बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जनताको सेवामा केन्द्रित हुन अध्यक्ष यादवको निर्देशन

बुधबार, २५ जेठ २०७९, १७ : ५२
बुधबार, २५ जेठ २०७९

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन् । महोत्तरीको जलेश्वरमा स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई आज बधाई र शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले जनप्रतिनिधिको कार्यकाल जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन् ।

“तपाईंहरूलाई जनताले मनभरिको विश्वास दिएका छन्, इमान र निष्ठाले जनताको विश्वास मर्न नदिनोस्,” अध्यक्ष यादवले भने, “चुनाव जितेपछि शासक बन्ने रोग छ, त्यहाँ सचेत हुनुहोस् ।” अध्यक्ष यादवले नवनिर्वाचित जनप्रतिनिधि (नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्षरउपाध्यक्ष र वडाअध्यक्ष) लाई अबिर टीका र माला लगाइदिँदै सम्मान गरे ।

मधेसमा जसपाको विभाजनले चुनावी परिणाममा असर गरेको यादवको स्वीकारोक्ति छ । विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै अघि बढ्न आवश्यक भएको यादवले बताए । आफ्नै दल (जस)० बाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोकतान्त्रिक गठबन्धनमा सहभागी भए स्वागत गर्ने यादवको भनाइ छ । मधेसको मत बाँडिएपछि मधेसलाई नोक्सान हुने गरेको उल्लेख गर्दै उनले अब फुटेर नभई जुटेर अघि बढ्नुपर्ने उल्लेख गरे । अध्यक्ष यादवले संसदबाट नागरिकता विधेयक पारित गर्ने र नागरिकताविहीनलाई नागरिकता दिँदै अबको चुनावमा मतदाता सूचीमा नाम राखिने बताए ।

महोत्तरीका १५ स्थानीय तहमध्ये जसपाबाट जिल्ला सदरमुकाम जलेश्वर र गौशाला नगरपालिकामा प्रमुख/उपप्रमुख एवम् सम्सी, एकडारा र पिपरा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष र महोत्तरी गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी जिल्लाका १३८ वडामध्ये ३० वडामा जीत हात पारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप