हुन रुवाण्डा गएका हुन् ।

नेपाली प्रतिनिधिमण्डलमा सञ्चार मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा सुरेन्द्रलाल हाडालगायत सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप